सप्ताहन्त, अर्थात विकेण्ड। अष्ट्रेलियामा यसको छुट्टै पो महत्व छ त। साताको दुई दुई दिन बिदा हुने देश जो परयो। शुक्रबार देखी नै यहाँका होटल, पब र रेष्टुरेन्टहरूमा विकेण्ड लाग्छ, बोटल फोरिन्छन्, गर्लफ्रेण्ड फेरिन्छन् अनि बैंक कार्डको क्रेडिट फेरिन्छ। उही रहने त शरिर र सोमबार देखीको काम गर्ने शैली र व्यस्तता मात्रै। धोकेर, बोकेर, ठोकेर, झुमेर, घुमेर, खेलेर, झेलेर, वाइन ओमन सबमा भुले पनि आईतबार मध्य दिनमा घर फर्केपछी विधिपूर्वक सकिन्छ एउटा अष्ट्रेलियन विकेण्ड। त्यो सिड्नीमा पनि उही हो अनि मेलबर्न, क्यानबेरा र पर्थमा पनि उही हो।
तर फरक के भने यहाँ बस्नेको वर्ग र हैसियत अनुसार विकेण्ड फरक हुन्छ, गतिविधी के गरिन्छ भन्ने। हामी नेपालीहरू मध्ये सबैको यस प्रतिको धारणा चैं आफ्नो वर्ग र यहाँको सेटलमेन्ट हेरेर फरक फरक छ, हुनसक्छ। तर पनि सबैको लागी विकेण्डका दुई दिनले साताका अरू पाँच दिन भन्दा फरक नै महत्व राख्छ। बिदाको समय भएकाले आफन्त साथीभाई भेटघाटको अवसर जुटाउन पनि सकिन्छ भने यी दुई दिनमा काम गरेर साताका अरूदिनमा भन्दा धेरै कमाउन सकिन्छ। ट्याक्समा काम गर्नेहरूका लागी रोजगारदाताले यी विकेण्डका दुई दिन अरू दिन भन्दा धेरै नै बढी पे गरिरहेका हुन्छन्। त्यसैले नर्सिङ तथा अरू सेवा क्षेत्रमा काम गर्नेले सितीमिति विकेण्डका समयमा पाएको सिफ्ट छोड्दैनन्। र, छोड्नु पनि हुँदैन। यहाँ आएको नै पैसा कमाउन र जिवनमा सम्पन्ता ल्याउन जो हो।
विकेण्डको समय मानिसहरू बिदाको मुडमा हुने भएकाले हस्पिटालिटी क्षेत्रमा काम गर्नेका लागी यो समय व्यस्तताको हुन्छ। विहान देखी राती सम्म सिफ्ट पाए सम्म काम गर्ने हो (हान्ने पो भन्छन यहाँ)। दुई सिफ्ट काम गरेर कलेज अनि युनि फि को जोगाडमा राम्रो योगदान दिने समय हो यो विद्यार्थीका लागी। साताका बाँकी दिनमा २ देखी ३ दिन त कलेज र क्लासमा नै बित्छ अनि एसाइनमेनट्को चक्कर पनि त पुरा गर्नै पर्यो। तर नेपालबाट अलिक पहिले नै यहाँ आएर सेटल भएका राम्रो पेशा र जागिरमा रहेकाका लागी भने यो समय छुट्टी मनाउने हो। परिवार, छोराछोरीहरूका लागी समय दिने, घुम्न निस्कने समय हो। त्यसमा पनि नेपालबाट बाबुआमालाई बोलाएको अवस्था छ भने त शुक्रबार साँझ देखी नै पो सुरू हुन्छ घुमघाम र रमाईलो। त्यसो त विकेण्ड नेपालबाट आएका अभिभावकका लागि पनि फुर्सत कै समय हो। नत्र छोराबुहारी वा छोरीज्वाईं साताभर काममा व्यस्त हुँदा दिनभर नातिनातिनालाई घरमा हेरेर घर अनि युनिटमा नै चाइल्ड केयर को चलाईदेओस्?
