कोभिड-१९ को प्रकोपसँगै विश्व केही समयको लागी ठप्प भयो। आम दैनिकी, व्यवसाय मात्र नभएर सरकार र राज्यहरू पनि बन्द भए। त्यससँगै सिमानाहरू जमिन र आकाश दुवै तर्फबाट बन्द भए। मानिसहरू जहाँको तहीँ भए। जनता प्रतिको जिम्मेवारी निभाउनका लागी सरकारहरू सतर्कताका साथ अघि पनि बढे। धेरै जसो पश्चिमा मुलुकहरू जहाँ स्वास्थ्य तथा सामाजिक सुरक्षाको राम्रो व्यवस्था छ उनीहरूले विदेशमा काम तथा घुमघाममा निस्केका आफ्ना नागरिकलाई घर फर्काउने अभियान थाले। नेपालमा पनि कोभिड-१९ को महामारी फैलने डरले सरकारले ढिलो र सुस्त भएपनि केही कदम त चाल्यो नै। एक दैनिक पत्रिकाका प्रकाशक/सम्पादकको आफन्त चीनमा महामारीका बीच अड्केको कारण बनेको ‘मिडिया हाईप’ले सरकारले चीनबाट राज्यको स्रोतको खर्च गरेर केही नागरिकको उद्धार पनि गरयो। तर, नेपाल सरकार विदेशमा महामारीको मारमा परेका राज्यको जिवन्तताका लागी कर तिर्ने नागरिकहरूको ठूलो समुहलाई वेवास्ता गरेरै लकडाउन ठोकेर सिंहदरबार र बालुवाटारमा नयाँ नयाँ ‘काण्ड’ सृजनामा नै व्यस्त रह्यो। जुन क्रम आजपनि चलिरहेकै छ।
संकटमा आफ्ना नागरिकहरूलाई नहेर्ने सरकार वा राज्यको वैधताको कुरा सभ्य र नैतिक समाजमा चल्ने न हो। नत्र प्रजातन्त्रकै उन्नत व्यवस्था भनेर संविधान र संसदमा उल्लेख भएको देशको उध्रेको चोली त हेर्न कोरोना नै आउनुपर्ने होईन। लामो दबाब र आलोचना पछी नेपाल सरकार विदेशमा अलपत्र परेका आफ्ना नागरिकलाई स्वदेश लैजाने व्यवस्थामा लागेको छ। हुन त भारतले समेत ठूलो संख्यामा आफ्ना नागरिक विदेशबाट लैजान लागेपछीको दबाबले पनि काम गरेको होला। सुस्त सुस्त सरकारको सक्रियता कथाको जंगलको राजा बाँदरको उफ्राई जस्तै बन्ने देखिएको अवस्थाका बीच नेपाल एअरलाईन्सको जहाजले तेस्रो उडान अष्ट्रेलियामा गर्दैछ। यस अघिका उडानमा पनि चर्चा चलेको फर्कँदा नेपाली लैजाने कुरा यसपाली अलिक धेरै चर्चित बन्यो, यहाँसम्म कि अष्ट्रेलियामा रहेको नेपाली राजदूतावासले तत्काल नेपाल फर्कनुपर्ने अवस्थामा रहेकाहरूको नामावली समेत माग्यो। करिब एकहजार पाँचसयले त अघिल्ला नेपाल एअरलाईन्सका उडान र सरकारको देशमा क्षयोन्मुख विश्वासका बीच राजदूतावासले यो पटकको उडानमा नेपाल पठाउन सक्ने कुरामा विश्वास गरेर आवेदन मार्फत नाम पनि लेखाए। तर, नेपालबाट विमानले उडान भर्ने दिन आउँदासम्म यता अड्केका नेपालीले यो पटक पनि ‘हिस्स बुढी हरिया दाँत’को नियती नै भोगे। जुन आशातित नै थियो।
तत्काल नेपाल फर्किनुपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरूलाई आफ्नो विवरण अध्यावधिक गर्नेसम्बन्धी अत्यन्त जरुरी…
Posted by Embassy of NEPAL , Australia on Friday, May 29, 2020
अष्ट्रेलियामा अड्केका नेपालीहरूलाई नेपाल फर्काउने कुरामा न त नेपाल सरकार नै गम्भिर छ न त दूतावास नै स्पष्टताका साथ अगाडी बढ्न सकेको छ। जुन घाम जस्तै छर्लंग छ। तर, यसमा अचम्म मान्नुपर्ने कुरा भने केही पनि छैन, नेपालीहरूले पटक पटक जनआन्दोलन भन्दै सडकमा उफ्रेर स्थापित गरेको व्यवस्थाकै ‘प्रडक्ट’ हो यो। अन्यथा मान्नुपर्ने केही छैन।
