विद्यार्थी हुँदै हो बचत गर्ने अष्ट्रेलियामा

धेरैलाई लाग्छ अष्ट्रेलियामा पढाई सकेपछी हो कमाउने र बचत गर्ने भनेको। तर, यो धेरै कम केशमा मात्र सत्य हुनसक्छ। किनभने धेरैको गृहस्थ जीवन पढाई सकेपछी सुरू हुने भएकाले विद्यार्थी हुँदाको बेलामा जस्तो समय, जोश र अवसर पढाई सकेपछी हुँदैन। एक किसिमले पढाई सकेर पीआर लिईसकेपछीको समयमा मानिस सुविधा भोगी हुने बढी हुन्छ। विद्यार्थी भिजामा रहँदा जस्तो दबाब पनि हुँदैन अनि जोश पनि। सुरू सुरूमा विद्यार्थीका रूपमा अष्ट्रेलिया प्रवेश गर्दा यहाँको खर्च र आमदानीसँग पढाईको ‘प्रेसर’लाई तादात्य मिलाउन निक्कै मुस्किल हुन्छ। तर, अष्ट्रेलिया आउँदा राम्रो सुझाव र योजना मिलेको छ, तपाईंलाई सल्लाह दिने साथी र अप्लाई गरेको कन्सल्टेन्सी राम्रो परेको छ भने तपाईंको आर्थिक र करिअरको सफलताले अष्ट्रेलियामा विद्यार्थी भिजामा रहँदा नै आकार लिन सुरू गर्छ।

हैन पीआर पाएपछी त ‘लाईफ रक्स’ भन्ने खालको स्कुलिङ मिल्यो कन्सल्टेन्सी र साथिभाईबाट भने चाहिँ मजधारमा पर्न सकिन्छ। राम्रो संगत, सल्लाह र कन्सल्टेन्सी मिलेको खण्डमा बने अष्ट्रेलियामा पढ्दा पढ्दै राम्रो दाम सँगै  काम र करिअर पनि बनाउन सकिन्छ। काम र दाम भएपछी घर वा बिजनेस भनेको त्यति धेरै मुस्किलको कुरा होईन। लगाव र व्यवस्थापन भयो भने तपाईंले को आवश्यकता पर्दछ। भविष्यको बचतको लागी केही कुरामा ‘कम्रोमाईज’ अर्थात सम्झौता पनि गर्नुपर्छ।

यो पनि पढ्नुस: अष्ट्रेलियामा यसरी जोगाउन सक्छन् विद्यार्थीले पैसा

हुन त बचत भनेको आमदानी र खर्चको जोड घटाउबाट शेष हुन आउने अंक  नै  हो। शेष धेरै बनाउनका लागी दुईवटा मात्र कुरा गर्न सकिन्छ पहिलो हो आमदानी बढाउने र दोस्रो हो खर्च घटाउने। आमदानी बढाउनका लागी आफ्नो शीपमा सुधार गर्नु साथै राम्रो ‘पे’ अर्थात् कमाई हुने काम गर्नु आवश्यक हुन्छ। (यहाँबाट हेर्नुस् तपाईंले राम्रो कमाई हुने कामहरूको अवसर भेट्न सक्नुहुन्छ) अर्को खर्च जोगाउने भनेको हजुरबाको पालामा जस्तो पेट वा गाँस काटेर जोगाउने भनेको पनि होईन। अष्ट्रेलियामा राम्रै दैनिकी बिताएर पनि राम्रो बचत गर्न सकिन्छ। खान र लाउनमा पोषण र फेसनलाई ‘ब्यालेन्स’ गर्दै आमदानीबाट ठिक ठिकैको हिस्सा बचतमा राख्दै जानु सबैभन्दा राम्रो हो। विद्यार्थीहरूले दैनिक खर्चको लागी एउटा, कलेज ‘फि’का लागी अर्को र भविष्यको लागी  बचत गर्दै जानुपर्छ।

