छोराछोरीलाई अष्ट्रेलिया पठाउँदा ध्यान दिनुपर्ने कुरा

हरेक आमाबाबुलाई आफ्ना छोराछोरीलाई सकेसम्म राम्रो शिक्षदिक्षा दिउँ र सक्षम व्यक्ति बनाउँ भन्ने हुन्छ। त्यसैले छोराछोरीलाई पढाउने र हुर्काउने कुरामा कुनै पनि बाबुआमाले कुनैपनि कुरामा सम्झौता गर्दैनन्। राजनीतिक र आर्थिक अवस्थाको कारण नेपाली अभिभावकहरू सकेसम्म छोराछोरीलाई राम्रो भविष्य बनाउन सकिने मुलुकहरुमा पढाउन लालायित देखिन्छन्। पढाई, पैसा र पीआरको समेत संभावना भएको कारण यतिखेर अष्ट्रेलिया नेपाली अभिभावकको रोजाईको देश बनेको छ, छोराछोरी पठाउनको लागी। यतिखेर नेपालमा १२ कक्षा पास गरेपछी अष्ट्रेलिया जानुपर्छ भन्ने आम मानसिकता नै बनिसकेको छ। त्यसो त सामाजिक मञ्चहरूमा अष्ट्रेलिया जाने युवा, उनीहरूका परिवारका सदस्यहरुले देखाएको रहन सहनको परिवर्तन अनि फरक बनेको जिवनशैलीले पनि अरू धेरैलाई अष्ट्रेलियाको सपना देख्न बाध्य बनाएको छ। जसलाई तपाईं पनि नकार्न सक्नुहुन्न।

योजनाबद्ध सुरूवात

हरेक अभिभावकको लागी छोराछोरीको पढाई र उनीहरूको लालन पालन एउटा ठूलो लगानी हो। त्यो पनि लामो समयको लागी। त्यसमा पनि विदेशमा पढाउनु भनेको झन् ठूलो लगानीको कुरा हो। त्यसैले उनीहरूको पढाईको लागी अभिभावकले अलिक स्पष्टसँग नै योजना बनाएर अगाडी बढ्नुपर्छ। योजना बनाएर छोराछोरी पठाउने अभिभावकले यसका संभावना, चुनौती र खर्च तथा नसोचिएका अपर्झट पर्ने समस्याहरूको पहिचान गर्न र तीनसँग जुध्नका लागी साहस, योजना र तयारी गर्न सक्छन्। ‘एउटा सूसुचित मानिसले मात्र सही निर्णय गर्न सक्छ’ भन्ने त भनाई त सुन्नु भएकै होला, त्यसैले अष्ट्रेलियामा छोराछोरीलाई पठाउने मन छ र छोराछोरीको रूचि पनि हो भने त्यसको लागी समय छुट्याएर अध्ययन गर्न सुरू गर्नुस्। आजकल धेरै जसो किशोर किशोरी १२ कक्षा पास गरेपछी अष्ट्रेलिया आउने गरेका छन् त्यसो त स्नातनकोत्तर तहमा पढ्न आउने पनि धेरै छन्। कुन तहमा अध्ययन गर्न अष्ट्रेलिया आउने हो र अष्ट्रेलियामा पढ्नुको प्रयोजन के हो भन्ने खुलेपछी यताको लागी योजना बनाउन सजिलो हुन्छ। त्यसो त अष्ट्रेलिया पढ्ने र बस्ने खर्च पनि कम छैन, सुरूवातमा नै १५ देखी २० लाख सम्मको लगानी पर्ने र पछी पनि थप पैसाको जिम्मेवारी पर्न सक्ने भएकाले त्यसको लागी बचत र व्यवस्थापनको योजना पनि बनाउनु पर्दछ।

