भिजा क्यान्सिल समेत हुनसक्छ, कन्सल्टेन्सी छान्दा दिनुस् ध्यान

एजुकेशन कन्सल्टेन्सी अर्थात्, ‘शैक्षिक परामर्शदाता’ले विद्यार्थीलाई उनीहरूको योग्यता साथै आर्थीक र अरू क्षमताको आधारमा अष्ट्रेलियाका विश्वविद्यालय र उनीहरूका कोर्ष साथै तिनले विश्व वा नेपाल फर्केर वा अष्ट्रेलियामा नै करिअर संभावनाका बारेमा सल्लाह दिने हो। तर, अष्ट्रेलियामा सुरू सुरूमा गएका नेपालीले पाएको सफलता र उनीहरूको जिन्दगी देखेर अष्ट्रेलियाको सपना देखेका विद्यार्थीलाई अष्ट्रेलियन आवासिय भिजा (पीआर)को ‘पाथवे’ भन्दै राम्रा ‘यूनिभर्सिटी’बाट सस्तो ‘फि’ भएका कलेजहरूमा सार्ने काममा कन्सल्टेन्सीहरूको सहभागिता धेरै हुन थालेको छ। पछिल्लो समय फेसबुकमा विभिन्न ‘ग्रुप’ बनाउने, त्यस्ता ‘ग्रुप’को माध्यमबाट विद्यार्थीहरूमा ‘यूनिभर्सिटी’ छोडेर कलेज नै जानुपर्छ, ‘फि’ तिर्न सकिन्न भन्ने खालको विचार निर्माण र प्रसार गराउने काम धेरै भईरहेको छ। त्यसो त नक्कली बिहे र कागज बनाएर नेपालबाट अष्ट्रेलिया ‘डिपेन्डेन्ट’का रूपमा ल्याउने क्रम पनि तिब्रताका साथ चलिरहेको छ। जसले विद्यार्थी उनीहरूको डिपेन्डेन्ट र परिवारमा पर्ने र परिरहेको असर परिकल्पना भन्दा बाहिर नै छ। यसबारे केही कुरा बाहिर आएको पनि छैन र तत्काल यसबारेका तथ्यहरू आउने संभावना पनि देखीँदैन।

अष्ट्रेलिया आईसकेका विद्यार्थीहरूको समाचार आउने र उनीहरूको बारेमा कुरा हुने भनेको बिग्रेको बारेमा मात्र हो। उनीहरूलाई सही बाटोमा लाग्न चाहिँ कसैले सिकाएको र सल्लाह दिएको पनि हुँदैन। उनीहरूलाई अष्ट्रेलियासँग साक्षात्कार गराउने एजुकेशन कन्सल्टेन्सीहरुको भूमिका चैं कलेज वा यूनिभर्सिटीमा भर्ना गराइदिएर कमिसन हात पारेपछी सकिन्छ। त्यसपछी उक्त विद्यार्थीसँगको एजुकेशन कन्सल्टेन्सीको सम्पर्क भनेको ‘भिजा एक्सटेण्ड’ गर्ने, ‘ईन्सोरेन्स’ किन्ने समयमा मात्र हो। कतिपयले चाहिँ वार्षिक रूपमा ‘ट्याक्स रिटर्न’ गर्ने समयमा ‘क्लाइन्ट’ बनाउन विद्यार्थीसँग सम्पर्क गर्छन्। कलेज, कोर्षमा भर्ना गराउने, कलेज सार्ने, ‘इन्सोरेन्स प्लान’ खरिद, भिजा र कोर्षबारे समस्या पर्ने वा सेवा चाहिने समयमा ‘क्लाइन्ट’ बनाउने भन्दा बढी एजुकेशन कन्सल्टेन्टहरूको अरू भूमिका देखिँदैन। विद्यार्थीहरूलाई कलेज, कोर्ष बेचेबापत कमिसन पाउने एजुकेशन कन्सल्टेन्सीहरूले ‘सामाजिक दायित्व’का रूपमा विद्यार्थीलाई करिअर, भविष्य, आर्थिक व्यवस्थापन, उनीहरूको दायित्व लगायतका क्षेत्रमा जानकारी दिने खालका कार्यक्रम पनि गर्दैनन्। बरू, मदिरापान सहितका पार्टी, सिनेमा प्रदर्शन साथै आफ्ना स्तुतीगान छपाउनमा उनीहरूको खर्च ‘स्पोन्सरसिप’को नाममा गईरहेको हुन्छ।