आफूलाई व्यवसायीको वर्गमा राख्नेहरूका लागी भने विकेण्ड व्यस्तताको समय हो। कतिपयको लागि फेरी व्यस्तता देखाउन पर्ने पनि हुन्छ। सबैठाउँमा हैसियत अनुसारको इष्ट पनि राख्नुपर्ने बाध्यता ! जो छ। नत्र भोली अलिक पैसा के कमाको थ्यो ठूलो भयो भन्लान भन्ने डर। त्यसमा पनि सानो तिनो नै सही बिजनेस जो चलाउनु अावश्यक छ। त्यसको समर्थनका लागी पनि आवश्यक हुने भयो आयोजना र प्रायोजन। नेटवर्किङको को जमाना छ। भोज भतेर नगरेर भयो। त्यसमा पनि विकेण्ड। ईभेन्ट तो बन्ता है न’ त्यसैले आयोजना हुन्छन् विभिन्न कार्यक्रम। गाला डिनर देखी रमाईलो साँझ सम्म। यी सबै विकेण्ड बिताउने बाहाना हुन् तीनमा जोडिने समाजसेवा त फेस सेभिङ न हो। नत्र नेपालमा सहयोग नै गर्न हुँदो हो त ५-१० डलर जम्मा पार्दा नै धेरै पैसा उठ्थ्यो। भोजमा आउने भन्दा धेरै सहभागी हुन्थे। गरिबका नाममा मिष्ठान्न भोजन गर्नु पर्ने के जरूरत?
नेपालमा राजनीतिक दल र नेताको सम्बन्ध र दौराको फेर समातेर जागिर पड्काएका देखी आफूलाई राजनीतिक नेताको नजिक देखाएर यहाँका नेपालीको जमघटमा नाक फुलाएर भाषण गर्ने अवसरका लागी यहाँ घरको करेसाबारी (ब्याकयार्ड)मा नेपालबाट कलमी गरेर ल्याएका बोन्साई स्टाइलका राजनीतिक दलका संगठन छन्। ती पनि विकेण्ड बिताउने माध्यम हुन् अलिक सेटल भएकाका लागी। त्यसो त पहुँच देखाउने नेपालीहरूको जीनबाटै आउने गुण हो। त्यसमा पनि नेपालमा नाम पनि चलोस सुनिओस भन्ने चाहना हुनु गलतै त हैन नि। भानुभक्तले त नामको लागी भनेर ‘रामायण’ लेखेका थे। राजनीतिक प्राणी साबित हुनेहरूको अगुवाईमा नै नेपालबाट फलानो दलको चिलानो नेतालाई ल्याएर कार्यक्रम गरिन्छ। एउटा दुईटा विनेण्ड रमाइलो। भाग्य, भविष्य सबै अष्ट्रेलियन सरकार र राजनीतिक दलको हातमा भएकाहरू नेपालको नेतालाई ल्याएर डिनर ख्वाएर गिफ्ट किन्देर आफूलाई सम्पर्क समाज, संघ जस्ता संगठन (कतिको त अष्ट्रेलियामा कुनै कानुनी हैसियत नि नहुन सक्छ, मतलब फेसबुकमा मात्र दर्ता भएका !) मा सक्रिय किन हुन्छन् भन्ने तिर चैं नसोची नेतासँग सेल्फी खिचेर विकेण्ड मनाउनु विशुद्ध सामाजिक र राजनीतिक टाइपको विकेण्ड हो। धेरै नेपालको राजनीतिमा टाउको दुखाउनु को के जरूरत? कामको र दामको तनाब कम छ र?
नेपालमा जसको कुनै पेशा हुँदैन त्यसलाई सार्वजनिक मंचमा समाजसेवी भनिन्छ। तर अष्ट्रेलियाको बातै निराली। अलिकती स्ट्याब्लिस्ट जस्तो भएपछी सिधै समाजसेवी। अष्ट्रेलिया छिरेका र सानो तिनो व्यवसाय गरेका सबै समाजसेवी। यहाँका पत्रिका (सबैलाई घालघुल नगरी बुझ्नुस है)मा छापिएका प्रोफाइल लेख हेर्ने हो भने समाजसेवी (भन्न नमिल्ने त दुई वर्षमा मैले एउटा मानिस पनि देखिन)को संख्या अष्ट्रेलियामा बस्ने कुल नेपालीको ९० प्रतिशत रहेको नै अनुमान गर्न सकिन्छ। यत्रो समाजसेवी भएको ठाममा विकेण्ड पनि समाजसेवी पारामा मनाईन्छ। गाउँ टोल देखी जिल्ला र पढेको स्कुल, गुठी देखी साझे खरबारी भएका सम्मको संख्यालाई विचार गरेर खोलिने समाजहरूले समाजसेवाको अनुपम उदाहरण अहिले सम्म कै भव्य, व्यापक सहभागिता भएको, धेरै टिकट बिकेको क्रुज, गाला, सिनेमा पार्टी गरेर, समाजसेवी विकेण्ड बिताउने मेलो मिलाउँछन्। यसमा हैसियत अनुसार भीभीआईपी, भीआईपी बन्ने सुविधा छ जसले बढी पैसाको टिकट लियो त्यो भीभीआईपी । यस्ता विकेण्ड आयोजकका विषयमा ‘पाटी’वाला अनलाइनमा घुँडाबाट समेत आँशु आउने गरेर भावुक कोटेसनका साथ समाचार छापिन्छ।
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally
Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.
अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।