राम्रै बचत गर्ने विद्यार्थी नि छन्

अष्ट्रेलियामा भएका धेरै विद्यार्थीको समाचार र कुराहरू भत्के बिग्रेपछी मात्र ‘एक कान दुई कान, मैदान’ हुन्छ। थोरै नराम्रा कुराहरूको चर्को आवाजमा सुनिन्छ तर राम्रो गरिरहेकाहरूको बारेमा भने निक्कै कम सुनिन्छ। यसो हुनाको कारण राम्रो गर्न चाहने र गर्नेहरू आफ्नै काममा व्यस्त हुने र धेरै हल्ला नगर्ने भएकाले पनि हो। हुन पनि मानिस समाजमा र सार्वजनिक रूपमा समस्या पर्दा नै खुल्ने हो, त्यसैले धेरैले राम्रो गरेको चर्चामा आउँदैन केहीले दुख पाएको समाचार बन्छ। राम्रै गर्नेहरू मध्ये सन् २०१८ मा नेपालबाट ‘मास्टर्स बाई रिसर्च’ गर्न भनेर सिड्नी झरेका एक नेपाली दम्पत्ति उदाहरणिय लाग्छ मलाई। ‘मास्टर्स बाई रिसर्च’ गर्ने विद्यार्थी र ‘डिपेन्डेन्ट’ दुवैले ‘फुल टाइम’ काम गर्न पाउने भएकाले आउना साथ अष्ट्रेलियाको बजार र नेपालीहरूले राम्रै अवसर पाईरेको क्षेत्रमा काममा लागे। पढाईमा पनि उस्तै कस्सिए अनि काममा पनि। यतिखेर पढाई सकेर बसेका उनीहरूलाई पीआर नपाईएला कि भन्ने तनाव नि छैन, काम नहोला कि भन्ने नि छैन। भन्छन्, ‘पढ्दै गर्दा हैसियत अनुसारको राम्रै  बचत पनि गरिसकेको छु, नेपालमा पनि लगानी गरिरहेको भएकाले भोली नेपाल जाँदा पनि राम्रै हुन्छ।’ पढाई पछि को ‘पोस्ट स्टडी वर्क’को समयमा काम गर्ने र अष्ट्रेलियाको पीआर पाउने सम्भावना बढाउने योजना छ तर भन्छन्, ‘पीआर लिएर बस्नुपर्छ भन्ने छैन, टीआरमा बस्दा अरू दुई करोड जति जम्मा पार्न सकें भने नेपाल गएरै जितिन्छ यहाँ बस्दा भन्दा।’

बुटवलबाट एकाउन्टिंगमा मास्टर्स गर्न आएका अर्का साथी छन्, एक्लै आएर सिड्नीमा पढाई र काममा खुबै मेहनत गरेका। पढाई सकियो टिआर पनि सकिन लाग्यो सोचे जस्तै आर्थिक बचत पनि गरे तर पीआर पाउन मुस्किल देखेर ‘रिजनल’ जाने योजना छ उनको। ‘रिजनल गएर पीआर नपाउँदा सम्मलाई धानिने मात्र हैन पीआर पछीको योजनाको लागी पनि बचत राम्रै भएकाले तनाब छैन, तर टाईम लाग्ने भयो यो देशमा’  भन्ने उनी थप्छन्, ‘अष्ट्रेलियामा गर्ने भनेको आएको सुरूको दुईचार वर्ष रहेछ जोश र आँट हुने अनि जता पनि काम गर्न सकिने, विस्तारै मन मर्दो रहेछ।’ भन्छन् नि पहिलेको तितो पछीको मिठो। त्यस्तै ठ्याक्क मिल्ने अर्का छन् सिड्नी मै, डिप्लोमा पढ्न १८ वर्षको उमेरमै आएका एक भाई। पढ्दा पढ्दै किचनमा लागे पीआरको लागी सजिलो हुन्छ भनेर किचन ह्याण्डबाट सुरू गरेका उनले सेफको लागी ‘आरएसएमएस’को अवसर भेटे। अनि दुई तीन वर्ष ‘रिजनल’मा काम गरेपछी पीआर बोकेर फेरी सिड्नीको शहरमा आफ्नै केही गर्छु भनेर लागेका उनी अहिले राम्रै नाम दाम भएकामा गनिन्छन्। भन्छन्, ‘विद्यार्थी बेलामा नै पछी सम्म हुने गरेर सोच्न सकिएन र खट्न सकिएन खटिएन भने पछी गएर त्यसरी लाग्न सकिन्न जसरी विद्यार्थी बेलामा सकिन्छ।’ आफ्नै अनुभव जोडेर भन्छन्, ‘पढाई र पैसा सँगै कमाउने हो अष्ट्रेलियामा माईग्रेन्टले।’

