नेपालबाट अष्ट्रेलिया आउनेलाई यहाँ आएपछी गर्नुपर्ने कामको बारेमा धेरै थोरै थाहा त भईनै सकेको हुन्छ। नेपालमा कन्सल्टेन्सी वा कलेजका प्रतिनिधीसँग समेत सोधपुछ गरेर यसबारे धेरैले सूचना पाएका नै हुन्छन्। तर पनि धेरै नेपाली विद्यार्थी अष्ट्रेलियामा कसरी काम खोज्ने, पाउने र गर्ने भन्नेमा त्यति धेरै स्पष्ट भएर आएको पाईंदैन। यसो हुनाको कारण अष्ट्रेलियामा रहेका आफन्त वा साथिभाईले काम मिलाईदिइहाल्छन् वा उनीहरूको माध्यमबाट मिलिहाल्छ भन्ने सोच पनि हुनसक्छ। अर्को कुरा भनेको अष्ट्रेलियन समाज, बजार अनि त्यसको माग र नेपालबीच रहेको फरकले अष्ट्रेलिया आउनासाथ नेपाली विद्यार्थी वा नवप्रवेशीले यहाँ आएको दुई वा तिन महिना सम्म पनि आफ्नो अार्थिक आवश्यकतालाई पुरा गर्न सक्ने आय सहितको काम पाउन सकिरहेका हुँदैनन्।
अष्ट्रेलियामा काम वा रोजगारी खोज्ने वा पाउने क्रममा अपनाउनु पर्ने शैली र तरिका नमिल्दा धेरै नेपालीले लामो समय सम्म काम नपाउने वा सही ‘पेमेन्ट’ सहितको काम नपाउने अवस्था आजसम्म रहेको छ। नेपाली विद्यार्थी वा नवप्रवेशी र काम र कमाईको बीच ‘रयांङ को ठ्याङ’ अर्थात उपयुक्त मेल नहुनुको कारण अष्ट्रेलियाको रोजगारीको बजार र आवश्यक शीप र अनुभवको मेल नहुनु हो। जसको कारण नेपालीहरूले ‘क्यास’, फेसबुकमा ‘प्रमोट’ भएका थोरै ‘पे’वाला काममा धेरै समय बिताई रहेका छन्। जसले गर्दा अष्ट्रेलियाको न्यूनतम आवश्यकता धान्न आवश्यक साताको कमाइका लागी धेरै शारिरीक परिश्रम र धेरै समय काममा लगाउनु परिरहेको छ। यसको प्रत्यक्ष असर पढाई र नेपालमा लिएको ऋण तिर्ने कुरामा परिरहेको छ भने यहाँको दैनिकी र जिवन पनि सहज बनिरहेको छैन।
विद्यार्थी भिसामा रहँदा अष्ट्रेलियाले तोकेको काम गर्ने साताको २० घण्टा मात्र काम गर्न पाउने कारणले पनि धेरैले ‘क्यास’मा काम लगाउने ‘क्लिनिङ’, ‘किचन’, ‘हाउस किपिंङ’ लगायतका क्षेत्रमा काम गर्नमा जोड दिनुपर्ने अवस्था छ। ठूला कम्पनीहरू, ‘वेयरहाउस’ लगायत ‘प्रोडक्सन’का क्षेत्रमा ‘क्यास’मा काम नलगाउने भएकाले विद्यार्थीहरूको प्राथमिकताको काम गर्ने क्षेत्रका रूपमा यस्ता अपेक्षित रूपमा धेरै ‘पे’ गर्ने कामहरू पर्न सकिरहेका छैनन्। त्यसको मुख्य कारण उनीहरूलाई नेपाल वा अष्ट्रेलिया नै आइसकेपछी काम र कमाई बारे सही सूचना र सिकाइ नपुगेर हो। धेरै विद्यार्थी ‘सब-कन्ट्रयाक्टर’सँग ‘क्यास’मा काम गर्ने भएकाले काम कम ‘पे’ र जोखिमका साथ गर्नु परिरहेको छ।
