भनिन्छ ‘चिन्ताले चितासम्म पुरयाउँछ’, त्यसैले मानिसहरू चिन्ताबाट परै बस्न चाहन्छन्। तर पनि चिन्ता यस्तो चिज छ कि जसले छायाँले भन्दा धेरै पच्छ्याउँछ। छायाँले बरू सित्तलमा पच्छ्याउँदैन चिन्ताले त मध्यरात पनि भन्दैन। हामी नेपालीका लागी त तनाब र चिन्ता चिया जस्तै हो, एउटा लत अनि भनौं नियमित आकस्मिकता। हामी यसलाई जति दूर होस् बन्ने चाहन्छौं दूर्भाग्य यो त्यती नै हामीसँग साखुल्ले हुन आइरहेको हुन्छ। यो मनोविज्ञानसँग जोडिने हुनाले यसलाई सहजै हटाउन वा यसबाट मुक्ति पाउन सकिन्न जुन झन तनावको कुरा हो।
के हो त तनाव?
अनावश्यक रूपमा कुनै पनि कुरामा एकोनाश घोत्लिएर त्यसका नकारात्मक नतिजाका बारेमा चिन्ता लिएर बस्दा त्यसले पैदा गर्ने मानसिक विकार हो तनाव। अनावश्यक रूपमा कुनै पनि विषयलाई महत्व दिएर त्यसलाई आफ्नो मस्तिष्कमा ठाउँ दिने हो भने त्यसले तनाव पैदा गर्छ। यो एकखालको दबाबको महशुस पनि हो। खासमा यो कुनै समस्या होईन जबसम्म यो सानो तहमा रहन्छ। तर, यो बढ्दै जाँदा आफैमा एउटा ठूलो समस्या बन्छ र यसबाट मानिसले पार पाउन गाह्रो हुन्छ। तनाब धेरै भएपछी मानिसले अनेक अनौठा व्यवहार देखाउन थाल्छ अनि संसार नै निस्सार मानेर आफ्नै ज्यान लिने सम्मको अवस्थामा पुग्दछ। तनाव धेरै हुँदै जाँदा शरिरले पनि साथ दिन छोड्छ, दैनिक कामकाजमा पनि रस रहँदैन र गरेका कामहरू पनि बिग्रने हुनजान्छ। तनावले मानिसलाई रूने चिच्याउने मात्र होईन निर्णय समेत लिन नसक्ने बनाईदिन्छ जसले गर्दा परिस्थितीको सामना गर्नुभन्दा भाग्नुमा नै सजिलो देख्छ र हरेक समस्याबाट भागेर नै हल खोज्न थाल्छ। जुन वास्तविक जिवनमा सम्भव छैन।
तनाव हरेक मानिसमा हुन्छ र हरेक उमेर समुहमा हुन्छ। फरक यति हो कि हरेकको तनावको कारण फरक हुन्छ त्यो उमेर समुहको कारण पनि हुनसक्छ अनि बसेको समाज र सरसंगतका कारण पनि। बालखकाल देखी किशोरावस्था अनि युवा र प्रौढ अवस्थामा समेत सानो सानो कुराहरूले तनावको तन्तु पैदा गरिरहेको हुन्छ। आजकल मायामा तनाव छ, काममा तनाव छ अनि घरमा पनि तनाव छ। मानिसँग पैसा छैन, योजना छैन, साथ छैन र पनि तनाव छ। अनि तिनीहरूसँग पनि त्यस्तै कडा तनाव छ जोसँग फालाफाल पैसा छ अनेकौं योजना छ र साथीभाईबाट पनि घेरिएका छन्। यसरी हेर्ने हो भने तनाव सनातन छ, सर्वव्यापी छ अनि जहाँ रवी पुग्न सक्दैनन्, तनाव त्यहाँ पनि पुगेको छ।
तनावका कारण
वास्तवमा तनावमा आउनका लागि कुनै खास र ठूलो कारण नै चाहिँदैन। दैनिकीका सामान्य कुराले पनि मानिसलाई तनावमा धकेलिदिन्छ। कोही कसैलाई पाँच मिनेट कुर्नुपर्दा देखी फेसबुकमा फोटो हालेको पाँच मिनेट सम्म कसैले लाईक वा कमेन्ट नगर्दा समेत तनाव हुन्छ। त्यसो त ऐना हेर्दा उत्पन्न हुने तनाव नि कम छैन, जुन विहान सखारै देखी सुरू हुन्छ।
यस्ता कारण हुनसक्छन् तनावका:
पैसा, सबै बन्दा ठूलो तनावको कारण पैसा हुने गरेको छ आजकल। पैसा भएपनि तनाव र नभएपनि तनाव। अरूले कमाए पनि र आफूले कमाए पनि, धेरै कमाए पनि अनि धेरै कमाउन नसके पनि तनाव। पैसा र तनावको सम्बन्ध नङ र मासु जस्तै छ।