यहाँबाट हेर्नुस् अष्ट्रेलियामा कसरी राम्रो पे सहितको कामहरू पाउन सकिन्छ, लेख र एजेन्सीहरूको सम्पर्क

 विद्यार्थीहुँदैमा हो बचत गर्ने अष्ट्रेलियामा - NepaliPage
अष्ट्रेलियामा विद्यार्थी भिजामा आएका एक नेपाली विद्यार्थीकालमा गरेको बचत। पछिल्ला केही वर्ष देखी उनी अष्ट्रेलियामा आफ्नै व्यवसाय गरिरहेका छन्। तस्वीर उनैबाट प्राप्त, नेपालीपेजको लिखित स्वीकृती बिना प्रयोग गर्न निषेध

 

कसरी गर्ने बचत?

विद्यार्थी वा नवप्रवेशीले आफ्नो नियमित र सिमित कमाईबाट नै राम्रो बचत गर्न सक्ने सजिलो र मुख्य तरिका भनेको ‘फजुल खर्च’ कम गर्नु साथै विचार गरेर खर्च गर्नु हो। ‘मौकामा हिरा फोड्नु, बेमौकामा कौडी नछोड्नु’ भनेर बुढापाकाले त्यसै भनेका हैनन्। आफूसँग उपलब्ध आर्थिक श्रोतको सदुपयोग गर्नु नै वास्तविक बचत हो।

बचत गर्ने अहिले नै हो - NepaliPage

आफ्नो बचत गर्ने बानी बनाउन बचतका लागी कारण निर्धारण गर्नुस्, हुनसक्छ घर वा गाडी किन्नको लागी म यति सयममा यति रकम जम्मा गर्छु भनेर राख्न सकिन्छ। बच्चाहरूको लागी भनेर पनि बचत गर्न सकिन्छ त्यसो त अर्को वर्षमा म यो देश घुम्छु भनेर पनि त्यसकालाई बचत गर्दै जान सकिन्छ। बचतका लागी तपाईं निम्न तरिका अपनाउन सक्नुहुन्छ:

आवश्यकता र खर्चको सूचि अनुसार चल्नुस्

आफ्नो आवश्यकता र त्यसका लागी हुने खर्चको एउटा सूचि बनाउनुस्। यसरी सूचि बनाएपछी कुन कुन कुरा गर्दा वा नगर्दाको फरक र प्राथमिकता तोकेर मात्र खर्च गर्नुस्। हुनसक्छ तपाईं नयाँ आईफोन किन्ने सोचमा हुनुहुन्छ अपग्रेडका लागी, तर भईरहेकैले राम्रो काम गरिरहेको छ भने नयाँ लिनु प्राथमिकताको विषय नहोला। हैन अष्ट्रेलियामा बसेपछी मोज गर्नुपर्छ भन्ने सोच राख्नुहुन्छ भने अरूले गरेको बचत र हासिल गरेको आर्थिक उन्नतीबाट नचिढिनुस्।

