एज्ड केयर, डिज्याबिलीटी, हेल्थ केयर र फार्ममा काम गर्ने विद्यार्थीहरूले पढाईसँगै पाक्षिक ४० घण्टा भन्दा बढी काम गरेपनि भिजा क्यान्सिल नगरिने!
यो पनि पढ्नुस्: अष्ट्रेलियाबाट नेपाल पैसा पठाउँदा ध्यान दिनु पर्ने कुराहरु
कोरोनाको प्रभाव फेरी बढ्दै जाँदा अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई विद्यार्थी भिसामा तोकिएको सिमा भन्दा बढी समय काम गर्न दिने भएको छ। कोरोनाका कारण अन्य देशसँगको आवागमनको सम्बन्ध बिच्छेद भएको अवस्थामा अष्ट्रेलियाका प्रमुख तथा अत्यावश्यक क्षेत्रमा कामदारको अभाव हुन थालेपछी अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भिजाको सिमा भन्दा बढी काम गर्न दिने भएको हो। कोरोना भाईरसका कारण अष्ट्रेलियाको स्वास्थ्य, वृध्दवृध्दा तथा अपांगता भएकाहरूको सेवा र कृषिका क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई पाक्षिक ४० घण्टा भन्दा धेरै समय काम गर्न दिने निर्णय सरकारले गरेको हो।
सामान्यत, विद्यार्थी भिजामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीले भिजाको सर्त अनुसार पढाई चलिरहेको समयमा पाक्षिक ४० घण्टा भन्दा धेरै काम गर्न पाउँदैनन्। तर सरकारले हाल गरेको निर्णय अनुसार वृद्धवृद्धा सेवाको क्षेत्र (एज्ड केयर) मा काम गर्नेहरूले भने भिजाले सिमित गरेको समय भन्दा बढी समय पनि काम गर्न सक्नेछन्। त्यसै गरेर अपांगता भएकाहरूको सेवाको क्षेत्रमा काम गर्नेहरू जसले ‘राष्ट्रिय अपांगता बीमा कार्यक्रम’ (एनडीआईएस)मा दर्ता भएर सेवा दिएका संस्थाहरूमा काम गर्नेहरूले पनि भिजामा तोकिएको सर्त भन्दा धेरै समय काम गर्न पाउने छन्। साथसाथै नर्सिङ तथा स्वास्थ्य सेवा सम्बन्धि विषय पढिरहेका र अष्ट्रेलियाको स्वास्थ्य सेवालाई कोरोनाको समयमा चुस्त दूरूस्त राख्नको लागी काम गरिरहेकाहरूले पनि भिजाको सिमा भन्दा बाहिर गएर धेरै समय काम गरेमा पनि सरकारले कुनै कारवाही नगर्ने लचिलो नीति लिएको छ।
यो पनि पढ्नुस्: अष्ट्रेलियामा आर्थिक अपराधमा पक्राउ र जेल पर्दै नेपाली विद्यार्थी
अष्ट्रेलियाले अघि सारेको लचिलो नीतिले कृषि तथा वागबानीका क्षेत्रमा काम गर्नेहरूको लागी समेत काम गर्ने समय थप गरिएको छ। यतिखेर अष्ट्रेलियामा कृषिका क्षेत्रमा कामदारको ठूलो माग छ तर माग अनुसार कामदारको आपूर्ति हुन सकिरहेको छैन। शहरमा बसोबास गर्ने अष्ट्रेलियनहरूलाई सरकारले ग्रामिण क्षेत्रमा काम गर्न जानको लागी छ हजार डलरको ‘रिलोकेसन’ सहयोग गर्ने भने पनि कामदार उपलब्धतामा खास उपलब्धि हासिल हुन सकेको छैन।
ग्रामिण क्षेत्रमा कामदार अभाव चलिरहेको छ भने शहरी क्षेत्रमा समेत अत्यावश्यक सेवाको क्षेत्रमा कामदार पाउन मुस्किल छ। अस्थायी भिजामा अष्ट्रेलिया आउने र यहाँको ग्रामिण क्षेत्र घुम्दै कृषि फारममा काम गर्ने यूरोप अमेरिका लगायतका क्षेत्रबाट आउनेको संख्या नभएपछी यो वर्ष अष्ट्रेलियाले कामदारको समेत संकट बेहोरिरहेको छ। यस्तो अवस्थामा यहाँका उद्योग तथा व्यवसायको क्षमता र अर्थतन्त्र भरथेग गर्न पनि सरकारको यसखालको लचकता आवश्यक परेको आवाजलाई सम्बोधन गर्न यस्तो कदम चालिएको अष्ट्रेलियाका प्रमुख समाचार माध्यमहरूले उल्लेख गरेका छन्।
यसविषयमा विस्तृत विवरण जारी गर्दै अष्ट्रेलियाको अध्यागमन विभाग ‘होम अफेयर्स’ले विभाग र अष्ट्रेलियायी सिमा बलले विद्यार्थीको काम सम्बन्धमा गरिएको लचक व्यवस्थाको विस्तृत विवरणसँगै रोजगारदाताले गर्नुपर्ने विषयको सूचीसाथै विद्यार्थीहरूले बढी काम गरेको अवस्थामा भिजा क्यान्सिल नगर्ने कुरा उल्लेख गरेको छ।
यस व्यवस्थाको विस्तृत विवरण यहाँबाट बुझ्नुस् (यहाँ क्लिक गर्नुस्)
विभागले यसखालको व्यवस्था समय अनुसार परिवर्तन गरिने पनि जनाएको छ।