काम भएन, वा रोजगारी नहुनु। विदेशमा झन सिफ्ट नभएको वा ‘डे अफ’ भएको दिन के गर्ने भनेर समेत तनाव हुन्छ। किनभने विदेशमा साथीभाई जमघट हुन पनि सजिलै सकिँदैन र पैसाको आवश्यकताले नि थिचिरहेको हुन्छ।
बिरामी परेको अवस्था। बिरामी पर्नु नै एउटा तनावको अवस्था भएकाले यसले ल्याउने अरू तनाव त सबैले कल्पना गर्न सकिने कुरा हो।
निन्द्रा नलाग्नु। निन्द्रा र तनावको सम्बन्ध दोहोरो छ निन्द्रा नलागे नि तनाव, तनाव भए नि निन्द्रा लाग्दैन।
माया। लभ, प्रेम जे भने पनि यो ठूलो र प्रमुख तनावको श्रोत हो। ‘ब्रेकअप’ देखी केटा वा केटीको बा-आमाले नमान्ने हो कि भन्ने सबै कुराले तनाव दिन्छ। त्यसो त छोराछोरीको प्रेमप्रसंगले त यति तनाव दिन्छ कि बा-आमाको निन्द्रा नै गायब।
बिहे। वास्तवमा बिहे पनि अर्को तनावको श्रोत हो। बिहे समयमा हुन नसके पनि तनाव, भए पनि तनाव। त्यसै त बिहेलाई खाने पनि र खान नपाउने पनि पछुताउने लड्डु भनिएको होईन।
पढाई पनि अर्को महान श्रोत हो तनावको। सुरू गरेदेखी फेल हुने वा अर्कोले जित्ने कुराले तनाव। सकेपछी फेरी काम नपाउने हो कि भन्ने तनाव।
जागिर अर्को श्रोत हो तनावको। हाकिमको ‘अफेयर’ देखी तलब अनि कामको ‘परफरमेन्स’ राम्रो गर्न नसकेको सम्मको कारणले यसलाई उत्पन्न गर्छ।
सोच्नुहोस्, संसारमा यस्तो के होला जुनसँग तनाव नजोडिएको होस्। हरेक कणकणमा तनाव पैदा गर्ने कारक लुकेको छ संसारमा। वैज्ञानिक रूपमा भन्नुपर्दा मानिसको रगतमा चिनी र एड्रीनलिन हर्मोनको मात्रा बढी हुँदा तनाव बढ्छ।
कसरी हुने तनावमुक्त
तनावबाट मुक्त हुनको लागी सबैभन्दा सजिलो र मुख्य उपाय भनेको नै आफूलाई एक्लो नराख्नु हो। एक्लोपनाबाट बाहिर आएर मनपर्ने कुराहरूमा व्यस्तता बढाउँदा तनावको तह स्वत: घटेर जान्छ। आफ्नो कुराहरू नजिकका साथीभाई वा परिवारका सदस्यलाई बाँढ्दा पनि तनाव घट्छ। त्यसै अंग्रेजीमा ‘सेयरिंग इज केयरिंग’ भनिएको हैन। राम्रा र सकारात्मक आलेख, पुस्तक पढ्दा पनि तनाव घट्छ। त्यसो त फूर्सतमा टहलिने, फोटोग्राफी, पेन्टिंग, गीतसंगीत, साहित्य लगायतका क्षेत्रमा रूची बढाउँदा र तीनमा संलग्न हुँदा तनावमुक्त बन्न सकिन्छ। व्यायाम पनि अर्को तनाव कम गर्ने माध्यम हो।
के गर्ने त?
आहारमा सुधार: चुरोट, रक्सी र अरू लागुपदार्थको सेवन छोडेर केरा, बदाम, किसमिस, महलाई चिसो दुध वा दहीसँग खाने गरेमा त्यसले तनावको मात्रालाई ह्वात्तै घटाउँछ। धेरै मासुजन्य खाना भन्दा सादा शाकाहारी खानामा जोड दिँदा तनाव कम हुन्छ।
राती सुत्नु अघि चिसो पानीले नुहाएर सुत्दा निदाउन सजिलो हुन्छ। निन्द्रा राम्रो हुनासाथ त्यसले तनाव पनि कम गराउँछ।
सतसंगतले पनि तनाव घटाउँछ। असल साथीभाईको माझमा रहने हो भने त्यसले तनाव कम गराउँछ। असल संगत हुनासाथ समस्याहरूसँग जुध्ने धेरै उपायहरू निकाल्न सकिन्छ।
भजन सुन्ने र मन्दिर जाने। भनिन्छ जे कुरा आफ्नो वशमा छैन त्यो सबको जिम्मा भगवानलाई दिनुपर्छ। त्यसैले भजनकीर्तन गर्ने, सुन्ने र मन्दिर गएर भगवानको दर्शन गर्दा त्यसले तनावलाई धेरै नै कम गर्छ।
खुला हावामा टहलिँदा पनि तनाव कम हुन्छ। पार्क, मैदान वा वगैंचाहरूमा टहलिँदा चिसो र स्वच्छ हावाको स्पर्शले पनि तनाव कम हुन्छ। तर, तनाव भएको समयमा समुन्द्रको किनार वा पहाड, चट्टान भएको ठाउँतिर निस्कनु भने हुँदैन।