सिड्नी शहर हेर्दा लाग्छ रहर…

अष्ट्रेलियामा भविष्य खोज्दै आउने लाखौं अन्तर्राष्ट्रिय विद्यार्थी तथा युवाहरूको बिचमा नेपालीहरूको संख्या पनि उल्लेख्य छ। यतिखेर नेपालमा अष्ट्रेलिया आउनु ‘स्टाटस’को कुरा हुन थालेको छ। ‘प्लस टु’ सकेपछी अष्ट्रेलिया जाने भन्ने ‘ट्रेण्ड’ नै बसिसकेको छ। राजनीति र विकासले उँधो बाटो देखाएपछी ‘…भुईं छोडेर उड्ने हजुर पश्चिम दिशामा….’ यतिखेर नेपाली सपना मात्र होईन बाध्यता बनेको छ भनियो भने फरक पर्दैन। पश्चिम अनि पाताल भनिने पश्चिमा विकसित मुलुकहरू अमेरिका, अष्ट्रेलिया नै आजकल नेपालीको गन्तव्य बनेको छ। अनि जापान र कोरिया कामदारका रूपमा विश्वविद्यालयका स्नातकलाई पठाएर सरकार संघियता सफल पार्ने अभियानमा छ। मध्यपूर्वका राष्ट्रमा ओईरिने नेपालीको गणना गम्भिर हुन छोडेको त धेरै नै भईसकेको छ। यतिखेर राष्ट्रिय अभियान नै विदेश जानु भएको छ नेपालमा।

अष्ट्रेलिया सरकारको अध्यागमन विभागको तथ्यांक हेर्ने हो भने चालु आर्थिक वर्षको पहिलो छ महिनामा करिब १५ हजार नेपाली युवाहरूले अष्ट्रेलियामा पढ्नको लागी ‘भिषा’ (प्रवेशाज्ञा) प्राप्त गरिसकेका छन्। जुन अघिल्लो वर्षको उही समयको तुलनामा ४७ दशमलव ८५ प्रतिशतको वृद्धि हो। यसरी वार्षिक रूपमा नेपाली युवाहरू अष्ट्रेलियाका मुख्य शहरहरू सिड्नी, मेलबर्न, क्यानबेरा, एडीलेड छिर्ने क्रम बढिरहेको छ। अष्ट्रेलियाको लागी नेपाल विद्यार्थी बजारको तेस्रो ठूलो स्रोतका रूपमा स्थापित भईसकेको छ। सन् २०१८-२०१९ को आर्थिक वर्षको पहिलो छ महिनामा मात्र नेपाली विद्यार्थीहरूका लागी अष्ट्रेलियाले १४ हजार पाँचसय ९४ ‘स्टुडेन्ट भिजा’ जारी गरेको थियो। जसमा छ हजार ९७ पुरूष र चारहजार सातसय ९२ महिला अष्ट्रेलिया पढ्नका लागी आएका थिए। यसरी आउने धेरै विद्यार्थीको संख्या ठूला शहर सिड्नी वा मेलबर्नमा नै पढ्न र बस्न मनपराउँछ। सिड्नी र मेलबर्नका सडकमा बढि रहेको नेपाली चाल(‘मूभमेन्ट’)ले यसैको संकेत गर्दछ।

अष्ट्रेलिया भन्नासाथ मनमा छबि आउने बनेको नै ‘हार्बर ब्रिज’ र ‘ओपेरा हाउस’को हो। जुन सिड्नी शहरको शान हो र अन्तर्राष्ट्रिय पर्यटकको आकर्षणको केन्द्र। सिड्नीको नयाँ वर्षको स्वागतको शैली र आतशबाजीको विश्व प्रसिद्धिसँगै नेपालीहरूमा पनि सिड्नीको छुट्टै आकर्षण छ। त्यसमा पनि साथीभाई, आफन्तको संख्या र काम पाउने संभावना धेरै भएकाले नेपाली विद्यार्थीहरू पढाईका लागी सिड्नीकै कलेज तथा विश्वविद्यालय रोज्ने गर्दछन्। विशेष गरेर सिड्नीमा रहेका अध्ययन संस्था र रोजगारको संभावनाले विद्यार्थीलाई सिड्नी शहर रहर लाग्दो बनाएको छ। सिड्नीको आकर्षणको केही पक्ष यस्ता पनि छन्:

