मलाई वास्तवमा एन.आर.एन. सँघप्रति औधी दया पलाएको छ ।
हेरौं न, एक दशकअघिसम्म त्यत्रो तामझाम थियो, एन.आर.एन. सँघको । कुनै बडेमानको मल्टीनेशनल कम्पनी जसको कुनै ब्यापारिक स्वार्थ छैन, देशमा आएर उलटपुलट गरिदिन्छ झैं चर्चा भयो । संसारभरका नेपालीले कमाएका डलर, युरो, येन र पाउन्ड अब नेपालमा ओइरिन्छ, संसारभरका नेपालीको सीप बोइङ चढेर आउँछ, ठूलो उथलपुथल हुन्छ, यस्तै उस्तै बतास चल्यो । त्यसताका एन.आर.एन. सँघका अध्यक्षको हैसियत भारतीय र अमेरिकी राजदूतको भन्दा कम थिएन । पद भन्दा पदको मर्यादा ठूलो । मन्त्रीको त कुरै छोडीदिउँ । यी ६-६ महिनामा बदलिने मन्त्रीहरू महत्वपूर्ण अप्वोइन्टमन्ट रद्द गरेर एन.आर.एन. सँघको अध्यक्ष उपस्थित हुने कार्यक्रममा पुग्थे । एन.आर.एन. सँघको अध्यक्षसँग चिनजान र हिमचिम बढाउन लालयीत हुन्थे । आखिर बतास नचलिकन हात हल्लिंदैन, बतास जता चल्यो झारपातहरू त्यतै-त्यतै पिछा लाग्ने न हो!
तर यी सब मन्त्रीहरू जिल्लिए । जिल्लिएका मात्र होइनन्, बतास उल्टो दिशामा चल्न थाल्यो । एन.आर.एन. सँघको अध्यक्ष उपस्थित हुने कार्यक्रममा पुग्न लालयीत हुने मन्त्री हिजोआज एन.आर.एन. सँघको अध्यक्षलाई फन्फन्ती घुमाउँछन् । मन्त्रालय बोलाउँछन र भन्छन्- तपाईको सँस्था सही ढंगले चलेन ।
अनि एन.आर.एन. सँघको अध्यक्ष पहिले गर्जिन्थे, अहिले मुसा झैं चुँ-चुँ गर्छन् । उनि बोल्ने त उसरी नै हो तर अन्दाज फेरिएको छ । उनको बोली त्यही हो तर वजन फेरिएको छ । एन.आर.एन. सँघको अध्यक्षको हैसियत आवाज बुलन्द गर्ने महाशयबाट ‘जदौ’ गर्ने मनुवामा घटुवा भएको छ । हिजोआज उनीहरू परराष्ट्र मन्त्रालयतिर ‘धाउँछन्’ र एउटा शाखा अधिकृतलाई भेटेर कागजात ठिक पार्न अनुरोध गर्छन् । आजभोली उनीहरू परराष्ट्र मन्त्रालयको प्रतिक्षालयमा मन्त्रीलाई कुर्छन् र शाखा अधिकृतले मन्त्रीज्यु ब्यस्त हुनुहुन्छ भनेर बिल्ला गर्छन् ।
त्यसैले मलाई वास्तवमै एन.आर.एन. सँघप्रति लास्टै दया पलाएको छ ।
मैले यो कुरा पोहोर-परार पनि भन्दै आएको हो । भन्नलाई त!
