अष्ट्रेलियामा स्थायी बसोबासको प्रबन्ध मिल्नासाथ भाडाको घरमा किनबस्नु घर किनियो भने त भाडा तिर्ने पैसाले मासिक मोर्टगेजको किस्ता पुग्छ अनि केही वर्ष पछी घरै आफ्नो हुन्छ। अरूलाई किन धनी बनाउने? भन्ने सोच र संवृद्धिको सूचक भएकाले अष्ट्रेलियामा काम र भिजा स्थायी भएपछी हरेक नेपालीले घर किन्ने योजना बनाउँछ। घर भनेको भवन संरचना मात्र नभएर परिवार हो भन्ने नेपाली मान्यताले पनि यसमा अलिकता ‘पुस’ गरेको हुन्छ।
‘बिहे गरें हतारै हतारमा फुर्सतैमा लाग्यो पछुतो…..’
केही समय अघि निक्कै लोकप्रिय भाका हो यो लोकगीतको। जसले नेपाली समाजमा हतारमा निर्णय गर्ने अनि फुर्सतको समयमा निर्णय गर्नुअघि सोच्नुपर्ने र अध्ययन गर्नुपर्ने विषय साथै अपनाउनु पर्ने सावधानीका विषयमा सोच्ने शैलीलाई झल्काउँछ। हतार हतारमा निर्णय र काम गरेर फुर्सतमा चुकचुकाउने अक्सर देखिन्छ नेपालीमा। बिहे अनि सम्बन्ध मात्र हैन राजनीति र लगानीका विषयमा पनि यस्तो देखिन्छ। अष्ट्रेलियामा बस्ने नेपालीहरूमा पनि यसखालको हतार हतारमा निर्णय र काम गर्ने अनि फुर्सतमा पछुताउने शैली चाहिँ देखिन्छ। विशेष गरेर यो पोस्टमा मैले चर्चा गर्न खोजेको चाहिँ घर किन्ने सबाललाई लिएर हो।
पछिल्लो दुई वर्ष देखी अष्ट्रेलियाको घरजग्गा खरिदको विषय आफूसँग सम्बन्धित रहेको कारण यो क्षेत्र मेरो चासोको विषय बनिरहेको छ। यसविषयमा धेरैजनासँग कुराकानी र छलफल गरिरहेको छु। घर तथा जग्गा हेर्ने र त्यसको मूल्यांकन यसबाट पाउन सकिने लाभ हानीका विषयमा अनेकन कोणबाट हेर्ने पर्गेल्ने काम भईरहेको छ। नेपाली समुदायमा चिनिएका, सक्रिय रियलट एजेन्ट तथा मोर्टगेज एजेन्ट स्टेलगायत बिल्डर्ससँग पनि छलफलमा उत्तिकै लागिरहेको छु अनि टुच्च टुच्च नयाँ घर किन्न लागेका साथीभाईहरूसँग उनीहरूको घर योजना, बचत आदी ईत्यादीमा समेत कुराकानी हुन्छ। कतिजनाको त बैना छोडेको घर पनि यो यो कारण ठिक नहुनसक्छ है भनेर बैना फिर्ता गर्ने निर्णयमा पुरयाएको नि छु। म जोडिएका रियलट एजेन्ट तथा मोर्टगेज एजेन्टलाई त म अनेकन सिल्ली र हाँसै उठ्ने खालका अनि ‘ले म्यान’ प्रश्नहरू पनि राख्छु। यी सबैबाट मलाई मिल्ने भनेको अनेकन कोणको जानकारी हो, जसले भविष्यमा यो क्षेत्रमा लाग्नका लागी मलाई तयार पार्छ किनभने भोली मलाई गरिने प्रश्नहरू पनि त्यस्तै हुन्छन्।
यस्तै घर जग्गाको खरिद अनुभव, छलफल अनुभव साटासाटका क्रममा २०२० को डिसेम्बरमा कुराकानी भएका तिन प्रसंगहरू यो पोस्टमा बाँढ्न गईरहेको छु। खासमा हतार गरेकै कारण अलिकता पछुतो भएको ‘थिम’ भएकाले तिन प्रसंग यहाँ उल्लेखनिय हुन गएका हुन्।
यो पनि पढ्नुस: कोरोनाकै कारण बेच्नुपर्ने हुनसक्छ अष्ट्रेलियामा किनेको घर
युनिटमा त स्टार्टा नै धेरै हुने रहेछ
