अष्ट्रेलिया आउनु अघि बुझ्नु पर्ने कुरा

अष्ट्रेलिया पढ्न आउने र सकेसम्म यतै स्थायी बसोबासको मेलो मिलाउने यो अब आम बात भईसक्यो। नेपालबाट राम्रो तयारी र योजना बनाएर आउनेहरूको लागी अष्ट्रेलिया अवसरको खानी नै हो। पढाई, काम अनि करिअरको योजना बनाएर आउनेहरूले अष्ट्रेलिया आएको केही वर्षमा नै देखिने र सुनिने खालको प्रगती गरेको प्रसस्तै उदाहरण छन्। सँगै, रमाईलो र मस्तीमा भुलेर न अष्ट्रेलियाको पढाई न त पीआर भएर ‘धोती न टोपी’को अवस्थामा सिड्नी, मेलबर्न, क्यानबेरा, तासमानिया धाउनेहरूको भिड पनि कम छैन।

अष्ट्रेलिया अध्ययन प्रष्ट हुनुपर्ने कुराहरु

नेपालमा यतिखेर विद्यार्थी, अभिभावक देखी रंगकर्मी समेतका लागी आकर्षणको थलो हो, अष्ट्रेलिया। यहाँको डलरको नेपाली रूपान्तरण मात्र होईन जिवन जिउने शैलीले पनि नेपालीलाई अष्ट्रेलिया प्रति आकर्षित गरेको पाईन्छ। खुला जिवन अनि काम गरेरै कमाउन सकिने प्रशस्त पैसा, नेपालीलाई के चाहियो त्यो भन्दा। तर यो सबै देखे वा सोचे जस्तो सजिलो भने छैन। अष्ट्रेलियाको हरियो डलर कमाउन अनि समाउन सजिलो छैन। पैसा र पीआरको पछी लाग्दा लाग्दा जिन्दगीका अमुल्य समय नै चट हुन बेर लाग्दैन।

नेपालीहरूका लागी अष्ट्रेलिया स्वप्नलोकका रुपमा खडा भएको अष्ट्रेलिया तिख्खर छ पचाउन सकिएन भने यसले हित मात्र गर्छ भन्न सकिँदैन। यस्तो भएपनि अष्ट्रेलिया जान नचाहने को होला यति खेर नेपालम? जुन ठाम नेपाली यूवाका मनमा यसरी बसेको छ, जहाँ पुगेपछि सामान्य प्रयासमा नै सपना र करिअरको स्तम्भ गाड्न सकिन्छ । तर वास्तविकता काठमाडौंबाट देखिनेभन्दा बिलकुल फरक छ । अष्ट्रेलिया अध्ययनका लागि आउने हो भने नेपालमा रहँदा नै केही विषयमा स्पष्ट हुनु जरुरी हुन्छ। अनि अति नै महत्वपूर्ण हुन्छ अष्ट्रेलियाको बसाईंको र कामको लागी योजना बनाउनु। यदी राम्रोसँग करिअर, आर्थिक र सीपको योजना बनाईएन भने अष्ट्रेलियामा धेरै नै असजिलो भोग्नुपर्ने हुनसक्छ। किनभने अष्ट्रेलिया ‘भाईब्रेण्ट’ देश हो, यसै पनि नेपाल भन्दा चारगुणा छिटो र स्मार्ट छ।

नर्सिङ भनेर पनि हुँदैन, सजिलो छैन अष्ट्रेलियामा पीआर पाउन

सजिलो छैन पैसा अनि पीआर ?

अष्ट्रेलिया यस्तो शैक्षिक गन्तव्य हो जहाँ अर्न्तर्राष्ट्रिय विद्यार्थीले आफ्नो अध्ययन सकेपछिको दुई वर्ष यहीँ बसेर आफ्नो क्षेत्रमा काम गर्ने अवसर पनि भेट्छ, अनि काम गर्दै पढाईको खर्चमा भरथेग पनि गर्न सक्छ। धेरै मुलुकबाट अष्ट्रेलिया अध्ययनका लागि आउनुको कारण यो पनि हो । यतिखेरको अध्यागमन व्यवस्था अनुसार उच्च तह (स्नातक वा स्नातकोत्तर)को अध्ययन सकेको विद्यार्थीले दुई वर्षको ‘पोस्ट स्टडी वर्क’को समय पाउँछ । यो त्यही समय हो जतिखेर पूरै समय काममा लगाएर अध्ययनका लागि गरेको सबै लगानी उठाउन सकिन्छ, यदी सीप र करिअरको योजना अष्ट्रेलियाको अर्थतन्त्र र रोजगार बजार अनुसार बनाईएको छ भने।

