‘पलायणवादी’ नेपालमा विदेश हुईंकिने मानिसलाई साथीभाई, आफन्तले दिने उपनाम हो यो। विशेष गरेर लामो समय बस्ने वा जिवनकालमा नेपाल नै स्थायी रूपमा फर्कने संभावना कम भएका मुलुकमा जानेहरुलाई ‘फिट’ हुने उपनामको रूपमा यो शब्द लोकप्रिय छ नेपालमा। विशेष गरेर यूरोप, अमेरिका र अष्ट्रेलिया जानेहरू यो उपनामको ‘राडार’मा पर्दछन्। यी मुलुकमा विद्यार्थी तथा ‘स्किल्ड माईग्रेन्ट’ बनेर जानेहरूको सोच र योजना ‘सेटल’ भएर बस्ने हुने भएकाले नि त्यसो भनिएको हुन सक्छ। हुन त मान्छे एउटा फिरन्ते प्राणी है हो कृषि युग सुरू हुनु अघि। जसले गर्दा बसाईं सराईं हाम्रा लागी नयाँ खास कुरा होईन, अवसर र संभावना खोज्दै मानिसहरूले नयाँ देश, नयाँ भेष र रहसहनलाई आफ्नो बनाएका छन्। यो क्रम धेरै अगाडी देखी चल्दै आएको हो र धेरै पछाडी सम्म पनि चल्ने नै छ।
संसारको यही रीतको निरन्तरतामा नेपालीहरूका लागी यतिखेर अष्ट्रेलिया गन्तव्यको केन्द्र बनेको छ। अष्ट्रेलियाको सजिलो विद्यार्थी भिजा प्रणाली र अष्ट्रेलियामा सेटल भएका नेपालीहरूको व्यवसाय नीजि कलेज अनि ‘एजुकेशन कन्सल्टेन्सी’ भएकाले नेपालमा अष्ट्रेलियाको चर्चा र चाहना बढी भएको हो। अष्ट्रेलियामा यतिखेर कलेज अनि ‘एजुकेशन कन्सल्टेन्सी’ नखोलेकाको संख्या गन्नुपर्ने भईसकेको छ भन्दा फरक नपर्ला। अष्ट्रेलियामा ‘सेटल’ भएका त भए नै आफ्नै पीआरको टुंगो नभएकाले समेत नेपाली विद्यार्थीलाई पीआर र अष्ट्रेलियाको अवसरको ’boutमा ‘मार्केटिंग’वाला गफ दिएर भुट्न भ्याईसकेका हुन्छन्। कम लगानी, फेसबुक चहल पहल र नेपालीहरूका रात्रीभोजवाला समाजसेवाका कारण ‘एजुकेशन कन्सल्टेन्सी’ च्याउवाला व्यवसाय बनेको छ अष्ट्रेलियामा। अनि तिनैको शाखाका रूपमा नेपालमा काम गर्नेहरूले अष्ट्रेलियामा वर्षमै करोड कमाउने सकिने भनेर अष्ट्रेलियाको विभिन्न पेशामा आवद्धहरूको वार्षिक आयको विवरण ‘ललिपप’ बनाएर देखाएपछी अष्ट्रेलियाको जस्तो सुकै कलेजमा भएपनि भर्ना भईछाड्ने जिद्दी पलाउनु ठूलो कुरा भएन प्लस टु सकेका युवामा।
पढ्नुस्: अष्ट्रेलिया पढ्न एजुकेशन कन्सल्टेन्सी छान्दा ध्यान दिनुपर्ने कुराहरू
तर, राम्रो मेन्टरसिप, योजना, मेहनत र मौका मिल्ने हो भने नेपाली विद्यार्थीहरूलाई अष्ट्रेलियामा करिअर र जीवन राम्रो बनाउन कुनै मुस्किल भने छैन। राम्रो ‘एजुकेशन कन्सल्टेन्सी’बाट सेवा लिएको र अष्ट्रलियामा आएर पढेर यतै काम गरिरहेको साथीभाई वा व्यवसायिक परामर्श दिनेहरूबाट आफ्नो अवस्था, सिप र योजनामा आधारित भएर सल्लाह गर्ने र त्यसै अनुसारको योजनाका साथ हिँड्ने हो भने अष्ट्रेलिया सपनाको हैन समुन्नतीको गन्तव्य हुनेछ। त्यसका लागी आफुले कस्तो कदम चालिरहेको छु भन्नेमा हेक्का चाहिँ राखि रहन पर्छ। नयाँ देश, नयाँ परिवेश अनि चालचलन त्यसलाई आत्मसाथ गर्न सकिएन भने त दुख पाईन्छ नै त्यसैको रंगमा हिँडेर गन्तव्य भुलियो भने चाहिँ बरबाद नै हुन्छ। तर पनि अष्ट्रेलियाले यस्ता अवसरहरू दिन्छ जुन नेपालमा पाउन असम्भव छ। त्यसैले अष्ट्रेलियालाई गन्तव्य बनाउनेहरूले अष्ट्रेलियाका अवसर र चुनौतीहरूलाई मनन गरेर कदम अगाडी बढाउनु बुद्दिमानी ठहरिन्छ।
करिअर निर्माण
आरामको र सुखी जीवनको पहिलो शर्त हो राम्रो कमाई र राम्रो कमाईको पनि पहिलो शर्त नै हो राम्रो करिअर। आफ्नो दक्षता र क्षमता अनुसारको काम र कमाईको अवसर चाहनेका लागी अष्ट्रेलिया राम्रोहरु मध्येको राम्रो स्थल हो। यहाँको कमाई र खर्चको सन्तुलन मिलाउन त्यति धेरै गाह्रो पर्दैन र करिअर विकासका लागी अनेकन अवसरहरूले गर्दा कमाईको स्रोत बढाउन साथै एउटै विशेषज्ञताबाट नै आफ्ना सबै आवश्यकता पुरा गर्न सकिन्छ। यहाँको उपभोक्तावादी बजार व्यवस्था यस्तो छ कि तपाईकोलागी अवसर जति पनि छ।