अष्ट्रेलियामा स्थायी बसोबासको प्रबन्ध मिल्नासाथ घर किनेर ‘सेटल’ हुने सोच अनि साथिभाईले किनिसकेको अवस्थाका बीच घर किन्न स्वभाविक दबाब परयो। बजार पनि घटेको मौका छोप्ने हतारोमा घर किनेका फलानो (साथीभाईको गोपनियता खोल्ने कुरा भएन 🙂 )ले चाहिँ घर पनि सस्तो अनि बिल्डरले नि छुट देको मौकामा पहिलो नयाँ घर किन्नेलाई सरकारले दिने अनुदान सबैको हिसाब गरेर सस्तोमा युनिट ड्याम्मै हाने। हिसाब गरेर दुई चार वर्ष युनिटको भाउ घटेको खण्डमा पनि ‘रिजनेबल’ नै लाग्ने गरेर हिसाब गरेर किनेको हो। पहिले त ठिकै त हो नि जस्तो लागेको थियो, पछि हिसाब गर्दा ‘स्टार्टा’ले नि डुबाउने रहेछ। करिब चार हजार डलर जति त वार्षिक रूपमा स्टार्टामा नै जाने भयो त्यसमाथि काउन्सिल अरू बिलहरूको त छुट्टै हिसाब भईहाल्यो। ‘पहिले सबै खर्च यति आउँछ भनेर राम्रोसँग हिसाब गरिएन, एजेन्टले नि लोकेशन काईदाको छ, बढ्छ पछी नयाँ रेल अनि पूर्वाधार विकासले ठाम निक्कै दामी बन्ने भने आफूलाई नि हो त, भन्ने लागेको अनि घर किनिहालुम भन्ने भएकाले लिईहालें अहिले हिसाब किताब खर्च मिलाउन गाह्रै छ’ साथीको घर किनिसकेपछीको अनुभव। उसले थप भन्यो घर किन्दा चैं अलिक धेरै नै ‘स्टडी’ गर्न पर्छ, ‘युनिट किन्दा खर्च गरेको जति पैसा ले त एक दुई स्टेशन उता घर नै आउने रहेछ, युनिट चाहिँ भाडामा लगाएर ईन्भेष्टमेन्ट प्रोपटीको लागी ठिक हुने रैछ, रियल स्टेट एजेन्टको कुरा धेरै पत्याईयो पहिलो घर किन्दा त आफ्नो सुविधा हेर्ने हो रहेछ, जता एअरपोर्ट बने नि रेल बने नि काम, स्कुल, चाईल्डकेयर र ग्रोसरी पसल नै चाहिने हो आफूलाई।’ यतिखेर खाली रहेको युनिटमा सेयरिंगमा कसैलाई राख्न पाए यसो खर्च चलाउन सजिलो हुनेथियो भनेर सेयरिंगमा बस्न विद्यार्थी जोडा खोजिरहेको छ साथी।
५० हजार कम मै बेच्दिन्छु
बुडाबुडी कै स्थायी जागिर फ्याट्ट पीआर आईहाल्यो। दुई महिना नेपाल घुमेर आएपछी छ महिना ध्वस्त काम गरेर बैंकबाट ऋण पास गर्न सजिलो बनाईयो अनि झ्याप्प नेपालीहरूको बसोबास नि धेरै भएको ठाउँ, स्टेशनको नि नजिक, मूल्य नि ठिकै भनेर युनिट लिईयो तर ठिक त घरै रहेछ बस्नको लागी, ढिस्कानो चैं साथीले भन्या कुरा। (नाम चैं मलाई र त्यो साथी बाहेक अरूले भेउ पाउन गाह्रै छ, गोपनियताको कुरो जो छ) ‘बस्दै जाँदा झ्याउ हुँदो रहेछ। युनिटमा बस्न अलिक बानी नपरेको जस्तो लाग्यो, स्टार्टाको खर्च, शहरको कोलाहल, बच्चाहरूलाई पनि त्यती ठाउँ पुगे जस्तो लागेन, युनिटको मूल्य नि किनेको बेला भन्दा अझ घटेको छ’ साथी दुई वर्ष भएको छैन युनिट किनेर बस्न थालेको। यसबीचमा डेभेलोपरको साना तिना समस्या बाहेक खास अरू त केही परेको छैन। ‘पछी अर्को घर किनिहालिन्छ अहिले यो लगानी जस्तो नि हुन्छ भनेर किनिहालियो, सस्तो र मौका छोपिहालम भनेर हतारमा अल्लि राम्रो अध्ययन पुगेनछ, मैले किनेको भन्दा ५० हजार कम दाम पाए पनि बेचिदिन्छु भन्ने सोच्दैछु’, किनेको दुई वर्षमा नै बेचेर अर्को तिर सर्ने सोचिसक्यो साथीले फेरी।
यो पनि पढ्नुस्: घर किन्न बैंकको ऋण खोज्दै हुनुहुन्छ? यसविषयमा जानिराख्नुस्
नयाँ घर भनेर किनियो, पैसा नि धेरै लाग्यो बच्चालाई स्कुल नि भएन