त्यसपछी अष्ट्रेलिया आउने कारण मध्येको सबैभन्दा प्रमुख चैं यहाँको पीआर (स्थायी बसोबास) नै हो । विद्यार्थी भिसामा आएकाले यहाँको जनशक्ति मागको अवस्था अनुसार विभिन्न विषय र क्षेत्रमा स्थायी बसोबासको अवसर पाउँछन् । पीआरका लागि प्रयास गर्ने योजना हो र अष्ट्रेलिया सँधैका लागि बसोबासको थलो बनाउने हो भने त्यसको योजना नेपालबाटै बनाउनु पर्छ । आफ्नो अध्ययनको क्षेत्र र रहेको सीपले नै पीआरको अवसर निर्धारण गर्दछ । पीआर लिएर अष्ट्रेलियामा बसोबास गर्ने हो भने यहाँको माग अनुसारको विषय छनौट गर्नुपर्दछ । यतिखेर अष्ट्रेलियामा नर्सिङ, आइटी र अकान्टिङ विषयले अन्तर्राष्ट्रिय विद्यार्थीलाई पीआर मिलाउँदछ ।

पीआरलाई केन्द्रमा राख्ने हो भने अष्ट्रेलिया आइसकेपछि काममा भन्दा पनि धेरै ध्यान पढ्नमा दिनुपर्ने हुन्छ । धेरै समय र पटक–पटक फेल भएर पढिरहन नपाइने भएपनि नेपालबाट आउनेले फेल भएर लामो समय बिताउने सोच्नु भने गलत हुनजान्छ । जति ढिला भयो पीआरका लागि त्यति नै धेरै मुस्किल र तरिका अपनाउनुपर्ने हुन्छ। हरेक वर्ष हुने परिवर्तनहरूले विद्यार्थी र विदेशबाट अष्ट्रेलिया आएर बस्न चाहनेहरुलाई यहाँको पीआर लिन कठिन हुँदै गएको छ।

नेपालबाट अष्ट्रेलिया आउने विद्यार्थीहरू मध्ये कतिपयलाई नेपालको धङधङीले छोडेको हुँदैन, नेपालमा यस्तो गर्थें उस्तो गर्थें भन्ने तर सीप चाहिँ केही नहुनेलाई न पैसा कमाउन सजिलो हुन्छ न त यहाँको पीआर पाउन नै।

अष्ट्रेलिया अध्ययन प्रष्ट हुनुपर्ने कुराहरु

के पढ्ने? कहाँ पढ्ने?

अष्ट्रेलियामा पढ्न भनेर आउनेहरूले धेरै महत्व नदिने तर अति महत्वको विषय हो यो। कुन विषय पढ्ने वा कुन कलेज वा विश्वविद्यालय भन्ने कुरा नेपालमै खास योजना बनाउने वा अनुसन्धान गरेर आउने विद्यार्थीको निक्कै कम छ। धेरै साथीभाई अनि अरू मानिसहरूको अष्ट्रेलियाको आकर्षक जिवनशैली देखेर अष्ट्रेलिया आउने धेरै हुन्छन्, त्यसो त कन्सल्टेन्सीहरूको भर र सुझाव नै शिरोपर गर्नेहरू पनि कम छैनन्। सस्तो कोर्ष वा तल्लो तहको कोर्ष अनि सस्ता कलेज छान्नेहरूलाई सुरूमा सजिलो भएपनि जिन्दगीको सबैभन्दा ठूलो भूल हुन सक्छ। कोर्ष र कलेजले पछीको भविष्य निर्धारण गर्ने भएकाले यसमा सबैभन्दा धेरै ध्यान दिनुपर्छ।