नेपाली राजदूतावास क्यानबेराले अष्ट्रेलियामा समस्यामा रहेका नेपालीहरूलाई घर फर्काउन नसकेपनि नेपालमा रहेको अष्ट्रेलियाको राजदूतावासले भने पटक पटक गरेर नेपालमा अड्केका अष्ट्रेलियाका नागरिक तथा अष्ट्रेलियाको ‘पीआर’ भएका नेपालीहरूलाई अष्ट्रेलिया ल्याउन सफल भएको छ। उसैले चार्टर गरेको नेपाली ध्वजावाहक विमानको उडान र अवतरणको समाचार, ब्लग र टिकटोक भिडियो राखेर नेपालीहरू ‘राष्ट्रिय लज्जा’लाई गौरवमय बनाउनमा लागेकै छन्, ‘नेपाल एअरलाईन्सको ऐतिहासिक अष्ट्रेलिया उडान’ शीर्षकमा।
Nepal Airlines flight RA4135 departed #Kathmandu at 1750hrs this evening, bound for #Canberra. 296 passengers on board, including 153 Australians, 140 Australian permanent residents and 3 New Zealand nationals. Safe travels. pic.twitter.com/XtxbU4DAUv
— Pete Budd (@AusAmbNP) June 8, 2020
यो पनि पढ्नुहोस्: अष्ट्रेलियामा शरणार्थी बन्न सयभन्दा धेरै नेपालीको निवेदन
नेपाल फर्कनेपनि धेरै हुँदैनन्
सुरूमा विकसित देशमा धेरै संख्यामा संक्रमित देखिँदा अष्ट्रेलिया लगायत पश्चिमा मुलुकमा छोराछोरी, आफन्तको निमन्त्रणामा आएका अभिभावकहरू नेपाल फर्कन चाहन्थे। तर, सरकारी अकर्मण्यताका कारण अनुमान गरे अनुसार नै विकसित मुलुकहरूले संक्रमणलाई तह लगाएर सामान्य दैनिकीमा फर्कन थाल्दा नेपालमा संक्रमितको संख्या डढेलो जसरी नै फैलिन थालेको छ। जसले गर्दा अष्ट्रेलिया नै अभिभावक र विद्यार्थीको लागी सुरक्षित देखिएको छ। त्यसो त सरकारले सार्वजनिक गरेको उद्धार कार्यविधी नै डरलाग्दो देखिएको छ, आर्थिक लागत तथा संक्रमणको जोखिमको हिसाबले। पुरानो टिकटको हिसाब नगर्दा पनि दूतावासको नेतृत्वमा हुने चार्टर्ड उडानको टिकट, पीसीआर टेस्ट, काठमाण्डौंको संकलन केन्द्र, आफ्नो घर भएको ठाउँ सम्मको यात्रा र स्थानिय निकायले तयार पारेको ‘क्वारेन्टाईन’को गरेर सबै खर्च जोड्दा एकजना अष्ट्रेलियाबाट नेपाल घर सम्म पुग्दाको खर्च दुई हजार देखी पच्चिससय डलर पर्ने देखिन्छ। संक्रमणको जोखिम, खर्च र नेपालमा क्वारेन्टाईनमा मिल्ने व्यवहारको आँकलन गर्नेहरूले अष्ट्रेलियाबाट नेपाल उद्धार उडान हुने नै भएपनि जानेको संख्या भने अहिले नाम लेखाउनेको भन्दा निक्कै नै कम हुनेछ।
नेपाल एअरलाईन्सको चार्टर्ड उडानको हरियो संकेत
नेपाल एअरलाईन्सको लागी नयाँ जहाजहरू खरिद गर्दाको भ्रष्टाचार र अनियमितताको कुरा धमिलो हुँदै गएको छ। कारण सबैलाई थाहा छ, सबै राजनीतिक दलसम्म गुलियो पुगेको छ। तर पनि भारतले गरेको नाकाबन्दी र कोभिड-१९ को प्रकोपमा जसरी खरिद भएको भएपनि देशको ध्वजावाहकसँग गतिला विमान हुँदाको सजिलोको संकेत राम्रै देखिएको छ। २०४६ सालमा प्रजातन्त्र पुन:स्थापना हुनुअघि राम्रोसँग चल्दाको बखत भारतले नाकाबन्दी लगाउँदा तेल समेत नेपाल एअरलाईन्सको विमानले नेपाल भित्र्याएको थियो। यतिखेर कोभिड-१९ संकटको समयमा नेपाल एअरलाईन्सले दुई दर्जन बढी अन्तर्राष्ट्रिय चार्टर्ड उडान गरिसकेको छ। यसले दिएको संकेत के हो भने गतिलो र जिम्मेवार सरकार हुने हो भने नेपालले आफ्नै विमान पठाएर विश्वको कुनै पनि कुनामा नेपाली समस्यामा पर्दा जहाज नै पठाएर उद्धार गरेर ल्याउन सक्छ। त्यसका लागी नेपाल एअरलाईन्सलाई ‘व्यवसायिक’ बनाएर बचाई राख्नु भने पर्दछ।
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally
Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.
अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।