सबै पक्ष बुझ्नुस्

अष्ट्रेलिया पढ्न आउने धेरैले साथिभाई, एजुकेशन कन्सल्टेन्सी, मिडियामा आएका कुरा र फेसबुकमा भएका छलफललाई नै सूचनाको लागी मुख्य आधार बनाएका हुन्छन्। यिनले अष्ट्रेलियामा नेपाली विद्यार्थीले सामना गर्नुपर्ने चुनौती र सृजना गर्न सक्ने अवसरहरूका बारेमा सबै कोणको जानकारी दिन सक्दैनन्। धेरै एजुकेशन कन्सल्टेन्सी सञ्चालक तथा कन्सल्ट्यान्ट नै अष्ट्रेलियाको पढाई र करिअर निर्माणको बारे धेरै जानकारी राख्दैनन्। धेरै एजुकेशन कन्सल्टेन्सीका कन्स्टेन्टहरू अष्ट्रेलियाको भिजा प्रोसेस र यहाँका कलेज तथा विश्वविद्यालयको कोर्ष बेच्ने मध्यस्तकर्ता मात्र हुन्। त्यसैले जतिवटा एजुकेशन कन्सल्टेन्सी धाए पनि तपाईंले पाउने जवाफ भनेको ‘अष्ट्रेलिया मल्टिकल्चरल देश हो, अवसर टन्नै छ, काम गएपछी नपाउने भन्ने हुँदैन, पीआर पनि पढाई सकेपछी हुन्छ’ यस्तै नै हो। अधिकांश मिडियामा आउने अष्ट्रेलियाको पढाई ‘राम्रो’ भनिएका सामाग्रीहरू ‘पेड कन्टेन्ट’ हुन्छन्, विदेश अध्ययनका बारेमा बनाईएका र प्रशारण हुने अन्तर्वाता ९० प्रतिशत सबै ‘प्रायोजित’ हुन्छन्। त्यस्ता कार्यक्रम हेर्दा याद गर्नुस् ती कार्यक्रमको प्रायोजककै अन्तर्वाता आईरहेको हुन्छ।

आजकल त फेसबुकमा ग्रुप बनाएर एसईई दिएका किशोर किशोरीलाई अष्ट्रेलियाको सपना बाँढिरहेका हुन्छन। अष्ट्रेलियाको पढाई र भिजाका बारे भनिएका धेरै फेसबुक ग्रुपहरूले नक्कलि बिहे, नक्कली कागज बनाएर अष्ट्रेलिया पठाउने र अनेक खालका शोषण गर्ने गरेको पनि सुनिन्छ। मानव तस्करीको रूपमा लिईने यस्ता क्रियाकलापको फन्दामा पर्नुभयो भने त्यसले जिन्दगी नै बर्बाद गर्न सक्छ। त्यसैले अष्ट्रेलियाको पढाई र अवसर साथै ती सबै आफ्नो छोराछोरीको पढाई, क्षमता र आफ्नो आर्थिक हैसियतको वशमा छ कि छैन भन्ने अध्ययन आफैले गर्नुपर्छ। त्यसका लागी सामुदायिक फोरम, अष्ट्रेलियाका मिडिया, सरकारी तथा गैरसरकारी तथ्यांकहरू, रोजगारदाता र सम्बन्धित ‘ईन्डस्ट्री’का प्रतिवेदनहरू साथै अष्ट्रेलियाको ‘माईग्रेसन’ नीति र बदलाबहरूको अध्ययन गरेर सबै पक्षका बारेमा जानकार बन्न सक्नुहुन्छ।

कोर्ष, कलेज र शहरको छनौट

धेरैले अष्ट्रेलिया पढ्न आउने भनेपछी रोज्ने भनेको पीआर हुने वा भिजा लाग्ने कोर्ष नै पढ्ने मनस्थिती बनाउँछन्। त्यसो हुनुको कारण चाहिँ एजुकेशन कन्सल्टेन्सीले आफू एजेन्ट रहेको र धेरै कमिसन आउने कोर्ष तथा कलेजहरूमा पढ्न जोड दिनु नै हो। अष्ट्रेलियाको भिजा मिल्ने कि नमिल्ने भन्ने कुरामा धेरै तत्वले भूमिका खेलेको हुन्छ कुनै कोर्ष, कलेज वा शहर छान्दैमा शतप्रतिशत मिल्छ भन्ने नै होईन। यदी तपाईंको पृष्ठभूमि र करिअर योजनासँग तपाईंले अष्ट्रेलियामा पढ्न खोजेको विषय र आर्थिक हैसियत मेल खान्छ भने भिजा नपाउने भन्ने कुरै छैन। कोर्ष, कलेज र शहरको छनौट गर्दा आफ्नो भविष्य र क्षमता भएको कोर्ष छान्नुपर्छ भने कलेज वा विश्वविद्यालय छान्दा आफ्नो योग्यता र गोजी हेर्नुपर्छ। तपाईंसँग क्षमता छैन भने विश्वविद्यालयले तपाईंलाई ‘कोर्ष अफर’ नै गर्दैन। अनि सस्तो र एउटा ‘फ्ल्याट’मा खोलिएका कलेजहरुमा पढ्न आउनुपर्छ जहाँबाट पास गरेर शर्टिफिकेट त पाईन्छ त्यसले तपाईंको करिअर बनाउनमा कुनै सहयोग हुँदैन।