अध्ययन गर्नको लागि विशेष कोर्सहरु बाहेक करिब करिब सबैजसोमा जुनसुकै पृष्ठभूमिका विद्यार्थीले जुनसुकै कोर्स अध्ययन गर्न पाउँछन् । भाषाको न्यूनतम मापदण्ड भने पालना गर्नुपर्छ जस्तो कि स्नातकोत्तरमा अध्ययन गर्नका लागि आइएलटीएसमा कम्तिमा ६.५ ओभरअलमा आएको हुनुपर्छ (यो विश्वविद्यालय र कोर्स अनुसार फरक हुन्छ) । त्यसैले सकेसम्म अष्ट्रेलियामा भविष्य र पीआरको सम्भावना भएको विषय छान्नु उत्तम हुन्छ ।

नेपालका कन्सल्टेन्सीहरुले विद्यार्थीलाई यो विषयमा भिसाको सम्भावना कम छ भनेर आफूलाई धेरै कमिसन दिने र आफू प्रतिनिधि रहेको विश्वविद्यालयमा मात्र अप्लाइ गर्नमा जोड दिन्छन् जुन सरासर गलत हो । जुनसुकै विषयमा अष्ट्रेलिया आएर पछि फेरी यहाँको बजार र पीआरको लिस्ट अनुसार विषय परिवर्तन गर्दा कम्तिमा एक वर्ष र रू २० लाख जति नेपाली रुपैयाँ बर्बाद मात्र हुन्छ । त्यसैले कन्सट्यान्सिले होइन विद्यार्थी आफैले आफू पढ्ने विषय छनौट गर्नुपर्दछ। कलेज र कोर्षको अनुसार संगत र नेटवर्क बन्ने भएकाले तत्कालको कमाई, सीप र भविष्यको योजनालाई यसले निर्धारण गर्छ।

अकाउन्टिङमा पीआर पाउन ९० प्वाइन्ट चाहिने

कस्तो र कसरी गर्ने काम?

नेपालबाट आउनेले नेपालमा काम गरेको अनुभवका आधारमा अष्ट्रेलियामा खुबै ठूलै काम लडाईन्छ, कम्प्युटरमा बसेर डलर छापिन्छ भन्ने सपना साँचिरहेको हुन्छ। तर यहाँको वास्तविकता धेरै फरक छ। विशिष्टीकृत क्षमता र सीप छैन भने सामान्य काम गर्नुपर्छ। त्यो भनेको हाउसकिपिङ, किचन वा सरसफाईका काम पनि हुनसक्छ या नेटवर्क र भाषा अनि ‘आउटगोईङ पर्सनालिटी’ छ भने ‘कस्टमर सर्भिस’का क्षेत्रहरूमा पनि काम गर्न सकिन्छ। अष्ट्रेलियामा राम्रो कामको अवसर छ भने पनि सीप, भाषा र भिजाको कारण धेरैले ‘ब्लु कलर’ काम नै गर्नुपर्ने अवस्था छ। तर, त्यसो भन्दैमा काम ठूलो सानो मान्ने भन्ने चाहिँ हुँदैन। कामको सम्मान गर्ने र छिटोछरितो अनि फरासिलो हुनुहुन्न भने चाहिँ काम पाउन धेरै गाह्रो हुन्छ।

अन्तर्राष्ट्रिय विद्यार्थीका लागि कानुनी र अध्यागमन नियमले नै सातामा २० घण्टा काम गर्ने अनुमति दिन्छ। तर कर र नियमको दायराभन्दा बाहिर गएर पैसा (क्यास इन ह्याण्ड)मा पनि काम गर्न सकिन्छ। पैसा कमाउनु पर्ने दबाबले गर्दा धेरै विद्यार्थीहरुको रोजाइ काम हुने गरेको छ । तर, काम गरेर कमाइने रकमको तुलनामा फेल भएको खण्डमा पुनः भर्ना गर्दा लाग्ने रकम धेरै हुने भएकाले काममा बढी जोड दिनुभन्दा काम र पढाइलाई बराबर प्राथमिकताका साथ अगाडि बढाउने योजना बनाउनु उपयुक्त हो।