धेरै नेपाली विद्यार्थीको अष्ट्रेलियामा कामको अनुभव दुई चार दिनसम्म ‘ट्रायल’ र ‘ट्रेनिङ’को नाममा सित्तैमा काम गर्नुपर्ने अनि कतिपय नेपाली, भारतीय तथा बंगलादेशी ‘सब-कन्ट्रयाक्टर’ले साता, दुईसाताको ‘पे’ नै नदिएर ठग्ने सम्ममा पुगेको पाइन्छ। यद्यपी यतिखेर काम र ‘पे’को हिसाबमा नेपाली विद्यार्थी र समुदायमा सचेतता बढेको छ तर पनि १५-१७ डलरमा कडा काममा लाग्नुपर्ने अवस्था भने सकिएको छैन।
पढ्नुस्: कम पैसामा काम लगाउनेले नेपाली यूवालाई ५० हजार डलर तिर्ने
तर, केही चलाखी र ‘स्मार्टनेस’ देखाउने हो भने विद्यार्थी वा तिनका ‘डिपेन्डेन्ट’ले अष्ट्रेलिया आएको छोटो समयमा नै राम्रो ‘पे’ मिल्ने काम पाउन सक्छन्। त्यसका लागी पहिले अष्ट्रेलियामा विद्यार्थी र तिनका ‘डिपेन्डेन्ट’ले कस्तो खालको काम बढी पाउने संभावना हुन्छ भन्ने कुरा जान्नुपर्छ (यहाँ क्लिक गरेर हेर्नुस् विद्यार्थीले काम पाउने धेरै सम्भावना भएका क्षेत्र) र त्यसखालका रोजगारदाताको आवश्यकता बुझेर आफ्नो रिजुम तयार गर्नुपर्छ। याद राख्नुस् अष्ट्रेलियामा काम अनुसारको रिजुम बनाउनु अति नै आवश्यक हुन्छ (यहाँबाट रेजुमको टेम्पलेट डाउनलोड गर्नुस्, ती रिजुममा आफ्नो जानकारी मात्र भरेर पठाउँदा हुन्छ)। त्यससँगै निम्न ५ तरिका अपनाउनु भयो भने अष्ट्रेलियामा छोटो समयमा नै काम पाउन सकिन्छ, जसबाट साताको ८००-१२०० डलर साताको सजिलै कमाउन सकिओस्।
१. याप वा वेबसाइटमा जोडिनुस्: अष्ट्रेलियामा काममा राख्न वा काम खोज्नको लागी मोबाईल याप तथा वेबसाइट नै सबैभन्दा भरपर्दो माध्यम हो। यस्ता याप वा वेबसाइटमा ‘साईन अप’ र ‘अलर्ट सेट’ गरेर दैनिक समय समयमा ‘अपडेट’ हुने कामका सूचना पाउन सकिन्छ। जति छिटो यस्ता कामका ‘भ्याकेन्सी’मा ‘एप्लाइ’ गरयो त्यती नै काम पाउने संभावना बढी हुन्छ। सिक, एडअजुना, गमट्री जस्ता यापहरूमा यसखालको सक्रियता देखाउनु लाभदायी हुन्छ।
२. रिजुम सुधार: नेपालमा ‘सिभी’ वा ‘रिजुम’ बनाउने तरिका अलिक परम्परागत नै छ। तर अष्ट्रेलियामा काम खोज्दा बनाउने रिजुम तयार पार्दा भने अलिक धेरै नै ध्यान दिनुपर्दछ। यहाँ काम खोज्नेले आफूले रोजगारका लागी भरेको पदसँग जोडिएका ‘किवर्ड’ रिजुममा समावेश गर्नुपर्छ। विशेष गरेर अनुभव, सिप र आफ्नो स्वभावका बारेमा उल्लेख सही ढंगमा गर्नु जरूरी हुन्छ। काम र कामको प्रकृती अनुसारको रिजुम तयार गर्नु महत्वपूर्ण हुन्छ। (यहाँबाट रिजुमका उदाहरण हेर्नुस्)