कतिपय शैक्षिक परामर्शदाता त शैक्षिक परामर्शदाता भन्दा पनि विद्यार्थीलाई यता उता मिलाएर उनीहरूलाई सबैखालका सेवामा ‘क्लाइन्ट’ बनाउने र नाफा कमाउने धुनमा मात्रै देखिन्छन्। नत्र, शैक्षिक परामर्शदाताको संलग्नता सिनेमा देखाउने पार्टी गर्ने कामहरूमा सिधा संलग्नता नहुनुपर्ने हो। उनीहरूले त विद्यार्थीले अष्ट्रेलियामा पाउन सक्ने शैक्षिक तथा ‘करिअर’ क्षेत्रको सफलताको सुझाव दिने हो। अझ कतिपयले त विद्यार्थीको भिजा प्रक्रिया नै आफैले विद्यार्थीको एकाउन्ट प्रयोग गरेर आफूलाई विद्यार्थीको भूमिकामा राखेर गरिदिने गर्दछन्। हुनु पर्ने चाहीँ के हो भनेे विद्यार्थीको भिजा सम्बन्धी काम चैं ‘रजिष्टर्ड माइग्रेसन एजेन्ट’ले नै गर्नुपर्छ।

कानुनी र व्यवसायिक प्रक्रिया पुरयाउन सक्ने जो कसैले पनि नाफा धेरै हुने क्षेत्रको रूपमा एजुकेशन कन्सल्टेन्सीमा लगानी गर्ने क्रम बढेको छ यतिखेर। यसो हुँदा फाइदा भनेको सित्तैमा विद्यार्थीलाई कलेज र कोर्सबारे सामान्य जानकारी मिलेको छ तर यसमा महत्वपूर्ण कुरा के हुन्छ शैक्षिक परामर्शदाताले आफूलाई धेरै कमिशन आउने कलेज तथा कोर्षको मात्र जानकारी दिने खतरा छ। जसले विद्यार्थीको भविष्य अन्यौल र खतरामा छ। धेरै एजुकेशन कन्सल्टेन्सी कमिसन धेरै मिल्ने कलेज तथा कोर्षमा भर्ना गराउने, कलेज तथा कोर्ष सार्ने तर्फमात्र देखिन्छन्। उदाहरणको रूपमा हेर्ने हो भने पछिल्लो समय सबैजसो नेपाली एजुकेशन कन्सल्टेन्सीले विद्यार्थीलाई बढ्दो ‘माइग्रेसन प्वाइन्ट’को आवश्यकतालाई पुरा गर्न विद्यार्थीलाई ‘नाती रिकग्नाइज्ड’ ‘इन्टरप्रिटेसन’ कोर्षमा भर्ना हुन लगाए। जस्को शुल्क ५ हजार डलर देखी ८ हजार डलर सम्म थियो। तर धेरै थोरै (कसैले पनि दिएन भन्न सकिने)  एजुकेशन कन्सल्टेन्सीले विद्यार्थीलाई ‘पाराप्रोफेसनल इन्टरप्रिटेटर’को ‘एक्रिडिटेसन’  सिधै ‘नाती’मा परिक्षा दिएर लिन सकिने छोटो र सजिलो बाटो देखाएनन्। जसले एक हजार डलरमा नै ‘५’ ‘माइग्रेसन प्वाइन्ट’ पाउने संभावना बोक्थ्यो। (यसबारे फेसबुकमा नाती गर्ने अन्तिम मौका भनेर एजुकेशन कन्सल्टेन्सीहरूले गरेको विज्ञापन खोजेर नै हेर्न सकिन्छ)। भिजा क्यान्सिल समेत हुनसक्छ, कन्सल्टेन्सी छान्दा दिनुस् ध्यान - Nepali Page