सस्ता अनि नेपालीका कलेज

नेपाली विद्यार्थीहरू सिड्नी नै ओइरिनुको कारण यहाँ रहेको कलेजको संख्या एउटा हो। धेरै कलेज तथा अध्ययन संस्थाको संख्याका कारण सृजना भएको प्रतिस्पर्धाले विद्यार्थीलाई सस्तो शुल्कमा पढ्ने अवसर मिल्दछ। पीआर नै ताकेर आउने भएकाले सस्तो मस्तो जस्तो कलेजमा पढे पनि त्यसले फरक नपार्ने भन्ने सल्लाह ‘एजुकेशन कन्सल्टेन्ट’हरुबाट पाउने भएकाले पनि विद्यार्थीहरू सिड्नी नै रोज्ने गरेका हुन्। सिड्नीका सस्ता भनेर चिनिएका कलेजहरूमा नेपाली विद्यार्थीको संख्या ७० प्रतिशत भन्दा पनि धेरै रहेको पाउन सकिन्छ।

त्यसो त अष्ट्रेलियामा स्थापित भएका नेपालीहरूले पनि सिड्नीमा नै कलेज खोलेका छन्। र एनआरएन अभियानका कारण उनीहरूलाई नेपालका गाउँगाउँमा गएर अष्ट्रेलियामा रहेको उनीहरूको कलेजलाई विज्ञापन गर्न छुट पनि मिलेको छ। जसले गर्दा सिड्नीका कलेज सिधै नेपालका गाउँ गाउँका ‘प्लस टु’ पुगेका छन् जहाँबाट विद्यार्थीहरू सिड्नीमा ‘शर्टिफिकेट’, ‘डिप्लोमा’ जस्ता कोर्ष पढ्न ओइरिेइरहेका हुन्। यस्ता कोर्षले कस्तो भविष्य दिन्छ भन्नेमा भने धेरै विद्यार्थीहरू अनभिज्ञ नै देखिन्छन् यद्यपी सिड्नीको जिवनशैलीको चमकले त्यसलाई कम प्राथमिकतामा राख्ने बनाएको भने पक्कै छ।

 

काममा सहजता

अष्ट्रेलियाको व्यापारिक राजधानीका रूपमा सिड्नीलाई लिइन्छ भने न्यू साउथ वेल्स अष्ट्रेलियाको सबैभन्दा धेरै आर्थिक गतिविधी हुने राज्य हो। जसका कारण सिड्नी र आसपासका क्षेत्रमा रोजगारीको संभावना धेरै छ। त्यसो त पर्यटकीय गतिविधीका कारण सिड्नीमा धेरै प्रकारका कामहरू पनि पाईन्छन्। त्यस बाहेक यहाँ रहेको नेपाली जनसंख्याको घनत्वका कारण काम पाउन र काममा ‘सेटल’ हुन पनि सजिलो हुन्छ जसका कारण धेरै विद्यार्थीहरूको सिड्नीलाई आफ्नो अष्ट्रेलियाको बसाईंको शहर बनाउने गरेका छन्।

मौसम र हावापानी

नेपालीलाई आकर्षित गर्ने सिड्नीको अर्को पक्ष भनेको यहाँको मौसम र हावापानी हो। सिड्नीको मौसम नेपालीलाई नेपाल भन्दा खासै धेरै फरक लाग्दैन। यहाँका सामुन्द्री तटहरू र पहाडी भेगले धेरै नेपालीलाई यो ठाउँलाई माया गर्ने बनाउँछन्। सिड्नीको मौसम न त धेरै गर्मि न त धेरै जाडो लाग्छ। क्यानबेरा वा तासमानिया जस्तो चिसो हुने मौसम नभएको र गर्मी पनि खासै नहुने भएकाले सिड्नी बस्नको लागी पनि राम्रो मानिन्छ।

पढ्न, बस्न ठिक ‘पीआर’को ठेगान छैन

पढ्न, काम गर्न, पाउन र पैसा कमाउनका लागी सिड्नी राम्रो भएपनि अष्ट्रेलियाको स्थायी बासिन्दा बन्नका लागी भने सिड्नी शहर त्यती सहज छैन। अष्ट्रेलिया सरकारले सिड्नी, मेलबर्न जस्ता शहरमा बढेको जनसंख्याको चापलाई भौतिक पूर्वाधारले धान्न हम्मे हम्मे परेको भनेर यहाँ बस्न चाहनेहरूलाई ग्रामिण शहरहरूमा पठाउने रणनीति लिएको छ। जसले गर्दा सिड्नी शहरको रहर मात्रले अष्ट्रेलियामा बस्न सजिलो हुने देखिँदैन। पछिल्लो दुई वर्षमा हजारौं नेपाली विद्यार्थीहरू ‘पीआर’ पाउने आशामा क्यानबेरा, तासमानिया, डार्बिन जस्ता ‘रिजनल’ क्षेत्रमा सरेका छन्। सिड्नीका नेपाली ‘एजुकेशन कन्सल्टेन्ट’हरू स्वयंले मिलेर त्यस्ता शहरमा साना कलेज खोलेर सिड्नीबाट विद्यार्थीलाई त्यता पठाइ रहेका छन्। अष्ट्रेलिया सरकारले ‘पीआर’मा कडाई गर्ने नीति लिएपछी मात्र नेपालीहरूले खोलेको कलेजहरूको संख्या छ भन्दा धेरै भईसकेको छ। 