३. सिधै जानुस् र कुरा गर्नुस्: ‘वाक इन’ वा ‘डोर टु डोर’ भनिने यो शैली काम पाउने सबैभन्दा धेरै सम्भावना भएको तरिका हो अष्ट्रेलियामा। कुनै पनि रेष्टुरेन्ट वा व्यवसायमा सिधै म्यानेजरलाई भेटेर आफ्नो कुरा ‘कन्फिडेन्स’का साथ राख्नु नै काम पाउने ७५ प्रतिशत सम्भावना हो। यसमा आफूले गर्न सक्ने कुरा र सिपहरू बताउने र म्यानेजरलाई प्रभावित पार्न सक्ने सम्भावना हुन्छ। यदि भरखर अष्ट्रेलिया आउनु भएको छ र ‘सिड्नी सिबिडी’ वा कतै तिर पनि घुम्न निस्कँदै हुनुहुन्छ भने आफूसँग रिजुम राख्न नबिर्सनुहोस्। अवसरले जतिखेर पनि तपाईंलाई बोलाउन सक्छ, किनभने अष्ट्रेलियाका धेरै पसल र रेष्टुरेन्टले ढोकामा नै कामदार वा कर्मचारी आवस्यक भएको लेखेर पनि राखेका हुन्छन।
पढ्नुस्: क्याजुअल काम र राम्रो ‘पे’का लागी यस्ता एजेन्सीमा जोडिनुस्
४. सामुहिक डेलिभरी टीममा लाग्नुहोस्: यतिखेर विश्वभर नै सामुहिक ‘डेलिभरी’ र ‘सेयरिङ’को ‘ट्रेन्ड’ चलेको छ। अष्ट्रेलियामा पनि खाना तथा सामान ‘डेलिभरी’ साथै ‘राइड सेयरिङ’ निक्कै चलेको र अवसरको क्षेत्र बनेको छ। उबर, फुडोरा, डेलिभरो जस्ता यस्ता ‘क्राउड सोर्स्ड’ सेवामा ‘जोइन’ हुनु राम्रो अवसर र कमाईको हिसाबले राम्रो पनि छ। त्यसमा पनि आफ्नै बिजनेस जस्तो हुने भएकाले विद्यार्थीलाई २० घण्टाको बन्देज वा काममा रहेको प्रावधानका कारण नै काम नपाउने भन्ने पनि हुँदैन। तर यसका लागी विभिन्न मापदण्ड हुनसक्छन् त्यो भने बुझ्नु जरूरी हुन्छ।
५. सामाजिक संजाल समुह: अष्ट्रेलिया आईसकेपछी आफुबस्ने ‘सबअर्ब’ वा क्षेत्रको ‘ग्यारेज सेल्स’, ‘स्वाप सेल, सँगै ‘जव पोस्ट’ फेसबुक ग्रुपहरूमा जोडिनु कामको नजिक हुनु नै हो। यसले काम पाउने सम्भावना मात्र बढाउँदैन कामका अनुभव र ‘पे’बारेका सूचना पनि पाउन सकिन्छ। यस्ता फेसबुक ग्रुपहरूमा जोडिंदा सकेसम्म विदेशीहरूकोमा जोडिनु फाइदा जनक छ। नेपाली समुदायमा यसखालका फेसबुकहरू छैनन्। नेपाली फेसबुकहरू धेरै जसो विग्यापनहरूले भरिभराउ हुन्छन् धेरै नवप्रवेशी र विद्यार्थीका लागी फाइदाका नै हुँदैनन्।
पढ्नुस् : अष्ट्रेलियामा काम पाउनका लागी यी हुन् १२५ वेबसाइट
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally
Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.
अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।