अष्ट्रेलियामा उपलब्ध कमाईको अवसर, धेरै ‘पे’ पाउने सम्भावना र अवसरहरूका बारेमा जानकारी नपाएर धेरै विद्यार्थीहरू आफ्नो पढाई र अन्य आवश्यकताका खर्च व्यवस्थापन गर्न सकिरहेका छैनन्। कतिपय विद्यार्थीहरूको अष्ट्रेलियन सपना पीडादायी रूपमा अन्त्य भएका छन्। भने धेरैको अष्ट्रेलिया बसाईको स्तर नेपालको भन्दा पनि तल्लो बन्न पुगेको छ। यस्ता कुराहरूले विद्यार्थीमा मानसिक समस्याहरू समेत उत्पन्न गरिरहेको छ। अष्ट्रेलियामा सक्रिय धेरै नेपाली एजुकेशन कन्सल्टेन्सीको भूमिका बारे नेपाली समुदाय नै आलोचक बनिरहेको सन्दर्भमा मेलबर्नमा भने एजुकेशन कन्सल्टेन्सीको लापरवाहीको कारण विद्यार्थीको भिजा नै क्यान्सिल भएको कुराले समुदाय एजुकेशन कन्सल्टेन्सीको काम प्रति थप आलोचक बनिरहेको छ।

अष्ट्रेलियाको नेपाली समाजमा ‘ओपिनियन लिडर’ र अग्रणी महिला (धेरैले सम्मानका साथ दिदी भन्नुहुन्छ) मेलबर्नकी दिपा राई सामाजिक संजाल फेसबुकमा भन्नुहुन्छ, ‘एक नेपाली विद्यार्थीको भिजा एजुकेशन एजेन्टको असावधानीको कारण भयो।’ उहाँको स्टाटसमा धेरै लामो बहस भएको देख्न सकिन्छ।

उहाँको फेसबुक स्टाटस यहाँ छ, जहाँ गएर यसबारे भएको थप कुराकानीहरू थाहा पाउन सकिन्छ:

एजुकेशन कन्सल्टेन्सी छान्दा के कुरामा ध्यान दिने?

एजुकेशन कन्सल्टेन्सी जसका एजुकेशन कन्सल्टेन्टले तपाईंलाई तपाईंको पढाईको पृष्ठभूमि र अवस्था बुझेर तपाईंको भविष्यको योजना सम्मको जानकारी लिएर कोर्ष वा यूनिभर्सिटीको बारेमा जानकारी दिन्छन् तर यो नै कोर्ष वा यूनिभर्सिटीमा भर्ना हुनुपर्छ भन्ने खालको दबाब पूर्ण कुरा गर्दैनन् ती व्यवसायिक हुनसक्छन्। यदी तपाईं राम्रो एजुकेशन कन्सल्टेन्सीको खोजिमा हुनुहुन्छ भने यस्ता कुरामा ध्यान दिँदा राम्रो र उपयुक्त एजुकेशन कन्सल्टेन्सी पत्ता लगाउन सक्नुहुन्छ।

 

एजुकेशन कन्सल्टेन्सी जसले तपाईंलाई ‘अपोइन्टमेन्ट’ दिँदा केही ‘फी’ वा शुल्क लिन्छ, त्यो राम्रो एजुकेशन कन्सल्टेन्सी हो। शुल्क लिएपछी सही सुझाव र सल्लाह दिनु उसको नैतिक र कानुनी दायित्व हुन्छ। याद राख्नुस् सित्तैमा सल्लाह दिने एजुकेशन कन्सल्टेन्टले तपाईंलाई दिने सुझाव उनीहरूलाई आउने कमिसनलाई ध्यानमा राखेर हुन्छ। जस्तो कि, अष्ट्रेलियाका यूनिभर्सिटीहरूले १०-१५ प्रतिशत कमिसन दिन्छन् भने कलेजहरूले उस्तै कोर्षमा ३०-४० प्रतिशत सम्म कमिसन दिन्छन्। यस्तो अवस्थामा एजुकेशन कन्सल्टेन्सीको जोड कलेजमा भर्ना हुनेमा हुन्छ। यसका लागी उनीहरूले तपाईंलाई भन्ने भनेको ‘पीआरको लागी दुवैको मान्यता उस्तै हो’, तर जब पढाइ सकिन्छ, पीआर पाइन्छ र काम करिअरका लागी लागिन्छ तपाईंको पढाईले काम गर्दैन। करिअर र भविष्यका लागी फेरी यूनिभर्सिटी नै जानुपर्ने हुनसक्छ।

 