Read More: Top Reasons to Migrate to Australia
गुणस्तरिय शिक्षा
नेपालबाट विदेश जानेको पहिलो प्राथमिकता तथा कुरा नै के हुन्छ भने छोराछोरीको भविष्य र शिक्षाका लागी आफूले यस्तो कदम उठाएको। यदी तपाईं आफ्नो वा सन्तानको शिक्षादिक्षाको ’boutमा चिन्तित हुनुहुन्छ भने पनि अष्ट्रेलिया तपाईंको गन्तव्यको देश हो। यहाँको विद्यालय देखि विश्वविद्यालय तह सम्मको शिक्षा ‘विश्वस्तर’को छ र जसको आधारमा तपाईं वा तपाईंको सन्तानले ‘ग्लोबल’ करिअर निर्माण गर्न सक्छन्। यहाँका विश्वविद्यालयहरू विश्वका राम्राहरू मध्ये गनिन्छन्।
सांस्कृतिक विविधता
हुन त हामी नेपाली पनि सांस्कृतिक विविधताले निक्कै धनी छौं। तर, विविधतालाई नै राजनीतिक अभिष्टको माध्यम बनाएकाले नेपालमा अनेकतामा एकता अवसर र सम्वृद्धीको कोणबाट हासिल हुन सकेको छैन। तर अष्ट्रलियमा यसखालको विविधतालाई अवसर र सम्वृद्धिको माध्यमका रूपमा समाजमा स्थापित गरिएकाले तपाईं अष्ट्रेलियामा बस्दा पनि नेपालमा केही छुटेको जस्तो महसुश गर्नुहुन्न। नेपालीहरूको मात्र कुरा गर्ने हो भने त नेपालका राम्रा त भईगए नराम्रा कुराहरू पनि अष्ट्रेलियामा उस्तरी नै पाउन सक्नुहुन्छ। काँग्रेस, कम्युनिष्टको राजनीति देखी जाँड रक्सी र जुवाले बिग्रेको परिवारको उदाहरण ठ्याक्कै देखिन्छ। सांस्कृतिक विविधताको राम्रो पक्ष भनेको तपाई विश्वका फरक फरक कुनाका संस्कार, संस्कृतीहरू अनुभव गर्न पाउनुहुन्छ जसले तपाईंलाई एउटा ‘ग्लोबल’ मानिस बन्न सहयोग गर्छ। अष्ट्रेलिया आएर पनि नेपालको जस्तै खाना, शैली र संगत बनाउनु भयो भने चाहिँ त्यसले तपाईंको प्रगतीमा बाधा समेत पुरयाउन सक्छ।
सहज जिवन शैली
अष्ट्रेलियाको सबैभन्दा राम्रो भनेको यहाँको सहज जीवन शैली नै हो। अरुलाई आफ्नो कारण बाधा र समस्या नपरोस् भन्ने सोचका साथ मानिसहरू सजग व्यवहार गर्ने र कुराहरू खुला रूपमा व्यक्त गर्ने भएकाले जीवन सरल छ। जबसम्म तपाईंले गल्ति र अपराध गर्नुहुन्न तपाईंलाई कसैले केही गर्दैन। सुरक्षा र अमनचैन यस्तो छ कि दंगा, भिडभाड, प्रदर्शन देख्न फर्केर नेपाल नै जानुपर्छ। सप्ताहन्तका लागी बिदा मनाउन सबैजसो पार्कहरू सित्तैमा प्रवेशका लागी उपलब्ध हुन्छन्। लामो यात्रामा निस्कनु र बिदा मनाएर सुरक्षित रुपमा घर फर्कने अवस्था रहनुको निश्चिन्तता छ यहाँ।
Read More: Tactics to get job in Australia
सजिलो अध्यामन व्यवस्था
अष्ट्रेलियाको अध्यागमन सजिलो र सरल छ। तपाईंले आवश्यक कागजात र प्रक्रिया पुरयाएपछी सजिलै भिजा पाउन सक्नुहुन्छ। यहाँको भिजा विद्युतिय हो र ईमेलमा प्राप्त हुन्छ। तपाईंको पासपोर्टमा टाँसिने वा छाप लगाईने होईन। विद्यार्थी र भिजिट बाहेक अरू धेरै खालका भिजाहरू छन् अष्ट्रेलिया आउनको लागी जसले तपाईंलाई अष्ट्रेलियामा रहन बस्न साथै काम गर्न र घर जग्गा जोड्न समेत अधिकार दिन्छ। यहाँको स्थायी आवासिय भिजा ‘पीआर’ लिन निक्कै सजिलो छ अरू विकसित देशमा भन्दा। अष्ट्रेलिया ठूलो देश भएका कारण यहाँ कामदारको माग सँधै नै उच्च नै रहिरहेको हुन्छ। यदी हामीले यहाँको बजारको माग अनुसारको सीप विकास गर्न सक्यौं भने यहाँको ‘पीआर’ र ‘सिटीजनसिप’ लिन खास धेरै गाह्रो पर्दैन।