न्यूसाउथवेल्समा आजदेखी मोबाईल क्यामेरा, गाडी चलाउँदा फोन उठाउनेलाई ठूलो जरिवाना

सिड्नी तथा न्यूसाउथवेल्सका अन्य शहरहरूमा बस्नुहुन्छ र गाडी चलाउँदै फोनमा कुरा गर्ने बानी छ भने आजै देखी थप सावधान हुनुस्। आज डिसेम्बर १, आजदेखी अष्ट्रेलियाको न्यूसाउथवेल्स राज्यमा गाडी चलाउँदा मोबाईल फोन चलाउनेको फोटो खिच्ने क्षमता भएका क्यामेराहरू संचालनमा आएका छन्। राज्य सरकारले न्यूसाउथवेल्सको व्यस्त सडक तथा शहरी क्षेत्रमा सवारीसँगै मोबाईल चलाउनेहरूलाई निरूत्साहित गर्नको लागी आधुनिक क्यामेराहरू विभिन्न ४५ स्थानमा जडान गरेर संचालनमा ल्याएको हो। अष्ट्रेलियामा सवारी चालकले सवारी चलाईरहँदा फोन हातमा लिएर प्रयोग गर्न पाउँदैनन् चाहे ट्राफिक बत्तिमा रोकिएको अवस्थामा किन नहोस्। सवारीसँगै फोन चलाउँदा सडक र सवारीबाट ध्यान हटेर ठूलो दूर्घटना हुनसक्छ। जसले आफू र अरू सडक प्रयोगकर्तालाई समेत खतरामा पार्छ। न्यूसाउथवेल्समा हरेक वर्ष सयौंले सडक दूर्घटनामा ज्यान गुमाउने गरेका छन्।

 

यद्यपी सवारी चलाउँदा ‘ब्लुटुथ’, कारमा जडान गरिएका तार वा फोन नछोईकन फोनमा कुराकानी गर्ने प्रविधि प्रयोग गरेर फोन चलाउन भने छुट छ। तर सवारी चलाउँदा ‘मेसेज’ पठाउने, फेसबुक वा अरू सामाजिक संजाल चलाउने गर्न भने पाईंदैन। धेरै सवारी चालकहरूले हातमा नै फोन लिएर मेसेज आदान प्रदान गर्ने, सामाजिक संजालमा प्रत्यक्ष भिडियो प्रशारण गर्ने गरेको पाईन्छ। जसको कारण सवारीको गतिको तिब्रता, अन्य सवारी साधनको उपस्थितीबाट ध्यान हट्छ साथै आफ्नो सवारी माथिको नियन्त्रण गुमाएर दुर्घटना हुने सम्भावना बढी हुन्छ। पछिल्ला तथ्यांकहरूले पनि भएका सडक दुर्घटनाहरू मध्ये चालकले मोबाईल चलाएका कारण भएका दुर्घटना धेरै खतरनाक र ज्यानै जाने किसिमको भएको देखाएको छ। यसरी दूर्घटनामा पर्ने नेपालीको संख्या पनि उल्लेख्य छ। सडक दुर्घटनामा गत वर्ष र यो वर्ष गरेर करिब एक दर्जन नेपालीले ज्यान गुमाउने साथै अंगभंग हुने अवस्था भोगेका छन्। यो वर्ष मात्र न्यूसाउथवेल्समा सडक दुर्घटनामा ३२९ भन्दा बढीले ज्यान गुमाईसकेका छन्।

यो पनि पढ्नुस्: नेपाली लाइसेन्सले अष्ट्रेलियामा गाडी चलाउनु हुन्छ? यी कुरा बुझ्नुस् पहिले

सवारी चलाउँदा चालकले मोबाईल फोन चलाएको अवस्थामा गाडीको नम्बर प्लेट सहित मोबाईल चलाईरहेको फोटो खिच्ने क्यामेरा प्रविधिको प्रयोगको गत जनवरी देखी जुन सम्म परिक्षण गरेपछी न्यूसाउथवेल्स सरकारले आज देखी पूर्ण प्रयोगमा ल्याउन लागेको हो। परिक्षण अवधिका एकलाख भन्दा बढी सवारीचालकको मोबाईल चलाउँदै सवारी हाँकेको अवस्थामा भेटिएका थिए। यस्ता क्यामेरा २४सै घण्टा र जुनसुकै मौसममा पनि सवारी चलाउँदै मोबाईल हातमा वा काँधमा च्याप्नेहरूको फोटो खिच्न सक्ने क्षमताका छन्। क्यामेरा संचालनमा आएको पहिलो तिन महिनामा सवारी चलाउँदै मोबाईल चलाउनेहरूको फोटो सहित नसिहत पत्रमात्र पठाईनेछ। तिन महिना पछी भने यसरी सवारी चलाउँदा मोबाईल चलाउने सवारी चालकलाई पाँच ‘डिमेरिट प्वाईन्टस्’का साथ ३४४ डलर जरिवाना हुनेछ। यदी विद्यालय क्षेत्रमा सवारी चलाउँदाको अवस्थामा भए ४५७ डलर जरिवाना हुनेछ। ‘डबल डिमेरिटस्’ समायावधीमा मोबाईल चलाउँदै गरेको अवस्थामा सवारी गुडाउनेलाई १० ‘डिमेरिटस् प्वाईन्ट’ मिल्नेछ। यस्तो क्यामेरा भएको ठाउँ अहिले स्पिड क्यामेरा वा रेडलाईट क्यामेरा भएकोमा जस्तो पहिले नै सूचना दिएर सतर्क गराउने खालको भने हुने छैन।

 

के के गर्न पाईंदैन सवारी चलाउँदा?

 

मोबाईलका भिडियोकल, मेसेज, ईमेल, सामाजिक संजाल, ईन्टरनेट ब्राउजिङ साथै क्यामेराको प्रयोग सवारी चलाउँदा गर्न पाईंदैन। यसबाहेक सवारी चलाएको अवस्थामा मोबाईल फोन छुन, प्रयोग गर्न र हातमा लिन पाईंदैन। यस्ता गतिविधी गर्नुपरेको अवस्थामा सवारीलाई सुरक्षित स्थलमा रोकेर स्टार्ट बन्द गर्नुपर्छ।

यदी डिजिटल लाईसेन्स प्रयोग गर्नुहुन्छ वा प्रहरीले मापसे वा लागुपदार्थ प्रयोग गरे नगरेको जाँच गरिरहेको अवस्थामा डिजिटल लाईसेन्स देखाउन प्रहरीले अनुमति दिएको अवस्थामा बाहेक मोबाईल चलाउँदा जरिवानामा परिन्छ। प्रहरीले डिजिटल लाईसेन्स देखाउन अनुमति दिएपछी मात्र मोबाईल चलाउन पाईन्छ।

भिडियोमा हेर्नुस नयाँ नियमका विविध पक्षहरू:

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

हुण्डी गर्नेलाई हुनसक्छ कारवाही, बैंकिङ च्यानलबाट पैसा पठाउन राजदूतको अनुरोध - NepaliPage

हुण्डी गर्नेलाई हुनसक्छ कारवाही, बैंकिङ च्यानलबाट पैसा पठाउन राजदूतको अनुरोध

अष्ट्रेलियामा बस्ने नेपालीहरूले बैंकिङ र वैध माध्यमबाट भन्दा बाहिरबाट नेपाल पैसा पठाउने गरेको कुरा कसैबाट …