साउन महिनासँगै नेपालीहरूको चाड पर्वको मौसम सुरू हुन्छ। नेपाली जहाँ भएपनि त्यही साउनलाई आधार मानेर नेपाली पर्वहरू विदेशमा पनि त्यसरी नै सुरू हुन्छन् जसरी नेपालमा।
यतिखेर अष्ट्रेलियाका सबै शहरहरूमा विभिन्न कार्यक्रमहरू आयोजना भईरहेका छन्। कतै तीजको रौनक छ, कतै चाहिँ धार्मिक कार्यक्रम चलिरहेको छ। कार्यक्रमका टिकट बेच्ने, किन्ने, प्रायोजन गर्नेहरूको एउटा लहर नै छ। सिड्नीमा जाडो सकिएको छैन तर माहौल भने निक्कै तातिएको छ। कार्यक्रम र कलाकारको उपस्थितीले हैन, माहौल गर्माएको चाहिँ कार्यक्रमको नाममा भईरहेको भिजा व्यापारले हो जसलाई समुदायका अभियन्ताहरू ‘मानव तस्करी’ भनिरहेका छन्।
राम* (गोपनियताका लागी नाम परिवर्तन) यतिखेर सिड्नीमा आफूलाई यहाँको कुनै कलेजमा भर्ना गर्ने प्रकृयामा छन्। केही साता भएको छ उनी अष्ट्रेलिया आएको, ‘क्यास’मा काम गर्न पनि सुरू गरिसके। आजकल धेरैले ‘क्यास’मा काम लगाउन छोडेकाले उनलाई काम गर्ने अधिकार सहितको विद्यार्थी भिजा चाहिएको छ। सजिलै पास हुने विषय र कलेज मिलेको खण्डमा धेरै समय काम गर्ने र पैसा कमाईसकेपछी मात्र करिअर र पीआरको पछी सोचौंला भन्ने उनी कुनै कार्यक्रममा प्रस्तुतीका लागी आएका कलाकारहरूको समुहमा अष्ट्रेलिया आएका हुन्। ‘हाम्रो कुरा नै अष्ट्रेलिया पुगेपछी स्टुडेन्ट भिजामा कन्भर्ट गर्ने भन्ने हो, पढाईको ग्याप र ईंगलिसको कारण कलाकार बनेर आउनुको विकल्प थिएन, कहाँ भिजा दिन्छ त हामीलाई स्टुडेण्ट भनेर’, भन्ने उनले यहाँ सम्म आईपुग्नको लागी उनको शब्दमा ‘भुसुक्कै’ पैसा खर्च गरेका छन्।
कृष्ण* (नाम परिवर्तन) भिजिटर भिजामा अष्ट्रेलिया आईपुगेका हुन्। तीन महिनाको उनको यो भिजा सकिनु अघि नै ‘प्रोटेक्सन’ भिजा हाल्ने योजना छ उनीसँग, ‘स्टुडेन्ट बन्न त पढ्न नि सक्नुपरयो नि?’ प्रतिप्रश्न गर्छन् उनी। उनलाई अष्ट्रेलियाले उनको ‘प्रोटेक्सन भिजा’को आवेदनलाई अस्वीकार गर्छ भन्ने थाहा छ। तर यहाँको कानुनी बाटो अपनाएर कम्तिमा पनि पाँच सात वर्ष टन्न काम गरेर बस्ने माध्यम यो हो भन्ने उनलाई नेपालबाट पठाउनेले नै प्रष्ट पारेका छन्।
हरि* (नाम परिवर्तन, नेपालबाट सिधै मलाई सम्पर्क गरेका हुन् उनले यता आएर भिजा परिवर्तन गर्न मिल्ने कुरा के हो जान्नको लागी, उनको एजेन्टले भनेको कुरा मसँग क्रश चेक गरिरहेका थिए, अष्ट्रेलिया आईपुगिसके कि न) कुनै चलचित्र छायाँकन टोलीको सदस्यका रूपमा अष्ट्रेलिया आउने तयारी गरिरहेका थिए। त्यसका लागी २७ लाख नेपाली रुपैंया दिने सहमती हुँदै गरेको थियो र एजेन्टले अष्ट्रेलिया पुगेपछी विद्यार्थी भिजामा परिवर्तन गरिदिने पक्का गरेको थियो।
यी सिधै मसँग ठोकिन आएका प्रसंग हुन्। यसलाई प्रतिनिधी मान्ने हो भने यस्ता सदस्यहरू टन्नै छन् जो अष्ट्रेलिया जति पैसा तिरेर पनि आउन खोजिरहेका छन् वा आईसकेका छन्। र, यीनलाई भिजाका अनेक तौरतरिका अपनाएर अष्ट्रेलियामा पाँच सात वर्ष राखिदिने एजेन्टको भरोषाले अष्ट्रेलिया ल्याईपुरयाएको हो। अष्ट्रेलियाको भिसा र त्यसका प्रावधानहरूले यी कुराको लागी बाटो खोलेको पनि छ। त्यसको ठूको तहमा दूरूपयोग गरेर ‘मानवतस्करी’को सेतो माध्यम बनाईएको तर्फ नेपाली समुदाय भने चिन्तित छ।
सांस्कृतिक, सामुदायिक तथा खेल कार्यक्रमका नाममा नेपालबाट कलाकार, सामुदायिक गुरू/अभियन्ता, खेलाडी भन्दा बढी अन्य व्यक्तिहरू ल्याउने (हरेकलाई अष्ट्रेलिया टेकाएर स्टुडेन्ट भिजा लगाईदिए बापत ३० देखी ४० लाख लिने गरेर) क्रम बढिरहेको भन्दै यहाँका सामुदायिक अगुवाहरुले चिन्ता व्यक्त गरेका छन्।
के फरक पर्छ?