तर धेरै उत्ताउलिनेहरूले एउटा ब्लगरको कुरा कहाँ सुन्छन् र? उनीहरू सुटेडबुटेड अभियन्ता, म सामान्य ब्लगर! त्यसैले मेरो कुरा सुनेनन् भन्ने दुःखेसो होइन । मलाई त त्यत्रो शान हुनेको मान गिरेकोमा दया लागेको मात्र ।
आज एन.आर.एन. सँघको नयाँ निर्णय सुनाउँदै एक मित्रले फोन गरे । उनको फोन उठाउनेबित्तिकै, उनको कुरा सुन्नेबित्तिकै मलाई दया लाग्यो फेरि । केन्द्रिय समिती बैठकले पूर्व अध्यक्ष शेष घलेलाई प्रमुख संरक्षकबाट हटाउने रे भन्ने हल्ला थियो । निर्णय आएछ ३६० डिग्री उल्टो । केन्द्रिय समिती बैठकले संघका प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा संस्थापक अध्यक्ष उपेन्द्र महतो र वर्तमान अध्यक्ष कुमार पन्त सहित संरक्षक परिषदका सदस्यहरु जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट र रामप्रताप थापा सहितको उच्चस्तरिय समिती बनाएछ । यो उच्चस्तरिय समिती गठनसँगै निर्वाचनको पहल कसरी गर्ने र कहिले गर्ने भन्ने बारेमा संभावित योजना अघि सारिएको छ । जसअनुसार २८ फेब्रुअरी २०२२ सम्ममा संघको दशौँ महाधिवेशन तथा निस्पक्ष चुनाव सम्पन्न गर्ने भनिएको छ ।
अहिले एन.आर.एन. सँघले के गर्छ भन्दा पनि यो संस्थाभित्रको झगडा कसरी पार लाग्छ भन्ने कुरामै सबैको बलबुता लागिरहेको छ । एक हिसाबले सोँच्दा आन्तरिक विवाद साम्य पारेर यसको भविष्य कायम राख्नै पर्यो । संस्था बचाउनै पर्यो । कुरा त ठिकै हो । तर मलाई भने यो संस्थाको औधी दया पलाएको छ ।
यो संस्थाका बह्मा, विष्णु, महेश्वर भनेकाहरूलाई उच्चस्तरिय समितीमा राखेर प्रयास हुँदैछ । अर्थात एनआरएन संघका एक्काहरूलाई हारगुहार गरिएको छ ।
यो संस्थाका ब्रह्मा, विष्णु, महेश्वर भनिएकाहरू तिनै हुन् जसले बिगतमा देउतालाई पनि ‘तथास्तु’ भने र दानवहरूलाई पनि ‘तथास्तु’ नै भने । अहिले यी देवता र दानवको युध्दबाट कुन कालकट विष निकालेर कसले पिउने हो?
अब तपाईं भन्नु होला एन.आर.एन. सँघमा कुन हो दानव? बद्री केसी कि कुल आचार्य? वा दुबै!
कुरा व्यक्तिको होइन, प्रवित्तिको हो । एन.आर.एन. सँघमा राजनीतिक कार्यकर्ताहरू बग्रेल्ती हुलेर उनीहरूलाई बाघको छालाको आवरणमा स्यालको रजाईं गर्न दिएरै एन.आर.एन. सँघमा दानवीय हंशको ठूलो अंश हुलिएको हो । अहिले एन.आर.एन. सँघको अस्तित्वमाथि प्रश्न चिन्ह खडा गर्ने भनेका यी राजनीतिकर्मीहरू नै हुन्, जसको अहिले पनि वर्चस्व छ । त्यसैले अहिलेको समस्या टालियो भने पनि यो अस्थाई मात्र हो ।
एन.आर.एन. सँघको नेतृत्वमा बसेका एक्काहरू एउटा ठूलो भ्रममा बाँचे र त्यही भ्रममा नै बाँचिरहेका छन् । त्यो के भने ‘सक्रीय’ हुने राजनीतिकर्मीहरू नै संघको ‘मोटर’ हुन् । यीनैले संस्थालाई गतिशील बनाउँछन् । यीनैले सदस्य बढाउँछन्, नयाँ शाखाहरू खोल्छन् र संस्थाको हल्लीखल्ली जोरदार पार्छन् । यीनैले संस्थालाई बडेमान र मोटो बनाउँछन् ।
तर यो संस्थाका नामीगरामी ब्रह्मा, विष्णु, महेश्वर भनिएकाहरूले के बुझेनन् भने, राजनीतिकर्मीहरू हुलेर संस्था मोटाएको होइन, फोस्रो सुन्निएको हो । कहाँ टन्सील, कहाँ हाइड्रोसिल? कहाँ हलुवा, कहाँ बालुवा? यीनीहरू भनेका विषवृक्षका बीउ हुन् । यीनीहरूबाट संस्था बिकाउ त बन्ला तर टिकाउ हुन सक्दैन ।
नेपाली समाजका हरेक अंगमा भएका राजनीतिकरणले हाम्रा आदर्शहरूमा धमिरा लगाउने गरेको छ । यी राजनीतिकर्मीहरू एन.आर.एन. सँघका धमिरा हुन् ।
धमिरा पस्न नदिन जति सजिलो थियो, हटाउन अल्लि बढी गारो हुन्छ । तर दुष्कर नै चाहिँ होइन ।
संसारमा संस्था पतन हुनुमा दुःखदायी प्रवृत्ति हुन्छ र त्यो प्रवृत्तिको कारण पनि । संस्था पतनको कारण हुन्छ र त्यो कारणको संभावित निवारण पनि । ख्याल गर्नुपर्ने कुरा यही हो की- गोरखा जानुपर्ने मान्छे, गोरखपुरतिर हिँडेर कहिल्यै गोरखा पुगिँदैन ।
नेपालमा लामो समय पत्रकारितामा बिताएका अधिकारी ब्रसेल्समा बसोबास गर्दछन्। उनको ‘पथिक प्रवासन’ पुस्तक प्रकाशित छ।
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally
Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.
अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।