अष्ट्रेलियाको पढाइ अन्तर्राष्ट्रिय रुपमा नै मान्यताप्राप्त भएकाले पढाइ सकेर विश्वको कुनै पनि कुनामा गएर काम गर्न तथा करिअर बनाउन सकिन्छ । त्यसैले लाखौं करोडौं खर्चको योजना सहित गरिएको अध्ययनलाई सफलता पूर्वक समाप्त गर्नमा जोड दिनु नै सबैभन्दा उत्तम उपाय हुन्छ । धेरै विद्यार्थीहरु काममा बढी जोड दिने र पढाइमा फेल हुने भएकाले अष्ट्रेलियन अध्यागमनले विद्यार्थीहरुको कक्षामा उपस्थिती दर तथा काम गर्ने प्रवृत्तिमा विशेष अध्ययन गरिरहेको हुन्छ । समय समयमा भिसा नियम पालना नगरेका कारण विद्यार्थिहरुको भिसा क्यान्सिल गरेर घर पठाइदिएको समाचार आइरहेको हुन्छ । समाचारको पात्र नहुनका लागि काम र पढाइमा ब्यालेन्स जरुरी हुन्छ ।

आर्थिक चाँजो पाँजो

अष्ट्रेलिया पढ्न भनेर आउने अनि पैसा कमाउन सकिएन भनेर मानसिक पीडामा बस्ने भनेको मूर्ख कुरा हो। छोराछोरीलाई अष्ट्रेलिया विद्यार्थी भिजामा पढ्न पठाउने, कागजमा सबै खर्च धान्न सक्छु भनेर सही छाप गर्ने अनि छोराछोरी अष्ट्रेलिया पुगेको साता दुईसातामा नै टनाटन डलर पठाओस् भन्ने सोच राख्ने हो भने छोराछोरीलाई अष्ट्रेलिया नपठाएकै बेस। यता पढाई, काम र कमाईको दबाबले मथिंगल नराम्री खलबल्याउन सक्छ। त्यसैले अष्ट्रेलिया ‘स्टुडेन्ट भीजा’मा आउने हो भने कम्तिमा ४०-५० लाख दुई तिन वर्षको लागी लगानी हो भन्ने बुझेर सोही अनुसार योजना बनाएर आउनु वा छोराछोरी पठाउनु सही हुन्छ। नेपाली विद्यार्थीको एउटा ठूलो समस्या भनेको आर्थिक व्यवस्थापन हो अष्ट्रेलियामा। नेपालबाट अष्ट्रेलिया जानुमात्र पर्छ सबै म्यानेज हुन्छ भन्ने सोचेर अष्ट्रेलिया आउँदै हुनुहुन्छ भने गल्ती गर्दै हुनुहुन्छ।

कतिपय त यहाँ रहेका साथीभाई वा आफन्तको सहयोग पाउने आशा पनि राखेका हुन्छन् तर अष्ट्रेलियामा त्यसो हुनु सुखद कल्पना मात्र धेरै मात्रामा हुने गरेको छ । यहाँको सबैभन्दा महत्वको चिज भनेको नै पैसा हो । जुन सापटी वा सहयोगका रुपमा पाउने संभावना निक्कै नै कम हुन्छ । त्यसैले यूनिभर्सिटी तथा कलेजको शुल्क, साथै खाने बस्ने खर्च व्यवस्थाको योजना नेपालबाट नै मिलाउनु उत्तम हुन्छ । कम्तिमा अष्ट्रेलिया आएको एक वा दुई महिनासम्मका लागि आवश्यक पर्ने खर्च करिब पाँच सात हजार लिएर आउनु सबैभन्दा राम्रो र सही निर्णय हुनजान्छ। किनकी काम पाउनका लागि र त्यसमा सेटल हुनका लागि दुई महिना जतिको समय लाग्छ नै, बाँकी रहेको पैसा कलेज, यूनिभर्सिटीको शुल्क तिर्नमा लगाउन सकिन्छ।

नेपालका बैंकबाट शैक्षिक कर्जा लिएर त्यहीँबाट यूनिभर्सिटी तथा कलेजको शुल्क तिर्ने व्यवस्था मिलाउने र यता कमाएको रकम उता कर्जा तिर्नका लागि प्रयोग गर्ने हो भने अष्ट्रेलियामा पढिन्जेल समस्यामा परिँदैन र आर्थिक व्यवस्थापन पनि सहज हुन्छ ।

नेपाली लाईसेन्सको विवरण अनलाईन, नक्कली बनाउनेलाई समस्या

 

अष्ट्रेलिया अध्ययन प्रष्ट हुनुपर्ने कुराहरु

 

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने - NepaliPage

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने

अष्ट्रेलियामा पछिल्लो पटक भएका दुई ठूला डिजीटल सूचना गोपनियता भंग भएका घटनाबाट प्रभावित नेपालीले नयाँ …