कम फाईदा दिने वा बन्द गर्दा पनि फरक नपर्ने त्यस्ता खर्चको शीर्षक चुरोट, मदिरापान, पार्टी वा सिनेमा आदी हुनसक्छन्। जसबाट तपाईंलाई कति र के कुरामा फाईदा भईरहेको छ? त्यसको विश्लेषण गर्नुस्।

यहाँ क्लिक गरेर पढ्नुस् कसरी आफ्नो फजुल खर्च बन्द गरि साताको २०० डलर जति खर्च मात्र गरेर ब्रिजबेनमा २६ वर्षको युवकले घर किन्न लागिरहेका छन्

नेपाली नै भनेर जोड नि नदिनुस्

धेरै नेपाली विद्यार्थी अष्ट्रेलियामा पनि उही नेपालकै स्वाद र शैली खोज्छन्। सबै नेपालको जस्तै चाहिने हो भने अष्ट्रेलिया आउनुको कुनै कारण नै रहेन नि। नेपालकै जस्तो मम, चाउमिन अनि नेपालकै ‘ग्रोसरी’ अनि नेपाली कै पसल भन्नुहुन्छ भने चाहिँ अष्ट्रेलियामा पैसा जोगाउन निक्कै गाह्रो पर्नसक्छ। नेपाली रेस्टुरेन्ट र खानालाई दैनिक गराउँदा आफूले खाईरहेको खानेकुराको क्यालोरी र ईनर्जी मात्र होईन मुल्य र तुलना पनि गर्नुपर्छ। कतिपय अवस्थामा हामी महँगो तिरीरहेका पनि हुन्छौं जसले बचतमा बंचरो चलाउँछ। धेरै उपभोक्ता अध्ययनहरूले ‘अल्दी’लाई ‘उलिज’ भन्दा सस्तो बताएको पाईन्छ त्यसैले अघिल्लोपटक सामान किन्न जाँदा तपाईंले सँधै सामान किन्ने नेपाली ग्रोसरीको मूल्यसँग ‘कोल्स’ वा ‘उलिज’को ‘ईण्डियन’ ‘सेक्सन’मा रहेका उही सामानको मूल्यसँग तुलना गर्नुस् जता सस्तो भेट्नुहुन्छ त्यतैको किन्नुस्। नेपालमा जस्तो ‘पसलमा छिरिहालियो नकिनी के फर्कनु?’ भन्ने सोच राख्नुभयो भने तपाईं जहिले पनि महँगोमा पर्नुहुन्छ। विचार गर्नुस् यदी ‘कोल्स’ र ‘उलिज’ सँगै हुँदा र कुनै एउटा मात्र भएको ठाउँमा मुल्यको फरक धेरै हुन्छ। विचारै गर्न मनलाग्यो भने ग्रानभिल र ओबनको ‘उलिज’को मूल्य तुलना गर्नुस् कुनै दिन।

 

छुटको सक्दो फाइदा लिनुस्

तपाईंलाई चाहिएको सामान बजारमा ‘सेल’ लागेर ठूलो छुटमा पो उपलब्ध छ कि? त हामीलाई छुटको र सस्तो भनेको कमसल हो कि? भन्ने भ्रम परिरहेको हुन्छ। अष्ट्रेलियाको बजारमा व्यापारीले साना साना अवसरलाई छोपेर छुट दिएर सामान बेचाउन खोज्छन्। कपडा देखी विद्युतिय र घरायसी सामान सबै समय समयमा छुटमा उपलब्ध हुन्छन्। त्यसमा पनि ‘फ्याक्ट्री डाईरेक्ट आउटलेट’हरू पनि सस्तो र छुटमा सामान पाउने माध्यम हुन्। कतिपय सामान जस्तै टिभी, फ्रिजहरू त ‘फ्याक्ट्री सेकेण्ड ह्याण्ड’ समेत लिन सकिन्छ जसमा गुणस्तरमा ‘कम्प्रोमाइज’ नगरी मुल्यमा राम्रै छुट लिन सकिन्छ। हरेक वर्षको हरेक ‘क्वार्टर’मा छुटको घोषणा भईरहेको हुन्छ त्यसलाई छोप्ने हो भने उही सामान वा कपडामा ४० देखी ५० प्रतिशत सम्म पैसाको बचत हुन्छ।