यो चाहिँ नयाँ विकास भएको राम्रो सवअर्ब भनेर जग्गा र घरको प्याकेजमा किनेको साथी हो। नाम चैं चिलानो सवअर्ब नि चिलानै भनम्। सबैले घर किने चिनेजानेको। अष्ट्रेलिया आएको नि १० वर्ष नाघ्यो। फेरी नेपाली कम्युनिटीमा घर जग्गा बेचाउने एजेन्टको नि भिड धेरै भएकोले घर जग्गाको कुरा नि धेरै हुने आफुले नि किन्न सकिएन अब त आँट्न पर्छ भन्ने लागिरहेको बेलामा फ्याट्ट ब्याजदर घटेको भनेर घरजग्गा प्याकेज समातेका हुन् यी साथीले। उनको घर नजिकै अरु घरहरू बन्दै छन् तर बनेर सकिईसकेका छैनन्। ‘समस्या के भयो भने घर त बन्यो छरछिमेकको घर बनेकै छैन, फेन्स चैं घरको प्याकेजमा जोडिएको हुन्न रहेछ सबै आफै हालम पछि आउनेले पैसा दिन्नन २५-३० हजार डलर आफ्नै जान्छ, नहालम असुरक्षित जस्तो लाग्ने’, नयाँ ठाममा घर किन्दाको अनुभव सुनाउँदै भने साथीले। ‘घर नयाँ छ बस्ती नि नयाँ स्कुल बनेकै छैन, मान्छे जम्मा नै भईसकेका छैनन् आफ्नो छोराछोरी स्कुल जाने उमेरका भईसके अब उनीहरूलाई स्कुल पुरयाउनै एक जनाले काम छोड्नुपर्ने देखियो,’ नया सवअर्बमा सार्वजनिक बस सेवा र विद्यालयको स्थिती नबन्दा सम्म चाहिँ गाह्रो हुने रहेछ भन्ने साथीको अनुभव रहयो। ‘नयाँ भनेर के गर्नु घर धान्न दुई सिफ्ट काम एक्लैले गर्न पर्ने स्थिती छ’, साथीले नयाँ घर नयाँ सवअर्ब भनेर अलिक आफ्नो स्थितीसँग मेल नखाने निर्णय गरें कि भनेर सुनायो।
अष्ट्रेलियामा घर किन्नुअघी आउन सक्ने कुराहरू के रहेछन् त केमा ध्यान दिने भन्ने जान्नको लागी मलाई चाहिँ साथिभाईहरुसँग गरेको छलफलले निक्कै सहज बनायो। के कस्ता कुरामा ध्यान दिने घर किन्दा के के कुरामा गलत हुन सकिने रहेछ भन्ने चाहिँ एक पटक घर किनेर भुक्तमान भएकाले भन्दा अरू कसले प्रष्ट पार्न सक्छ र? एजेन्टका त कताको कमिसन कताको सेल्स बढाउनुपर्ने भन्ने पनि दिमागमा खेलिरहेको हुन्छ। साथीहरू बिचरा घर किनेर काममा धसिएर कसरी बिल र मोर्टगेज सकौं भन्नेमा छन्।
अष्ट्रेलियामा पीआर भईसक्यो र घर किन्ने सोचमा हुनुहुन्छ भने घर किन्नु अघि विभिन्न कोणबाट खर्च साथै आफ्नो जिन्दगीका अरू कुराहरूसँग जोडिएका सबै पक्षमा अध्ययन गरेर मात्र पाईला सार्नुस्। सरकारले दिने छुट, घर नजिकै बन्ने भनेको एअरपोर्टले तपाईंको जिन्दगीमा निक्कै कम प्रभाव पार्न सक्छ जति तपाईंको तत्कालको काम, छोराछोरीको पढाई र काम र जिवनबीचको तालमेलले। ठूलो घर, ठूलो ऋण र ठूलो तनाब तपाईंले चाहेको हो हैन विचार गरौं। हतारमा छुट हात पार्ने हिसाबमा घर किनेर फुर्सतमा पछुताउने अवस्था नआओस् नि !
(यो कुनै विशेषज्ञ सल्लाह चाहिँ होईन, तपाईको अर्थतन्त्र र आवश्यकता सम्बन्धी तालमेल मिलाउने कसरी? भनेर सोच्दै हुनुहुन्छ भने विशेषज्ञसँग नै परामर्श गर्नुहोला)
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally
Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.
अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।