‘बुलबुल’ पहिले पनि सुनेको हो तर व्यापक रूपमा सामाजिक संजालमा ‘बुलबुल’को चर्चा हुन थालेपछी यसको अर्थ अझ भनौं चुरो पत्ता लगाउनका लागी म नेपाली शब्दकोष नै पल्टाउन बाध्य भएँ। शब्दको झंकारले नै एउटा कौतुहल पैदा गरिदियो मनमा। आखिर के रहेछ त बुलबुलको अर्थ! थाहा भयो यो त एउटा “रानी चरी रहेछ “…
नेपाली चलचित्रको रूपमा प्रदर्शनमा आएको ‘बुलबुल’को यो रानी चरीसँगको सम्बन्ध के होला? यही सोच अनि चलचित्रको सार्वजनिक भएको ‘टिजर’ले एउटा संघर्षशील महिलाको जीवन कथा जनाएको हुनाले तिनै नायिकाको रूपमा उभ्याइएकी नारीसँग यसको उपमा-उपमेय जोडिएको हुनुपर्छ भन्ने निश्कर्षका साथ आईतबार ‘हाम्रो सानो प्रयास’ समुहका ’१२ भाई’ साथी ‘हर्टभिल’को ‘ईभेन्ट सिनेमा’ सम्म पुग्यौं। आजभन्दा एक वर्ष अघि नेपालको शिक्षा क्षेत्रमा आफ्ना तर्फबाट सानो भएपनि टेवा दिऔं भनेर हामी ‘हाम्रो सानो प्रयास’का नाममा संगठित भएका थियौं, हामीलाई त्यसैले पनि सामाजिक विषयले छुन्छ। त्यसमा पनि नारी संघर्षमा बुनिएको कथा।

चलचित्र हेर्न सिनेमा घरमा पुगे देखी पोस्टरमा देखेको टेम्पोले काठमाण्डौंको सफा टेम्पोको झल्को दिईरहेको थियो। त्यसम पनि जब सिनेमाको पर्दामा स्वस्तिमा खड्का आफ्नो टेम्पोलाई गतिदिँदै गन्तब्य तिर हुईंक्याउँथिन् मेरो मन पनि पाँच वर्ष अघिको कलेज दैनिकीको सम्झनाका पत्रहरू पल्टाउन पुग्थ्यो। सँधै कलेज जाने आउने क्रममा थुप्रै पटक टेम्पो चढेको म टेम्पो चलाउनेहरूको ‘ब्याकईन्ड’ जिन्दगी पनि सडकका लेनमा ओहोर दोहोर टेम्प कुदाउँदा जस्तै अनेकन अनेकन समस्यासँग छलिँईदै गुडिरहेको सोच्दथें। सायद अर्को कारण थियो कि यो, बुलबुलको सिड्नी शो हेर्न जान जुर्मुराउनुमा। नेपालमा रहँदा काठमाण्डौंको कलेज दैनिकीमा ‘क्यूएफएक्स’ सिनेमामा १५० रूपैंयामा हेर्न पाईने शनिबार बिहानको शो नै मेरो ‘फेबरेट’ हुन्थ्यो, ठूला मल्टिप्लेक्समा त बलिउड फिल्मकै कब्जा हुन्थ्यो। सायद आजपनि बलिउडका हिन्दी सिनेमाको अतिक्रमण उस्तै छ नेपाली हलहरूमा। यस्तै सोच्दै गर्दा सिनेमा हेर्न अलिकता ढिलो पो पुगिएछ, ६:३० मा सुरु सिनेमाका लागी म चाहिँ ६:४० मा पुगें। नेपाली टाइमै भयो। अनि भित्र पनि अँध्यारो हलमा खचाखच दर्शक, करिब सबै नेपाली, नेपालकै गुण सिनेमा ग्वार्कोको झल्को दियो। गुण सिनेमा ग्वार्कोमा साथिभाईहरूसँग निश्चल बस्नेतको ‘लुट’ हेर्दाको झझल्को दियो सिड्नीमा। त्यसमा काठमाण्डौंको सडकमा गुडिरहेको टेम्पो पर्दामा देख्दा त्यही सुन्धारा अनि काठमाण्डौं मल अनि आरएनएसी नै अगाडी उभिए जस्तो लागिरहेको थियो। हलको अवस्थाले पनि वास्तविकताको झल्को दिएर हुनसक्छ।
“बुलबुल”को अर्थ एउटा रानी चरी भएजस्तै चलचित्रको नाममा सिधै जोडिने मुख्य पात्र स्वस्तिमा पनि कुनै कुनै पिंजडामा कैद चरी भन्दा कम चित्रण छैन सिनेमामा। श्रीमानसँग ७ वर्ष अघि छुटेर एउटा बच्ची अनि अशक्त ससुराको अभिभावकत्व लिनुपर्ने अवस्था। अनि, कमजोर आर्थिक परिस्थितीका बीच साँघुरो सोचाई रहेको नेपाली समाजसँग जुध्दै र सिंगौरी खेल्दै अगाडी बढीरहेकी युवतीको कथा हो बुलबुल। एउटा यौवना नारीको बुलबुलाउँदा सपना, चाहना र वास्तविकताको त्रिवेणी।

वैदेशिक रोजगारी देशको मुख्य आम्दानीको माध्यम बनेको अवस्थामा रेमिटान्सले सरकारको ढुकुटी भरेपनि जवानी मै पूर्व पश्चिम बनेका कैयौं नवयौवना जोडीको खुशी कसरी रित्तिन्छ भन्ने पर्दामा जसरी देखाईन्छ त्यसले साँच्ची नेपाली परिवार र जोडाको जिवनको कथा बोल्छ। चलचित्र ह्रासोन्मुख नेपाली राज्य संचरना प्रतिको व्यंग्य पनि हो। ‘चोपेन्द्र’को बोलीले हाँसो दिएपनि स्वस्तिमाले “काले एक पटक बुडी भन न” भनेर बरर आँशु झार्दा धेरैलाई आफ्नो आँखा रसाउनबाट रोक्न साँच्चै मुस्किल हैन ‘नामुमकिन’ नै बनाउँछ। सिड्नीमा समेत दर्शकलाई सुँक सुँकाउने बनायो सिनेमाको दृष्यले।
कथामा व्यथाहरू भएपनि फर्मुला अनुसार राखिएका गीतहरूले जुरुक्क त बनाए नै अन्तर्मनलाई पनि छोए। ठेट नेपाली संघर्षमा बनेको ‘टिपिकल’ नेपाली शब्द र शैलीहरू पच्याउँदै संयोजन गरेको हुनाले अभिनय र प्रस्तुति पनि मिलेको देखियो बुलबुलमा। तिन पांग्रे टेम्पु त धेरै चढियो परिवार, प्रेम र संघर्षको तिनपाँग्रामा जिन्दगी गुडाउनेको जिवन भने पहिलो पटक नजिकबाट हेरियो। सिड्नी अनि अष्ट्रेलियामा परिस्थिती फरक तर पढाई, पीआर र परिवारको त्रिखुट्टी सपनालाई पछ्याउँदै संघर्षमा जुटेकाहरूलाई चसक्क दिने रहेछ चलचित्रले। एक पटक हेर्न नछुटाउनुस् है।