पढ्ने शहर छनौट गर्दा सकेसम्म विकसित र धेरै रोजगार सम्भावना दिने शहर छान्नुपर्छ। अष्ट्रेलियाको सिड्नी, मेलबर्न जस्ता शहरमा जति रोजगारी पाउने र पैसा कमाउन सक्ने अवसर मिल्छ त्यति अन्त मिल्दैन। त्यसो त पढाई सकेपछी आफ्नो पढाई अनुसारको जागिर र करिअर बनाउन पनि यस्ता ‘भाईब्रेन्ट’ शहरमा नै बस्नुपर्छ।

पैसाको योजना

धेरै नेपालीहरू अष्ट्रेलिया पढ्न आऊने बैंकबाट ऋण लिएर नै हो। साथै अर्को कुरा पनि के हो भने नेपालबाट ल्याउने भनेको फेरी पहिलो सेमेस्टरको ‘फि’ तिर्ने पैसा मात्र हो। दोस्रो सेमेस्टर देखीको सबै खर्च अष्ट्रेलियामा कमाएर नै चलाउने हो। त्यसो भएकाले विद्यार्थीले पढाई भन्दा काममा बढी समय दिनुपर्ने हुन्छ जसले गर्दा यहाँ आएर सस्तो कलेज खोज्दै सर्ने र पटक पटक पढाईमा फेल हुने हुन्छ। कतिपयले दुई वर्षको कोर्ष चार वर्षमा सकेका हुन्छन्। जसले अष्ट्रेलियामा ‘पीआर’ पाउने र करिअर बनाउने सपना सपनामा नै राखिएको हुन्छ।

अष्ट्रेलियामा साँच्चै पढ्न आउने अरू देशका विद्यार्थीहरूको कथा फेरी भिन्नै छ। आफ्नो देशमा अष्ट्रेलियामा दुई वर्ष पढ्न लाग्ने खर्च सबै बैंकबाट ऋण लिएर आउने यता दुईवर्ष थोरै काम गरेर बस्ने खाने व्यवस्था मिलाउने र पढ्नमा जोड दिने। यस्तो गर्नेहरूले पढाईमा पनि राम्रो गरेका छन् भने आफ्नै क्षेत्रमा काम गरेर पढाई पछी काम गर्नका लागी पाईने ‘पोस्ट स्टडी वर्क’को दुई वर्षको समयमा सबै ऋण तिरेर अष्ट्रेलियाको ‘पीआर’ पनि हासिल सजिलै गरेको देखिन्छ।

यदी तपाईं आफ्ना छोराछोरीलाई साँच्चै अष्ट्रेलिया पढाउन खोज्नुभएको हो भने उनीहरूको कोर्ष र पढाईमा लाग्ने खर्च बैंकबाट ऋणका रूपमा निकालिदिनुस् जुन उनीहरू आफैले तिर्छन्। यसो भएको खण्डमा यता अष्ट्रेलिया आएपछी धेरै काममा घोटिनु पर्दैन र पढाई पनि राम्रो हुन्छ पढाई सकेपछी अष्ट्रेलियामा राम्रो जागिर पनि पाउँछन्। यसलाई तपाईं लगानीको रूपमा हेर्नुस् र दुई वर्ष प्रतिफलको लागी कुर्नुस्। तपाईंको पैसा र लगानीको योजना र व्यवस्थापनले तपाईंको छोराछोरीलाई अष्ट्रेलियाको ‘क्लिनर’, ‘किचन ह्याण्ड’, ‘सेफ’ बनाउने कि ‘ईन्जिनियर’, ‘वकिल’, ‘प्रोग्रामर’, ‘म्यानेजर’ बनाउने भन्ने निर्धारण गर्छ।

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

बढ्दैछन्, एज्ड केयरमा जासुसी क्यामेरा राख्ने - NepaliPage

अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई धेरै समय काम गर्न दिने

एज्ड केयर, डिज्याबिलीटी, हेल्थ केयर र फार्ममा काम गर्ने विद्यार्थीहरूले पढाईसँगै पाक्षिक ४० घण्टा भन्दा …