अष्ट्रेलियामा कामको तालमेल: थोरैले फी पुग्दैन, धेरै गरे डिपोर्ट

अष्ट्रेलियामा अध्ययनका लागी आएका अन्तर्राष्ट्रिय विद्यार्थीलाई ‘मिहेनती मौरी’ भन्दा अत्युक्ति हुँदैन। अष्ट्रेलियाको विकासमा अन्तर्राष्ट्रिय विद्यार्थीको योगदान निक्कै नै धेरै छ, आर्थिक रूपमा मात्र हेर्ने हो भने पनि वार्षिक ३२ बिलियन डलरको छ। सामाजिक, सांस्कृतिक र अरू पक्षहरू त बेग्लै भयो। अष्ट्रेलियाका शहरहरूको भौतिक पूर्वाधार र व्यवसायवाला चमक धमक पनि धेरै हदमा अन्तर्राष्ट्रिय विद्यार्थीमा अडेको छ। अष्ट्रेलिया सुन्दर, सफा र प्रतिस्पर्धी रहनुमा पनि कतै न कतै अन्तर्राष्ट्रिय विद्यार्थीको हात देखिन्छ। अष्ट्रेलियाको प्राविधिक देखी पर्यटन अनि सरसफाई देखी स्याहार सुसार सम्मका उद्योगहरूमा अन्तर्राष्ट्रिय विद्यार्थी सस्ता र भरोषायोग्य कर्मचारीका रूपमा कर्मशिल छन्। यसो भन्दा सबै सन्दर्भहरूमा अन्तर्राष्ट्रिय विद्यार्थीलाई कम वेतन दिईन्छ भन्ने चाहिँ होईन। अष्ट्रेलिया पढ्नका लागी विद्यार्थी भिजामा आएपनि धेरै अन्तर्राष्ट्रिय विद्यार्थीको पहिलो प्राथमिकता आर्थिक उपार्जन, दोस्रो यहीँ बसोबासको व्यवस्था मिलाउनु र तेस्रोमा पढाई सकाउनु हुने गरेको देखिन्छ। व्यक्ति र अवस्था हेरेर प्राथमिकताको तह केही फरक हुनसक्छ तर धेरैको मुख्य उदेश्य यी नै हुन्। जसले गर्दा विद्यार्थीहरूलाई अष्ट्रेलियाले सँधै व्यस्त राख्छ। काम, पढाई र आराम, यीनैको वृत्ताकार चक्रमा अष्ट्रेलियाको दैनिकी उदाए देखी अस्ताएसम्म चलिरहन्छ।

अष्ट्रेलियामा कामको तालमेल: थोरैले फी पुग्दैन, धेरै गरे डिपोर्ट - NepaliPage
अष्ट्रेलियामा बढ्दो नेपाली विद्यार्थीको संख्यासँगै विभिन्न झगडाका गतिविधीमा लाग्नेको संख्या पनि बढिरहेको छ। तस्विर: च्यानल नाईनको स्क्रिनसट

अष्ट्रेलिया ओर्लिए देखीको ध्याउन्न नै काम, कलेज र फीको हुनु सामान्य हो। किनकी, नेपालबाट आउँदा नै एक वा दुई सेमेस्टरको फी तिरेर आईएको हुन्छ अनि बाँकी यतै कमाएर मिलाउनु पर्ने हुन्छ धेरै नेपाली विद्यार्थीको हकमा। कतिले चाहिँ कलेज र पढाईको सबै खर्च नेपालबाट तिर्ने र यता काम गरेर जम्मा पारेकोले उताको ऋणको किस्ता तिर्ने यताको बसोबास मिलाउने र करिअर विकासमा लाग्ने गरेको पनि पाईन्छ। अरू देशका विद्यार्थीहरूको पनि आर्थिक व्यवस्थापन त्यसरी नै चलेको हुन्छ। अष्ट्रेलियामा पढेर करिअर बनाउँछु र आर्थिक रूपमा पनि राम्रै गर्छु भनेर अलिक दिर्घकालिन योजना बनाएर आउनेहरूलाई भने अष्ट्रेलियाको काम र बसाईं अलिक व्यवस्थित र सहज हुन्छ। नेपालबाट आम मानिसले सोचे जस्तो अष्ट्रेलियाको ‘स्टुडेन्ट भिजा’लाई वैदेशिक रोजगारीको अवसरका रूपमा लिएर आउने हो भने चाहिँ अष्ट्रेलिया सजिलो हुँदैन, न त अहिलेका लागी न पछीका लागी नै।

