विश्वमै प्रमुख शैक्षिक गन्तव्यको रूपमा पहिचान बनाएको अष्ट्रेलियाले आगामी वर्षहरूमा विदेशी विद्यार्थीको संख्या बढाउने भएको छ। सन् २०२५ सम्मको रणनीति ‘ नेशनल स्ट्राटेजी फर इन्टरनेशनल एजुकेसन २०२५’ सार्वजनिक गर्दै अष्ट्रेलियाले आगामी वर्षहरूम विदेशी विद्यार्थीको संख्यालाई दोब्बर पार्ने स्पष्ट पारेको छ। हालै सार्वजनिक अष्ट्रेलियाको अन्तर्राष्ट्रिय शिक्षा २०२५ ला लागी राष्ट्रिय रणनीतिले आगामी वर्षदेखी अष्ट्रेलिया अध्ययनका लागी आउने विद्यार्थीको संख्यालाई दोब्बर बनाउने नीति लिएको छ। अष्ट्रेलियन संघिय सरकारले लिएको यो नीतिले आगामी वर्ष देखी अष्ट्रेलिया स्टुडेन्ट भिजा एप्लाई गर्ने साथै पढ्न आउने विद्यार्थीको संख्या ह्वात्तै बढ्ने छ। यतिखेर वार्षिक ५ देखी ६ लाख हाराहारीले अष्ट्रेलियाको विद्यार्थी भिजा पाउँदै आएका छन्। सन् २०१५ मा अध्ययनको नाममा अष्ट्रेलिया आउनेको संख्या ६ लाख भन्दा धेरै थियो। सन् २०१५ मा मात्र अष्ट्रेलियाले अन्तर्राष्ट्रिय शिक्षा सेवाबाट १९ बिलियन डलर कमाएको थियो। अन्तर्राष्ट्रिय शिक्षा अष्ट्रेलियाको एउटा ठूलो निर्यात सेवा हो। अष्ट्रेलियामा यो क्षेत्रले मात्र एकलाख ३० हजारलाई रोजगारी दिएको छ, जसमा इमिग्रेसनका कर्मचारी देखी शिक्षक र कलेज युनिभर्सिटीका कर्मचारी, माईग्रेसन, एजुकेसन एजेन्ट समेत पर्दछन्।
अन्तर्राष्ट्रिय विद्यार्थीलाई आकर्षित गर्न साथै विदेशी विद्यार्थीको व्यवस्थापनका लागी अष्ट्रेलियाले ‘स्टुडेन्ट भिजा’ प्रणालीलाई सुधार र परिमार्जन समेत गरेको छ। हालै अष्ट्रेलियाले गरेको विद्यार्थी भिजा प्रणाली परिवर्तनलाई सजिलो गरि बुझ्न यहाँ क्लिक गरेर पढ्नुहोस्।
अहिले विदेश पढ्न जाने विश्वभरका विद्यार्थीको बजारको ५० प्रतिशत हिस्सा विकसित ६ देशमा पर्दछ। ती छ मध्ये अष्ट्रेलियाको प्रतिस्पर्धा अमेरिका र बेलायतसँग छ। अमेरिकाले अध्ययनका लागि विदेशीने विद्यार्थीको कुलसंख्याको १९ प्रतिशत विद्यार्थी आफ्नो देश भित्र्याउने गरेको छ भने बेलायतले १० प्रतिशत। अमेरिकाको विद्यार्थी छनौट कडा छ भने वेलायतको अध्यागमन कानुन विद्यार्थीलाई वेलायतमा स्थायी बसोबास गर्नको लागी सहज छैन। क्षमता भएका र योग्यता पुगेकालाई स्थायी बसोबार (पीआर) सजिलै मिल्ने भएकाले विश्वभरका विद्यार्थीमा अष्ट्रेलिया आकर्षणको केन्द्रमा छ। यहाँका विश्वविद्यालय र कलेजले दिने शिक्षाको गुणस्तर, विश्वभर मान्यता साथै बजारको आवस्यकता अनुसारको कोर्ष डिजाइन भएका कारण पनि विद्यार्थीहरूले अष्ट्रेलियालाई अध्ययन गन्तव्यका रूपमा रोज्ने गरेका छन्। भरखरैको इन्टरनेशनल स्टुडेन्ट सर्भे (२०१४) अनुसार ९३ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीले अष्ट्रेलियाको शैक्षिक संस्थाको गुणस्तर र यहाँको व्यक्तिगत सुरक्षाको कारण अष्ट्रेलियालाई अध्ययनको गन्तव्यका रूपमा रोजेको बताएका छन्।[ads1]
अष्ट्रेलियाले सन् २०१३ देखी यहाँ उच्चशिक्षा अध्ययन पुरा गर्ने विद्यार्थीलाई २ वर्षको ‘पोस्ट स्डटी वर्क’को अवसर प्रदान गर्ने गरेको छ। जसका कारण विद्यार्थीले पढाई सकेपछी यहाँ अष्ट्रेलियामा दुई वर्ष काम गरेर यहाँको अनुभव लिन सक्छ भने निश्चित योग्यता पुगेपछी स्थायी बसोबासको अनुमति पनि पाउँछ।
यो पनि पढ्नुस् अष्ट्रेलिया प्रोसेस गर्न कुन कन्सल्टेन्सी ठीक?
अन्तर्राष्ट्रिय विद्यार्थीलाई आमदानीको ठूलो र महत्वको स्रोत बनाएको अष्ट्रेलियाले आगामी दिनमा विद्यार्थीको आगमन संख्या बढाउन र देशको शैक्षिक संस्थाको सुधार तथा यो क्षेत्रलाई दिगो विकास गर्नको लागि चार वर्षमा १२ मिलियन डलर लगानी समेत गर्न लागेको छ। मंगलबार सार्वजिन भएको बजेटमा अष्ट्रेलियालाई अन्तर्राष्ट्रिय विद्यार्थी माझ लोकप्रिय राख्न र बजारमा प्रतिस्पर्धी रहिरहनका लागी यो रकम खर्चन लागेको उल्लेख छ।
अष्ट्रेलियाको यो रणनीतिले यहाँ आउन चाहने नेपाली विद्यार्थीलाई पनि सजिलो हुने देखिन्छ। नेपाल अष्ट्रेलियाले भिजा एसेसमेन्टका लागि बनाएको लेभलमा तल र हाइ रिस्कमा परे पनि आर्थीक व्यवस्थापन राम्रोसँग गरेका विद्यार्थीले सजिलै भिजा पाउनेछन्। तर अष्ट्रेलियामा आएपछीको व्यवस्थापन र काममा खट्न सक्ने क्षमता भने उनीहरूले नेपालबाट नै विकास गरेर आउनुपर्छ। अष्ट्रेलिया भिजा लाग्न जति सजिलो छ यहाँ आईसकेपछीको व्यवस्थापन भने त्यती सजिलो छैन।