धेरैलाई लाग्छ आखिर अष्ट्रेलिया सरकारले भिजा र अवसरको बाटो खोलेको छ भने यसले के फरक पर्छ? व्यवसायी एजेन्टहरूले पैसा कमाएका छन् नेपालबाट पनि आउनेले नेपालको दुख र गरिबिबाट मुक्ति त पाएकै छन्। राम्रै त हो भन्ने धेरैलाई लाग्छ। नेपालमा यस्तो भईसक्यो कि अष्ट्रेलिया जानका लागी भनेर जोसँग पनि बिहे गर्ने, (कागज मै त हो भन्दै हाडनाता, दिदी बहिनीसँगै पनि बिहे गरेका छन्) जति मागेको हो त्यती नै पैसा दिने, अरू सभ्य समाजले पचाउन नसक्ने अनेकन कामहरू सबै सामान्य भईसकेको छ। तर, यस्ता गतिविधीले साँच्चै राम्राहरूलाई र अष्ट्रेलियामा बस्ने नेपालीहरूलाई लामो समयको लागी नकारात्मक प्रभाव पार्दछ। जस्तो कि आजकल अष्ट्रेलियामा राम्रैसँग बसोबास भएका (पीआर वा नागरिक)हरूका बा आमालाई समेत भिजा पाउन मुस्किल पर्न थालेको छ। नेपालको नक्कली बिहे गरेर डिपेण्डेन्ट कोटा बेच्ने चलनले अहिले साँच्चिकै बिहे गरेर आउन चाहनेलाई भिजा पाउन समस्या भएको छ। नेपालका बैंक र सरकारी कागजातले विश्वसनियता गुमाएका छन्। यि सबै हुनुको कारण यस्तै गतिविधी हुन्। यसले समुदायको मात्र नभएर देशको नै ‘क्रेडिट’ गुमेको छ। तपाईं अष्ट्रेलियामा बसेको मान्छेलाई ‘क्रेडिट स्कोर’को बारेमा भनिरहनु परेन। वर्षको एकपटक चर्चामा आउने ‘पासपोर्ट रयांक’को सूचिमा नेपाली पासपोर्ट कसरी तलतिल गुल्टिरहेको छ भन्ने त वार्षिक रूपमा मात्र सम्झेर भएन, यस्तै गतिविधीले हो गुल्ट्याउने यो तपाईंलाई सुनाईरहनु पर्ने कुरा होईन, तपाईं आफै जान्ने हुनुहुन्छ।
कलाकारहरूले पनि ध्यान दिनुपर्ने विषय हो यो। यस्तै भईरह्यो भने धेरै कलाकारले विदेश जाने भिजा पाउँदैनन्। किनकी उनीहरूको पनि क्रेडिट चट भईरा हुन्छ।
मुख्य कुरा अहिले उठेको भनेको कार्यक्रम वा अन्य नाममा भईरहेको भिजा लगाईदिने व्यापार हो, गन्दा है पर धन्दा है भनेर अगाडी जाने कि हो यस्तो व्यापार चलिरहेको छ यो गलत हो भनेर रोक्नमा लाग्ने भन्ने नै आजको अहम् प्रश्न हो।