यो पनि पढ्नुस्: यस्तो छ नेपाली विद्यार्थीको कमाई र बचतको अवस्था अष्ट्रेलियामा

अनलाईन खरिद

सामानहरू पसलमा गएर किन्दा भन्दा अनलाईन किन्दा सस्तो पर्दछन्। त्यसको कारण चाहीँ बिक्रेतालाई पनि खर्च कम हुने भएकाले हो। पसलमा गएर किन्दा भन्दा ‘फरनिचर्स् देखी विद्युतिय सामान २५ देखी ३० प्रतिशत सम्म सस्तो पर्न सक्छ। यस्तोमा सित्तैमा ‘होम डेलिभरी’ गरिदिने सुविधा समेत हुन्छ त्यसलाई नि ख्याल गर्नुपर्छ। अनलाईन किन्ने भन्दै फेसबुकमा राखिएका सस्ता  मूल्य भन्दै ठूला ब्राण्डेड पसलको मूल्यसँग दाँजेर राखिएका सामान किन्दा भने ध्यान दिनुहोला। ठग्ने र कमसल सामान बेच्नेहरूको पनि कम बिगबिगी छैन।

क्यास तिर्नुस्

घरायसी अरू सामान देखी भान्साका सामान किन्न बजार जाँदै हुनुहुन्छ भने जहिले पनि पैसा लिएर निस्कनुस्। नत्र तपाईंलाई चाहिएको सामानहरू किन्दाका पसल पिच्छे तपाईंले क्रेडिट वा डेबिट कार्ड प्रयोग गर्दा कम्तिमा १० डलरको सामान किन्नुपर्दा आवश्यकता भन्दा केही बढी सामान किन्नुपर्छ वा खर्च गर्नुपर्छ।

आफ्नो सिप, घरको खाना

पैसा तिरेर लिने विभिन्न सेवाहरू घरमा आफैले पनि गर्न सकिन्छ, जसले गर्दा राम्रो पैसाको बचत हुन्छ भने आफ्नो शीप र समयको समेत सदुपयोग हुन्छ। नियमित बाहिर खाजा खानु भन्दा कहिले काहीँ मात्र बाहिर खाने हो भने धेरै नै बचत हुन्छ। यसले स्वास्थ्यमा पनि धेरै राम्रो गर्छ। जस्तो कि बाहिर रेष्टुरेन्टमा १० डल्ला म:मलाई १६ डलर पर्छ भने घरमा बनाउने हो भने १६ डलरमा १० प्लेट म:म बनाउन सकिन्छ। घरबाटै खाजा बोकेर लैजाने त अष्ट्रेलियाको चलन नै भईहाल्यो। यसरी नै गाडी घुने, दाह्री काट्ने जस्ता कामहरू घरमा नै गर्दा त्यसले पैसा, समयको बचत हुन्छ।

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

हुण्डी गर्नेलाई हुनसक्छ कारवाही, बैंकिङ च्यानलबाट पैसा पठाउन राजदूतको अनुरोध - NepaliPage

हुण्डी गर्नेलाई हुनसक्छ कारवाही, बैंकिङ च्यानलबाट पैसा पठाउन राजदूतको अनुरोध

अष्ट्रेलियामा बस्ने नेपालीहरूले बैंकिङ र वैध माध्यमबाट भन्दा बाहिरबाट नेपाल पैसा पठाउने गरेको कुरा कसैबाट …