खानाको विषाक्तताका कारण चिनमा एकै परिवारका नौ जनाले ज्यान गुमाएका छन्। चीनियाँ संचार माध्यमहरूमा आएको खबर अनुसार एक वर्ष सम्म ‘फ्रिजर’मा राखेको चाउचाउ खाँदा एउटै परिवारका नौ जनाको मृत्यु भएको हो।
लामो समय सम्म रसायनिक प्रतिक्रियाका लागी छोडेर (कुहाएर/फर्मेन्टेड) राखेको एक किसिमको बाक्लो चाउचाउ (सुवानतांग्जी) खाएका कारण उनीहरूको ज्यान गएको हो। यो घटना चीनको उत्तरी क्षेत्र हेलियोनजियाङको जीसी शहरको हो। उक्त चाउचाउ खाएकै कारण परिवारका सात सदस्यको मृत्यु अक्टोबर १० मा भएको थियो भने आठौं सदस्यले १२ अक्टोबरमा ज्यान गुमाएका थिए। नवौं सदस्य ४७ वर्षिय महिलाको निधन १९ अक्टोबर सोमबार भए पछी चाउचाउकै कारण मर्नेको संख्या नौ पुगेको हो। ‘ली’ थर भएकी ति महिलाको स्थानिय अस्पतालमा उपचार भईरहेको थियो। उनको छोरालाई उदृत गर्दै समाचार माध्यमहरूले परिवारको नौ जनाको मृत्यको पुष्टी गरेका छन्। यस घटनाको लगत्तै चीनको राष्ट्रिय स्वास्थ्य आयोगले लामो समय सम्म रसायनिक प्रतिक्रियाका लागी छोडेर (कुहाएर/फर्मेन्टेड) राखेर तयार पारिने चामल तथा पिठोका खानेकुरा बनाउन र खान बन्द गर्न अनुरोध गरेको छ।
आयोगले कुहाएर तयार गरिएको चाउचाउ खाएका बिरामीहरूको दिसामा धेरै मात्रामा बोंगक्रेकिक एसिड भेटिएको जनाएको छ। रसायनिक प्रतिक्रियाका लागी छोडेर (कुहाएर/फर्मेन्टेड) राखेर तयार पारिने चामल तथा पिठोका खानेकुरामा हुने बोंगक्रेकिक एसिडका कारण मानिस तथा पशुपंक्षि बिरामी हुने मात्र होईन ज्यान समेत जानसक्छ। अति नै विशाक्त हुने यो एसिड (अम्ल) उच्च तापक्रममा राम्ररी पकाउँदा पनि नष्ट नहुने खालको हो। चाईना डेलीले यो अम्लका कारण मृत्यु हुने दर ४० देखी माथि रहेको उल्लेख गरेको छ।
परिवारका तीन बालबालिकाले यस खालको चाउचाउ मन नपराएका कारण उनीहरूलाई मकैको चाउचाउ दिईएको कारण उनीहरू भने स्वस्थ रहेका छन्।