सिड्नीमा नै बसेर ‘पीआर’ पाउनेको लागी विद्यार्थीले आफ्नो पढाई सकेपछी आफ्नै क्षेत्रमा कामको कम्तिमा एक वर्षको अनुभव, ‘पीटीई’ वा ‘आईएलटीएस’मा हरेक ‘ब्याण्ड’मा ८  र ‘नाटी’ परिक्षा समेत पास गरेको हुनुपर्ने अवस्था देखिन्छ। जुन नेपाली विद्यार्थीको लागी असम्भव नै त होईन निक्कै मुस्किल भने छ। धेरै विद्यार्थीहरू ‘पीटीई’ वा ‘आईएलटीएस’को ‘कोचिंग’ दिने ‘ईन्टिच्यूट’ले प्रस्तुत गर्ने ‘बेस्ट केश’ (उत्तम उदाहरण)को ‘मार्केटिंग मटरियल’ हेरेर एक-दुई वर्ष सिड्नीमा नै भाग्य आजमाउने सोचमा रहेको पनि देखिन्छ, जुन धेरै सन्दर्भमा ‘पीआर’ ढिलो पाउने बाटो मात्र हुन जान्छ।

सिड्नीमा कलेज, विश्वविद्यालयको पढाई साथै पढाई पछीको ‘पीवाई’ (प्रोफेसनल ईइर-जुन अष्ट्रेलियाको व्यवसायिक सिप हासिल गर्न र सम्बन्धित क्षेत्रमा सम्पर्क बनाउन उपयोगी हुन्छ), अंग्रेजी तथा नेपाली भाषा परिक्षाको तयारी सस्तो शुल्कमा गर्न सकिएपनि ‘पीआर’को दृष्टिबाट भने सिड्नी सहज चाहिँ छैन।

के गर्दा ठीक?

सिड्नी शहर हेर्दा र यहाँको जिवन शैली अंगाल्न निक्कै रहर लाग्दो छ। हरेक सप्ताहन्तका नेपाली सिनेमा र पार्टीहरूको आयोजनले शनिबार र आईतबारलाई कम्ता रौनक पूर्ण बनाउँदैनन्। त्यसो त यहाँका सामुन्द्री तट (बीच)हरू, बार, पब अनि मेलाहरूले जिन्दगीका सबै रंग देखाउँछन्। पैसा हुनेका लागी जिवन जिउन साह्रै नै सही ठाम हो सिड्नी। त्यसो त यहीँ काम गरेर पनि त्यसखालको जिवनशैली अपनाउन सकिन्छ। तर यदी ‘पीआर’ ताकेर आउने हो भने नेपालबाट आउँदा नै आफ्नो भविष्यको योजना बनाएर त्यसै अनुसारको लगानीको स्रोत पहिचान गर्नु अत्यन्त आवश्यक छ। नत्र सिड्नी हिँडेका सन्तान सन्नाटामा सामसुम हुन बेर लाग्दैनन्। त्यसैले अष्ट्रेलिया आउने सोचमा हुनुहुन्छ भने पहिले नै ‘प्लान ए’ र ‘प्लान बी’ बोकेर आउनुस्। सिड्नीमा नै पढाई सकेकाहरूले पनि अब ‘प्लान ए’ र ‘प्लान बी’ दुवैमा काम गर्न थाल्नुस्। सबै कुरा र सबै सन्दर्भमा ‘एजुकेशन कन्सल्टेन्सी’का परामर्शदाताका कुरा पनि सही नहुन सक्छन्, धेरै ‘एजुकेशन कन्सल्टेन्सी’का परामर्शदाताहरूमा निक्कै कम मात्रले अष्ट्रेलियाको करिअरबारे सल्लाह दिन सक्छन् बाँकी त कोर्ष एजेन्ट मात्र हुन्। त्यसैले सिड्नी शहरलाई रहरमा भन्दा पनि वास्तविकतामा बुझौं ! किनकी हामीमै पनि फरक फरक वास्तविकताहरू छन्।

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

हुण्डी गर्नेलाई हुनसक्छ कारवाही, बैंकिङ च्यानलबाट पैसा पठाउन राजदूतको अनुरोध - NepaliPage

हुण्डी गर्नेलाई हुनसक्छ कारवाही, बैंकिङ च्यानलबाट पैसा पठाउन राजदूतको अनुरोध

अष्ट्रेलियामा बस्ने नेपालीहरूले बैंकिङ र वैध माध्यमबाट भन्दा बाहिरबाट नेपाल पैसा पठाउने गरेको कुरा कसैबाट …