अष्ट्रेलियाका दुई विश्वविद्यालयले गरेको एक अध्ययनले अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको श्रम शोषणको अवस्था डरलाग्दो रहेको देखाएको छ। युनिभर्सिटी अफ न्यूसाउथवेल्स र युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीले संयुक्त रूपमा पाँचहजार अन्तर्राष्ट्रिय विद्यार्थीलाई समेटेर गरिएको अध्ययनले ७७ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीले कामका लागी तोकिएको न्यूनतम ज्यालाको आधा तथा त्यो भन्दाकम पैसामा काम गर्नुपर्ने स्थिती रहेको देखाएको हो। अध्ययनको नतिजाले अष्ट्रेलियामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीमा चारमध्ये एकले घण्टाको १२ डलर भन्दा कम ज्यालामा काम गर्ने देखाएको छ। जुन क्याजुअल कामका लागी तोकिएको न्यूनतम प्रतिघण्टाको ज्याला भन्दा आधा भन्दा पनि कम हो।
युनिभर्सिटी अफ न्यूसाउथवेल्सका एसोसिएट प्रोफेसर बासिना फार्बनब्लुम र युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीका ल एसोसिएट प्रोफेसर लाउरी बर्गले संयुक्त रूपमा गरेको अध्ययन ‘ईन्टरनेशनल स्टुडेन्टस् एण्ड वेज थेफ्ट इन अष्ट्रेलिया‘ले पछिल्ला फेयर वर्क अम्बुडस्म्यानको सक्रियता साथै कडा सजायँको व्यवस्थाका बाबजुद व्यवसायीहरूले अन्तर्राष्ट्रिय विद्यार्थीको शोषणमा कुनै कमी नल्याएको देखाएको छ।
यो पनि पढ्नुस्: सिड्नीमा ठगी आरोपमा दुई नेपाली युवा पक्राउ
सिड्नी मर्निङ हेराल्डमा नेपाली विद्यार्थीको कथा
अन्तर्राष्ट्रिय विद्यार्थीको श्रम शोषणको डरलाग्दो अवस्था अझै रहेको देखाउने अध्ययनको प्रतिवेदन माथि समाचार बनाउने क्रममा ‘सिड्नी मर्नङ हेराल्ड’ले एक नेपाली विद्यार्थीले पार गरेको श्रम शोषणको चरणहरूको उल्लेख गरेको छ। २५ वर्षिय नेपाली विद्यार्थी रोबिन्सन अधिकारीले अष्ट्रेलिया आए देखी नै १७/१८ डलर प्रतिघण्टा दिने तीनवटा क्षेत्रमा दुई वर्ष काम गरेको अनुभव सुनाएका छन्। चिकन फ्याक्ट्रि सफाई, किचनह्याण्ड र ट्राफिक कन्ट्रोलरका रूपमा काम गरेपछी यतिखेर उनी ‘अफिस क्लिनिङ’को काम गर्छन् जहाँ उनले २७ डलर प्रतिघण्टा ज्याला पाउँछन्। सिड्नीको कुनै नीजि कलेजमा ‘आईटी एण्ड बिजनेस’ पढ्ने उनले सुरूमा किचन र क्लिनिङको काम गर्दा रोएको समेत सिड्नी मर्निङ हेराल्डलाई बताएका छन्।

अध्ययनले उजागर गरेका केही महत्वपूर्ण तथ्यहरू
७७ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीहरूले क्याजुअल कामका लागी तोकिएको न्यूनतम प्रतिघण्टाको ज्याला भन्दा कममा काम गर्नुपरेको।
३२ प्रतिशत स्नातक तह (ब्याचलर्स डिग्री) पढिरहेका विद्यार्थीले तोकिएको न्यूनतम ज्याला भन्दा आधा वा त्यो भन्दा पनि कममा करिब १२ डलर प्रतिघण्टामा काम गर्नुपरेको।
कुल अन्तर्राष्ट्रिय विद्यार्थीको २६ प्रतिशतले क्याजुअल कामका लागी तोकिएको न्यूनतम प्रतिघण्टाको ज्यालाको आधा वा त्यो भन्दा पनि कम कमाउने गरेको। (२०१६ को राष्ट्रिय अस्थायी आप्रवासी रोजगार सर्भे, नेशनल टेम्पोररी माईग्रेन्ट वर्क सर्भे को आँकडामा कुनै परिवर्तन नदेखिएको)
धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरू, ८६ प्रतिशतले आफूलाई तलबमानमा शोषण भएको जान्दछन्।
६२ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थी विश्वास गर्छन् कि उनीहरू पनि यसमा दोषी छन्, किनकी उनीहरूले ज्यालामा शोषण स्वीकारेर कानुन तोडेका छन्।
९१ प्रतिशत ज्याला शोषणमा पर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरू मान्दछन् कि उनीहरूको अंग्रेजी राम्रो छैन।
आफ्नो अंग्रेजी राम्रो दाबी गर्ने ६८ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीहरूले पनि ज्यालामा शोषण अनुभव गरेका छन्।
ज्यालामा शोषण र कम वेतन पाउनेमा स्नातकोत्तर तह (मास्टर्स)का विद्यार्थी साथै अंग्रेजी भाषाका विद्यार्थी पनि उत्तिकै छन्।
३८ प्रतिशत मान्दछन् कि उनीहरूलाई ज्याला शोषण र कम वेतनका विषयमा थप जान्नु पनि छैन र सहयोग पनि चाहिँदैन किनकी उनीहरू कामको कारण पछी भिसामा समस्या चाहँदैनन्।
पाँच हजार अन्तर्राष्ट्रिय विद्यार्थीबीच गरिएको सर्वेक्षणले प्रभावकारी र पहुँचयुक्त ज्याला असुली संयन्त्र (वेज रिकभरी मेकानिज्म) का साथै सरकारबाट चुस्त र प्रभावकारी अनुसन्धान र कारवाहीको व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ। साथै, अन्तर्राष्ट्रिय विद्यार्थीका लागी तोकिएको पाक्षिक ४० घण्टा काम गर्न पाउने सिमालाई हटाउन साथै फेयर वर्क अम्बडस्म्यानले गृह विभाग (डिपार्टमेन्ट अफ होम अफेयर्स)लाई गर्ने कामदारहरूको जानकारी साझेदारीलाई रोक्न पनि सुझाव दिईएको छ। भिसामा पर्ने समस्याको खतराका कारण विद्यार्थी तथा अस्थायी कामदारहरू झन बढी शोषणमा पर्ने भएकाले उनीहरूलाई कानुनी सहायता र परामर्शको व्यवस्था विश्वविद्यालय/कलेज तथा सरकारले व्यवस्था गर्नुपर्ने सुझाव अध्ययनले दिएको छ। अध्ययन न्यूसाउथवेल्स सरकारको स्टडी एनएसडब्ल्यूको आर्थिक सहायतामा भएको हो। यो अध्ययन सन् २०१९ को अप्रिल र मे महिनामा न्यूसाउथवेल्स र अष्ट्रेलियाभर रहेका अन्तर्राष्ट्रिय विद्यार्थीलाई समेटेर गरिएको हो।