यो पनि पढ्नुस् : यि हुन् अष्ट्रेलियाको स्टुडेन्ट भिजाका शर्तहरू, जुन तोडे भिजा क्यान्सिल हुनसक्छ 

अष्ट्रेलिया पढ्नुको एउटा आकर्षक कारण भनेको यहाँ विद्यार्थी भिजामा रहनेले काम गर्न पाउनु हो। विद्यार्थीका रूपमा पढिरहेको समयमा साताको २० घण्टा र पढाई छुट्टी भएको समयमा साताको ४० घण्टा नै काम गर्न पाउने भएकाले अष्ट्रेलियाको पढाई फी महँगो हुँदा हुँदै पनि धेरै अन्तर्राष्ट्रिय विद्यार्थीको लागी तिर्ने नसक्ने चाहिँ छैन। यसैको कारण नै नेपालबाट पछिल्लो समय अष्ट्रेलिया आउनेको संख्या दिन दुगुणा र रात चौगुणा बढिरहेको छ। यतिखेर नेपाल विद्यार्थीका लागी अष्ट्रेलियाको तेस्रो ठूलो स्रोत राष्ट्र बनिसकेको छ। अष्ट्रेलिया आउने र उनीहरूको अभिभावकको चमक दमक देखेर अष्ट्रेलिया आउने र पठाउन चाहने छोराछोरी तथा बाबुआमाको संख्या पनि उस्तै बढिरहेको छ। कारण अष्ट्रेलिया गएकाले कमाए, अष्ट्रेलियामा कमाउन सकिन्छ भन्ने सोच। तर सोचे जस्तो लाख लाख जोगाएर पठाउन सकिने अवस्था भने छैन। किनभने विद्यार्थीका रूपमा नेपालबाट स्वीकार गरेर, घोषणा गरेर आईएका केही कुरा छन् अनि यताको भिजाको शर्तहरू पनि।

यो पनि पढ्नुस् : अष्ट्रेलिया पढ्न आउँदा यस्ता कुरामा ध्यान दिनुस्

अष्ट्रेलियामा कामको तालमेल: थोरैले फी पुग्दैन, धेरै गरे डिपोर्ट - NepaliPage
यतिखेर अष्ट्रेलियामा नेपाली विद्यार्थीहरू बीच भाइरल भईरहेको भिजा क्यान्सिलको सन्देशको ‘स्क्रिनसट’ ! तस्वीर – फेसबुक

विद्यार्थीका रूपमा २० घण्टा काम गरेर घण्टाको २० देखी २२ डलरको हिसाबले जम्मा हुन आउने रकमले कोठाभाडा, रेल, बस अनि खानाको व्यवस्थापनलाई नै धान्न हम्मे हम्मे हुन्छ। यो ‘ट्याक्स’मा काम गर्दाको स्थिती हो। तर धेरै अष्ट्रेलियन कम्पनीहरूमा विद्यार्थीलाई काममा राख्न गाह्रो मान्छन् किनकी उनीहरूले सातामा २० घण्टा मात्र काम गर्न सक्छन् र त्यसमा पनि उनीहरू साताको बिचका दिनमै कलेज पढ्न पनि जानुपर्ने हुन्छ। मतलब, पुरा साता काम गर्न सक्दैनन्, रोजगारदातालाई उनीहरूले काम गर्न नसक्ने समयका लागी अर्को कुनै व्यवस्था गर्नुपर्छ। जसको झण्झट लिन उनीहरू चाहँदैनन्। तर, यस्तो कामको समय हुने विद्यार्थीहरू रेष्टुरेन्ट, होटल, मोटल साथै अन्य सेवामुलक व्यवसायका लागी उत्तम हुन्छन्। जहाँ सानो सानो र छोटो समयको लागी काम गर्ने मानिसहरू चाहिइरहेको हुन्छ। त्यसैले धेरै विद्यार्थी भिजामा रहेकाहरू रेष्टुरेन्ट, होटल, मोटल, पसलहरू लगायतका धेरै मानिसको चहलपहल हुने स्थानमा काम गरिरहेको देख्न सकिन्छ। यस्ता रोजगारदाताहरूको ‘क्यास’मा पनि काम दिन्छन्। यो नै विद्यार्थीहरू यस्ता क्षेत्रमा काम गर्नुको मुख्य कारण हो। ‘क्यास’को काम भएकाले भिजाको शर्तमा उल्लेख भएको २० घण्टाको काम गर्ने सिमाको अभिलेख सरकारी तथा अध्यागमन निकायले पाउन सक्दैनन्। जसले गर्दा पढाईको लागी कलेज वा युनिभर्सिटीमा रहनुपर्ने बाहेकको समयमा विद्यार्थीहरू काममा लाग्न पाउँछन्। ‘ट्याक्स’मा जस्तो नभए पनि यसरी काम गर्दा १५ देखि २० डलर सम्म प्रति घण्टा कमाई हुनसक्छ, यो के काम गरिन्छ र कस्तो रोजगारदाता पर्छ भन्नेमा पनि भर पर्छ। यसरी साताको ७०० देखी १२-१४ सय सम्म विद्यार्थीले कमाउन सक्छन्, जुन अधिकतम खटाईको आमदानी हो र सबैमा लागु नहुनसक्छ। त्यसमा कर, भाडा, खाना, कोठाको खर्च सबै कटाएर हुने बचत भने त्यसको आधा मात्र हुनसक्छ वा त्यो भन्दा पनि कम। जुन हरेक चार महिनामा तिर्नुपर्ने कलेज वा युनिभर्सिटीको फीको ‘जोगाड’ गर्नका लागी अपर्याप्त पनि हुनसक्छ। यस्तो अवस्थामा विद्यार्थीसँग धेरै घण्टा काम गर्ने बाहेक विकल्प हुँदैन। अपहत्ते कस्तो भने थोरै काम गरेर भिजाको शर्तमा बसौं फी तिर्न सकिन्न, नेपालबाट ल्याउन पर्छ, त्यो कतिपयको लागी सम्भवको विषय पनि हुँदैन। धेरै काम गरौं पैसा त कमाईएला तर भिजाको शर्त उल्लंघन गरेको भनेर अध्यागमनले भिजा नै खारेज गरेर ‘डिपोर्ट’ गर्देला भन्ने डर।