एजुकेशन कन्सल्टेन्सी जसले कलाकार, खेलाडी वा अरू चर्चित अनुहारलाई ‘ब्राण्ड एम्बेसडर’ बनाएर उभ्याउँछन्। त्यस्ता एजुकेशन कन्सल्टेन्सीलाई ‘अभोइड’ नै गर्दा राम्रो हुन्छ। त्यस्ता एजुकेशन कन्सल्टेन्सी नछान्नुस्। अष्ट्रेलियाको शिक्षा ‘चकलेट’ हैन र ‘एजुकेशन कन्सल्टेन्सी’ चकलेट उत्पादक हैनन् जसलाई ‘ब्राण्ड एम्बेसडर’ उभ्याएर बिकाउन परोस्। यदी ‘ब्राण्ड इम्बेसडर’ भनेर कसैले मेरो एजुकेशन कन्सल्टेन्सीबाट अष्ट्रेलियामा पढेको फलानो विद्यार्थीले यो विषयमा यस्तो गरयो र यस्तो ठूलो कम्पनिमा यो पदमा छ भनेर देखाउँछ भने त्यो बरू राम्रो मान्न सकिन्छ।

 

एजुकेशन कन्सल्टेन्सी जसले उसैसँगबाट ‘इन्सुरेन्स प्लान’ किन्नमा जोड दिन्छ। किनभने यस्ता प्लान एजुकेशन कन्सल्टेन्सीबाट भन्दा ‘अनलाइन’ किन्दा विद्यार्थीलाई सस्तो पर्नसक्छ।

 

एजुकेशन कन्सल्टेन्सी जसले कन्सल्टेन्सीको कार्यालय वा आवरणमा चलचित्र प्रदर्शन देखी पार्टी आयोजना गर्छ अनि हुण्डी देखी मेला आयोजना गर्छ। त्यस्ता एजुकेशन कन्सल्टेन्सी संचालको चासो नाफा र कमाइमा धेरै हुने हुँदा तपाईंको करिअर, भविष्य, पढाईको कुनै मतलब हुँदैन।

 

एजुकेशन कन्सल्टेन्सी संचालक जसले आफूलाई अष्ट्रेलियाको नेपाली समुदायको फलानो संस्थाको फलानो, एनआरएनको फलानो कमिटीको भनेर चिनाउँछ र ठूलो समाजसेवी भएको दाबी कस्छ उसको एजुकेशन कन्सल्टेन्सीबाट तपाईंले राम्रो सेवा पाउने संभावना कम हुनसक्छ। उसको यस्ता भूमिकाले तपाईंको लागी व्यवसायिक रुपमा शिक्षा र करिअरको उपयुक्तता जाँच्ने क्षमता दर्शाउँदैन।

 

एजुकेशन कन्सल्टेन्सी संचालक वा एजुकेशन कन्सल्टेन्ट जसका बारेमा अष्ट्रेलियाका नेपाली म्यागेजिनमा नेपालबाट आउँदा यस्तो, नेपालमा यो स्कुल, यो कलेजमा पढेको यस्तो समाजसेवा गरें र यहाँ यस्तो सफलता पाएँ भनेर ठूलो साइजमा ‘प्रोफाइल’ छापिएको हुन्छ तिनलाई पनि छनौटको वर्गको रूपमा नराख्नु राम्रो हुन्छ। एजुकेशन कन्सल्टेन्सी संचालक वा एजुकेशन कन्सल्टेन्टको अन्तर्वाता भनेको उनीहरूको विज्ञताको विषयमा र समय सापेक्ष हुनु पर्छ। अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागी शिक्षा सम्बन्धी व्यवस्थामा बदलाव ल्याउन खोजेको वा उक्त एजुकेशन कन्सल्टेन्टले निक्कै ठूलो लगानी वा कुनै विषयको घोषणासँग जोडिएको बाहेक एजुकेशन कन्सल्टेन्सी संचालक अन्तर्वाता वा प्रोफाइल छाप्नै पर्ने व्यक्तित्व हैन। त्यसैले यस्तो अन्तर्वाता जसको छापिएको छ उसले आफैलाई बढी (अवास्तविक) मुल्यांकन गरिरहेको छ भनेर सिधा बुझ्न सकिन्छ। त्यसमा पनि अष्ट्रेलियामा नेपाली मिडियाले ‘मित्रकारिता’ गर्ने केही आर्थीक वा अरू लाभ लिएर अन्तर्वाता वा प्रोफाइल छाप्ने गर्छन् भन्ने पनि सुनिन्छ। त्यसैले यस्तो अन्तर्वाता वा प्रोफाइलबाट पनि जोगिनु उपयुक्त नै हुन्छ।

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने - NepaliPage

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने

अष्ट्रेलियामा पछिल्लो पटक भएका दुई ठूला डिजीटल सूचना गोपनियता भंग भएका घटनाबाट प्रभावित नेपालीले नयाँ …