यी कुरामा ध्यान दिऔं नेपाल पैसा पठाउँदा

नेपालमा सोचे जस्तो र सुने जस्तो सजिलो नभएपनि अष्ट्रेलिया आएपछी नेपालीहरुको कमाई र जोगाईको दर राम्रो नै छ। साधारणतया अष्ट्रेलियामा सातामा पाँच दिन (सोमबार देखी शुक्रबार) काम गर्ने नेपालीहरुले १५०० डलरको हाराहारीमा आमदानी गर्छन्। विद्यार्थीको हकमा यो अंक ७०० देखी १००० को बिचमा हुनसक्छ। अष्ट्रेलियामा व्यवसायमा संलग्न हुनेहरूको आमदानी यो भन्दा धेरै नै गुणा हुने त सामान्य अनुमान नै गर्न सकिने कुरा हो। अष्ट्रेलियामा कामदार तथा कर्मचारीहरूका बिचमा भिजाको कारणले उनीहरूलाई दिने तलब (पे भन्ने चलन छ अष्ट्रेलियामा)को दरमा भने खासै भिन्नता हुँदैन। तर विद्यार्थीहरूले साताको २० घण्टा मात्र काम गर्न पाउने भएकाले उनीहरूलाई सुरूमा काम पाउन भने केही समय गाह्रो हुन सक्छ। अष्ट्रेलिया बस्ने नेपालीहरूको कमाई राम्रै भएको कारण नै हुनुपर्छ धेरै भिन्न मत भएको सानो समुदायमा पनि धेरै संख्यामा संस्थाहरू छन् भने सातामा पाँचसातवटा कार्यक्रम आयोजना हुनु र विकेण्डमा दुईतिनवटा सँगै पर्नु सामान्य हो।

अष्ट्रेलियामा सुरूमा खुब दुख भएपनि विस्तारै काम र कमाईको शैली थाहा भएपछी हरेकको आमदानी राम्रै भएकाले यहाँबाट नेपाल पैसा पठाउने क्रम र दर पनि राम्रो नै छ। त्यसो त अष्ट्रेलियाको डलर नेपालमा रूपैंयामा परिवर्तन हुँदा त्यसको मूल्य बढ्ने भएकाले पनि नेपालमा अष्ट्रेलिया आउँदा लागेको ऋण तिर्न तथा घर जग्गा जोड्न सजिलो हुने भएकाले हरेक साता हजारौं नेपाली विद्यार्थीले करोडौं नेपाल पठाउँछन्। अष्ट्रेलियामा नेपाली समुदायका फेसबुक ग्रुपमा दैनिक अनि घण्टा घण्टामा पोस्ट हुने ‘रेट अपडेट’ले देखाउँछ अष्ट्रेलियाबाट नेपाल पैसा पठाउनेको संख्या र चासो। यो सँगै सचेतताका साथ हेर्नुपर्ने कुरा हो, धेरै नेपाली विद्यार्थीहरूले नेपाल पैसा पठाउन अनौपचारिक माध्यम रोज्ने गरेका छन् जुन आर्थिक साथै कानुनी हिसाबले समेत जोखिमपूर्ण छ। विश्वभर गम्भिर वित्तिय अपराधका रुपमा हेरिने ‘मनिलण्डरिङ’ सँग यसरी पैसा पठाउन प्रयोग हुने अनौपचारिक माध्यहरुको सँलग्नता हुन सक्ने संभावनाले उनीहरूलाई ठूलो समस्यामा पार्ने तर्फ भने कमै मात्र सचेत देखिन्छन्। नेपालमा सम्पत्ति शुद्धीकरण अर्थात् भ्रष्टाचार तथा अन्य गैरकानूनी कार्य गरी आर्जन गरेको सम्पत्तिलाई कानूनी स्रोतबाट प्राप्त भएको देखाउन त्यस्तो सम्पत्तिको वास्तविक स्रोत लुकाउने, प्रकृति बदल्ने वा कारोबार छल्ने नियतले यस्ता अनौपचारिक ‘मनि ट्रान्सफर’को प्रयोग गर्ने संभावना छ। नेपाल राष्ट्र बैंकले यसरी पैसा पठाउने तथा पाउने कामलाई अवैध भनेको छ, जसको मतलब हुन्छ नेपालमा विदेशबाट अनौपचारिक माध्यमबाट पठाइएको पैसा अवैध हुन्छ र अन्य कानुनी कारबाहीको भागी हुनुपर्छ।