यो पनि पढ्नुस्: विद्यार्थी  भिजाका शर्त तोड्नेहरूलाई अष्ट्रेलिया फर्कन नदिईने

सन् २०१८ को डिसेम्बर महिनामा प्रकाशित समाचार र विभागको तथ्यांक अनुसार अष्ट्रेलियाको ‘होम अफेयर्स’ विभागले १३ हजार ३९८ विद्यार्थीहरूको भिजा रद्द गरेर उनीहरुलाई अष्ट्रेलिया आउनबाट रोकेको थियो। पढाईबाट छुट्टीमा आफ्नो घर वा अष्ट्रेलिया बाहिर रहँदा उनीहरूको भिजा खारेज गरेर उनीहरूलाई अष्ट्रेलिया आउनबाट बञ्चित गरिएको थियो। उनीहरूलाई अष्ट्रेलिया आउनका लागी प्लेन चढ्ने क्रममा नै रोकिएको थियो। जुन हजारौं विद्यार्थि भिजाको शर्त उल्लंघन गर्नेहरूको भिजा रद्द गर्ने क्रममा भएको थियो। त्यसो त समय समयमा अष्ट्रेलियाको अध्यागमनले रोजगारदाताहरूको कार्यस्थलमा नै छापा मारेर भिजाको शर्त उल्लंघन गर्नेहरूलाई कारवाही गर्ने गर्दछ। हालै पनि नेपालीहरू बीच यस्तो छापा मारेर केही नेपाली विद्यार्थीहरू ‘डिपोर्ट’मा परेको कुरा सामाजिक संजालमा ‘भाइरल’ बनेको थियो। यस्तो कुराहरू गोपनियता र नेपाल फर्केपछी पर्न सक्ने समस्याका कारण बाहिर पहिचान सहित सार्वजनिक हुँदैनन् तर यस्तो संख्या पनि उल्लेख्य छ।

काम, कमाई र पढाईको तालमेल मिलाउन साँच्चिकै गाह्रो छ अष्ट्रेलियामा विद्यार्थीलाई। त्यसमाथि नेपालबाट पनि पैसा कमाएर पठाउन पर्ने दबाब भयो भने अष्ट्रेलियाको बसाईं भिरको फर्सी बन्न बेर लाग्दैन। यदी अष्ट्रेलियाको बसाईं र पढाईलाई व्यवस्थित अनि सहज बनाउने हो भने राम्रो कन्सल्टेन्सीको छनौट, पर्याप्त अध्ययन र वैकल्पिक उपाय सहितको योजना बनाउनु आवश्यक हुन्छ।

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

बढ्दैछन्, एज्ड केयरमा जासुसी क्यामेरा राख्ने - NepaliPage

अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई धेरै समय काम गर्न दिने

एज्ड केयर, डिज्याबिलीटी, हेल्थ केयर र फार्ममा काम गर्ने विद्यार्थीहरूले पढाईसँगै पाक्षिक ४० घण्टा भन्दा …