‘आईसोलेसन’लाई अनिवार्य मानौं, हुनसक्छ सजायँ

कोरोना भाईरस (कोभिड-१९)को कहरबाट विश्व नै आक्रान्त भईरहेको समाचार त दिनदिनै सुनिरहनु भएको छ। अष्ट्रेलियामा नै अहिलेसम्म कोरोना भाईरस संक्रमितको संख्या ११२ पुगिसकेको छ। तीन जनाको त मृत्यु नै भईसकेको अवस्था छ। ३९ वटा संक्रमणको कारण विभिन्न मुलुकहरूसँग जोडिएर आएको छ जसमा नेपाल पनि पर्दछ। संक्रमितहरूमा नेपाली पनि रहेका छन्। संक्रमणको शंका लाग्ने बित्तिकै अरूबाट अलग (आईसोलेसन)मा बस्न अष्ट्रेलियाका राज्य तथा संघिय स्वास्थ्य निकायहरूले अनुरोध गरेको गरेईछन्। त्यसो त चिनमा यसको संक्रमण देखिनासाथ अष्ट्रेलिया सरकारले चिन भ्रमण गरेर फर्केकाहरूलाई दुईसाताको ‘आईसोलेसन’मा बस्न भनेको थियो। धेरै जसो रोजगारदाताहरूले पनि यस्तो ‘आईसोलेसन’मा बस्नुपर्नेहरूलाई बिदाको व्यवस्था पनि मिलाएका थिए र अझै पनि मिलाईरहेका छन्।

‘आईसोलेसन’लाई अनिवार्य मानौं, हुनसक्छ सजायँ - NepaliPage

केहीले मुर्खतावश बाहेक अधिकांशले ‘आईसोलेसन’मा बस्नका लागी गरिएको सुझावलाई मानेका कारण साथै सरकारको सावधानीले अष्ट्रेलियामा कोरोना भाईसरको प्रकोप कडा रूपमा देखा परेको छैन। ११२ संक्रमित भनेको मध्य २४ जना संक्रमण मुक्त भन्ने कुरा आईसकेको छ। यद्यपी हल्लाहरूका कारण लामो समय सम्म राख्न सकिने खानेकुराहरू र ‘ट्वाईलेट पेपर’ धेरै किन्ने र घरमा भण्डारण गर्नेहरू बढेकाले बजारमा केही तनाब देखिएको छ। जुन विस्तारै कम पनि हुँदै गईरहेको छ। यस्तो अवस्थामा नेपाली समुदाय ‘आईसोलेसन’मा बस्ने सुझाव नमानेको कारण चर्चामा छ। संक्रमित एक नेपाली युवाले तासमानिया राज्यको होबार्टमा कलेज र काम दुवैमा हाजिरी जनाएर अरूलाई समेत संक्रमणको खतरामा पारेको भनेर समाचार आएपछी संक्रमणसँगै गम्भिर ‘हेलचेक्रयाँई’का कारण समुदायका अरू सदस्यले समेत समस्या भोग्नुपरेको छ। तासमानियामा नै एकजनालाई यसै प्रकरणका कारण कामबाट संक्रमण नरहेको प्रमाणपत्र नलिँदा सम्मका लागी कामबाट निकालिएकोछ।

यो पनि पढ्नुस्: अत्यावश्यक नभई राजदूतावास नआउन अनुरोध

एक संक्रमित नेपालीका कारण नजिकका साथीहरू समेत ‘आईसोलेसन’मा बस्नुपर्ने भएको छ भने कलेज तथा काममा उसँग सम्पर्कमा आएकाहरूलाई समेत तनाब छ। अहिलेसम्म औपचारिक रूपमा तासमानिया बाहेक अन्य ठाउँमा नेपाली संक्रमित भएको सुनिएको छैन तर अनौपचारिक हल्लाहरू भने झसंग पार्ने नै छन्। यद्यपी यी सरकार र आधिकारिक स्वास्थ्य निकायबाट प्रमाणित नहुँदासम्म फगत हल्ला मात्र हुन्। अनौपचारिक नै भएपनि यसको प्रभाव निक्कै कडा हुने भएकाले गैरआवासिय नेपाली संघ, अष्ट्रेलियाले अष्ट्रेलियामा बसोबास गर्ने सबै नेपालीलाई सतर्कता अपनाउन सार्वजनिक अनुरोध नै गरेको छ। ‘आईसोलेसनमा बस्न भनिएकाहरू पनि आइसोलेसनमा नबसी धेरै जमघटमा जाने गरेको पाइएकोले हामी निकै चिन्तित भएका छौं र यस्तो अनुरोध गरिएको हो’, गैरआवासिय नेपाली संघ, अष्ट्रेलियाका अध्यक्ष केशब कँडेलले भने। नेपालीहरूको यस्तो संक्रमणलाई ‘भईहाल्छ’, ‘के भाको छ र?’, ‘नाथे रुघाखोकी, ज्वरो,’ भनेर सामान्यरूपमा लिने बानीले ठूलो हानी गर्न सक्ने भएकाले अहिले कोरोना भाईरसको संक्रमणलाई गम्भिर रूपमा लिनुपर्छ भनेर सचेत गराउनु पर्ने अवस्था रहेको कँडेलले बताए। संक्रमणको गम्भिरता र खतरालाई महशुस गरेर गैरआवासिय नेपाली संघ, अष्ट्रेलियाले सबैखालका जमघटका कार्यक्रमहरू स्थगित गर्न पनि अनुरोध गरेको छ।

 