यी कुरामा ध्यान दिऔं नेपाल पैसा पठाउँदा

विदेशमा आर्जन गरेको रकम औपचारिक माध्यमबाट नपठाई कुनै निजी व्यापारी, एजेन्ट, व्यक्ति वा दर्ता नभएका एजेन्सी मार्फत स्वदेशमा पठाउने वा स्वदेशबाट विदेशमा पठाउने कार्यलाई हुण्डी भनिन्छ । नेपालमा हुन्डी मार्फत् रकमान्तर गर्नु वा विप्रेषण गर्नु गैर–कानुनी कार्य हो । – नेपाल राष्ट्र बैंक 

नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएका मनिट्रान्सफरहरूको सूचि यता छ (यहाँ क्लिक गर्नुस्) यी कम्पनीबाट पैसा पाउने गरेर मात्र पठाउनुस् पैसा।

त्यसैले अष्ट्रेलियाबाट नेपाल पैसा पठाउँदा यस्ता कुरामा ध्यान दिन नेपाल राष्ट्र बैंकले नेपाली विद्यार्थीहरूलाई अनुरोध गरेको छ:

 

  • अष्ट्रेलियामा कमाएको र जोगाएको पैसा नेपालमा अभिभावकलाई रेमिट्यान्सको रूपमा पठाउँदा केही सेवा शुल्क तिर्नु पर्ने र सटही दर केही कम भए पनि बैंक, वित्तीय संस्था वा अनुमति प्राप्त मनी ट्रान्सफर एजेन्सीहरू (रेमिट्यान्स कम्पनी) बाट रकमान्तर गर्ने तरिका नै सबैभन्दा बढी सुरक्षित, भरपर्दो र औपचारिक तरिका हो ।
  • औपचारिक माध्यमहरूभन्दा कम सेवा शुल्क र बढी सटही दर प्राप्त हुने गरे पनि हुण्डी कारोवार कतै पनि दर्ता भएको नहुने हुँदा यस माध्यमबाट पैसा पठाउँदा पठाएको पैसा डुब्न सक्ने, सम्पत्तिको स्रोत नखुल्ने, दावी गर्नको लागि कुनै लिखित प्रमाण नरहने र गैर–कानूनी कारोवार भएकोले हुण्डीको कारोवारमा संलग्न दुबै पक्ष सम्पत्ति शुद्धीकरण सम्बन्धी कारवाहीको भागिदार हुन सक्दछन् ।
  • बैंक, वित्तीय संस्था वा अनुमति प्राप्त मनी ट्रान्सफर एजेन्सीहरू मार्फत एक स्थानबाट अर्को स्थानमा रकम ट्रान्सफर गरेर पठाउने कार्य रकमान्तर हो । यो स्वदेश र विदेश दुवैतर्फ गर्न सकिन्छ। यस्तो रकम औपचारिक बैंक वित्तीय संस्था मार्फत पठाएमा त्यसलाई बैंक ट्रान्सफर भनिन्छ ।

 

  • मुलुकको अर्थतन्त्रलाई टेवा दिई देश विकासमा मद्दत पुग्न जान्छ भने हुण्डी मार्फत् गरिने कारोवारको कतै औपचारिक रेकर्ड नरहने र अधिकांश रकम विदेशमै विभिन्न अनौपचारिक वा गैरकानुनी प्रयोजनमा प्रयोग हुन सक्ने हुँदा मुलुकको अर्थतन्त्रमा नकारात्मकप्रभाव पर्न सक्दछ । यसले नेपालको कमाइ विदेशतिर पलायन हुन सक्दछ । गैरकानुनी क्रियाकलापले प्रोत्साहन पाउन सक्दछ । तसर्थ हुण्डीबाट पैसा पठाउनेकार्यलाई दुरुत्साहित गर्नु हरेक नागरिकको कर्तव्य हो।