कार्यक्रमहरू स्थगित

कोरोना भाईरसको संक्रमणमा अष्ट्रेलिया निवासीहरूको बढ्दै गरेको संख्या र नेपाली समुदायका सदस्यहरूको समेत ‘केश’हरू सतहमा आउन थालेपछी नेपाली कार्यक्रम आयोजकहरूले आफ्ना कार्यक्रमहरू स्थगित गरेका छन्। मम: फेस्टिबल, चिल्ड्रेन्स फेस्टिबल, ओसिनिया नेपाली स्पोर्टस् मिट लगायतका कार्यक्रमहरू स्थगित तथा नयाँ तालिकामा हुने भएका छन्। यसबाहेक व्यक्तिगत रूपमा आयोजना हुन लागेका पास्नी, जन्मदिन लगायतका ‘पार्टी’हरू समेत कोरोना भाईरसको संक्रमणको संभावनालाई लिएर रोकिएका छन्। केही सांगीतिक कार्यक्रमका आयोजकहरू पनि कार्यक्रमलाई स्थगित गर्ने योजनामा छन्, यद्यपी घोषणा भने भईहालेको छैन।

 

सजायँ समेत हुनसक्ने

कोरोना भाईरसको संक्रमणको शंका र आईसोलेसनमा बस्नुपर्ने निर्देशनको अवहेलनाको घटनाहरू बढ्दैजाँदा अष्ट्रेलियाका मुलधारका मिडियाले यस्ता अवहेलनाका घटना कम गराउन सचेतना जगाउन थालेका छन्। यस्ता अवहेलानाले सार्वजनिक रूपमा स्वास्थ्य खतरा मात्र होईन आईसोलेसनको अवहेलना गर्नेलाई हुनसक्ने सजायँको व्यवस्थाका बारेमा समेत मिडियामा खबर आउन थालेका छन्। जसका कारण संक्रमणको शंका लागेका कारण आईसोलेसनमा बस्न भनिएकाले आफू र अरूलाई समेत खतरामा नपारून। अष्ट्रेलिया सरकारले ‘ह्युम्यान बायोसेक्युरिटी कन्ट्रोल अर्डर’ जारी गरेर यस्ता आईसोलेसनको अवहेलना गर्नेहरूलाई ६३ हजार डलर सम्मको जरिवाना तथा पाँच वर्षको जेल वा दुवै हुने व्यवस्था रहेको सार्वजनिक प्रशारण संस्था एबीसीले उल्लेख गरेको छ। यस्तो आईसोलेसनको अवज्ञा गर्नेलाई क्वीन्सल्याण्डमा १३ हजार तीनसय ४५ डलर जरिवानाको व्यवस्था छ भने वेस्टर्न अष्ट्रेलियामा यस्तो खालको सार्वजनिक स्वास्थ्य सम्बन्धी आदेश पालना नगर्नेलाई एक वर्षको जेल वा ५० हजार डलर जरिवानाको व्यवस्था छ। यसखालको जरिवाना र सजायँको व्यवस्था साउथ अष्ट्रेलियामा २५ हजार छ भने तासमानियामा आठहजार चारसय डलर र न्यू साउथवेल्समा ११ हजार डलर रहेको छ। यी सबै सजायँका अधिकतम सिमा हुन्।

यसखालको अवज्ञाले अष्ट्रेलिया सरकारले यहाँको भिजा तथा नागरिकता लिनका लागी आवश्यक पर्ने ‘क्यारेक्टर रिक्वायरमेन्ट’मा समेत प्रत्यक्ष प्रभाव पार्छ। जसका कारण यस्तो आईसोलेसन अवज्ञा गर्नेले अष्ट्रेलियाको भिजा तथा नागरिकता पाउन गाह्रो हुनसक्छ।

 

सजायँ र भिजाको कुरा मात्र नभएर कोरोना संक्रमणको विषय आफू र आफ्नाहरूको स्वास्थ्य र जिवनसँग जोडिएको विषय हो। त्यसैले यसमा हेलचेक्र्याईं गर्दा व्यक्ति तथा समाजले ठूलो मूल्य चुकाउनुपर्छ। त्यसैले संक्रमणको शंका भएका सबैले आईसोलेसनलाई अनिवार्य कर्तव्य मानेर पालना गर्नु अति नै आवश्यक छ। त्यसमा पनि हामी नेपाली ‘बाँच र बाँच्न देउ…’ भन्ने आदर्श बोकेका परयौं। जो जति संक्रमणको शंकामा हुनुहुन्छ समाज र दैनिकीबाट अलग हुनुस र स्वास्थ्यलाभ गर्नुस्। जसलाई संक्रमण भएको पुष्टी भईसकेको छ उहाँहरू मनोबल उच्च राखेर एकान्तमा भविष्यको लागी योजना बनाउनुस्, ईन्टरनेट, सामाजिक संजाल र फोनको माध्यमबाट आफन्तहरूसँग झन बढी सम्पर्कमा रहनुस् र सम्बन्ध अझ दरिलो बनाउनुस्। त्यसो त टिकटोकमा भिडियो बनाएर आईसोलेसनका १४ दिनमा लोकप्रिय भई नयाँ अवसर पनि खोल्नसक्नुहुन्छ।

 

कोरोना भाईरसको संक्रमणबारे अष्ट्रेलिया सरकारको ‘हेल्थ अलर्ट’मा जोडिनका लागी यहाँ क्लिक गर्नुस्
 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

सेन्ट्रलकोस्टमा भण्डारीको भद्रगोल अष्ट्रेलियन मिडियामा - NepaliPage

सेन्ट्रलकोस्टमा भण्डारीको भद्रगोल अष्ट्रेलियन मिडियामा

अष्ट्रेलियामा घर, यहाँ आउने सबैको सपना हो। अष्ट्रेलियामा घर सबैको सपना भएपनि केहीको मात्र सजिलैसँग …