 

पैसै खाइदिने डर

हुण्डी मार्फत पैसा पठाउँदा यता अष्ट्रेलियामा र नेपालमा पनि त्यसको कुनै रेकर्ड नहुने र हुण्डीवालाले बिल (रिसिट) नदिने भएकाले यसरी पैसा पठाउँदा यता अष्ट्रेलियामा नेपाल पठाउन भनेर तिरेको पैसा नदिने (खाइदिने) सम्भावना पनि धेरै हुन्छ। विद्यार्थीहरूले २००-३०० डलर पठाउँदा सो बराबरको रकम नेपालमा आफन्तले नपाएको खण्डमा विद्यार्थीले यहाँ अष्ट्रेलियामा त्यस बारे प्रहरीमा रिपोर्ट गर्ने र कानुनी उपचार खोज्ने सम्भावना नै छैन। किनभने त्यो पैसाको माया मार्नु नै सस्तो पर्छ त्यसरी पैसा खाइदिनेलाई उजुरी गरेर कानुनी कारवाही गर्नुभन्दा। सिड्नीका नाम चलेका नेपाली कानुन ब्यवसायी खिलेन्द्र तिम्सिनाले केही समय अघि यसबारेमा सार्वजनिक रूपमा नै फेसबुक मार्फत विद्यार्थीहरु काम र कोठाको नाममा खोलिएका फेसबुक पेज मार्फत विद्यार्थीलाई ठग्नेहरू सक्रिय रहेको बताएका थिए। तिम्सिनाको फेसबुकमा यहाँबाट जोडिएर सो विषयमा थप जान्न सकिन्छ:

अष्ट्रेलियाले समेत यसरी अनौपचारिक माध्यम (हुण्डी)बाट अष्ट्रेलिया आएका पैसा र त्यस्तो पैसाबाट घर तथा सम्पत्ती खरिद गरेकाहरूलाई निगरानीमा राख्ने, छानबिन गर्ने काम सुरु गरिरहेको छ। अष्ट्रेलियामा भईरहेको सम्पत्ति शुद्धीकरणबारेको छानबिनका बारेको रिपोर्ट अंग्रेजीमा यताबाट सुन्नुहोस् (यहाँ क्लिक गर्नुस्)

सम्पत्ति शुद्धीकरण र गैरकानुनी पैसाका बारेमा थप जानकारी नेपालीमा यहाँबाट पढ्नुहोस्

सम्पत्ति शुद्धीकरणबारे बारम्बार सोधिने प्रश्नहरू

 सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणको नीति तथा समन्वय

नेपाल राष्ट्रबैंकले युवा तथा विद्यार्थीहरूलाई वित्तिय जानकारी दिने हिसाबले प्रकाशन गरेको पुस्तक यहाँ पढ्नुहोस्

 

NAATI CCL Nepali

Check Also

अष्ट्रेलिया पढ्न एजुकेशन कन्सल्टेन्सी छान्दा ध्यान दिनुपर्ने कुराहरू - NepaliPage

यसो गर्छन् एजुकेशन कन्सल्टेन्सी

एजुकेशन एजेन्ट, जसलाई हामी एजुकेशन कन्सल्टेन्सी भनेर बुझ्छौं, प्रत्यक्ष नियमनमा नरहेको व्यवसाय हो। तर पनि कानुनी र नैतिक हिसाब एजुकेशन कन्सल्टेन्सीहरू अभ्यास र गतिबिधीमा शिक्षा प्रदायक (कलेज तथा यूनिभर्सिटी) जिम्मेबार हुने प्रावधान छ। प्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!