नेपाली वर्ण व्यवस्थामा आधारित समाज हो। सांस्कृतिक विविधता र जातिगत विशेषता नेपालीहरूको पहिचान। यही विविधताले नै नेपाललाई बाँकी विश्व भन्दा फरक बनाएको छ। नेपालको गाउँ र टोलको विशेषता नै यही हो यहाँका सय घरधुरीमा करिबन नेपालमा रहेका सबै जातजाति तथा समुदायको बसोबास् हुन्छ। जसले हाम्रो सामुदायिक तथा जातिय अन्तरघुलनलाई नै प्रश्रय दिएको छ। जसले गर्दा मगर, गुरुङ, राई, लिम्बु, कामी, दमाई, बाहुन, क्षेत्री, चौधरी देखी थारू सबै एउटै धाराको पानी खान्छन् अनि एउटै मेलापातमा सहभागी हुन्छन्। सबैका चाडवाड, मेलापर्वमा पनि यस्तै सामुहिकता देखिन्छ। आधुनिक नेपालको इतिहासको सुरूवाती खण्डमा जातकै आधारमा विभेद भएको खासै देखिँदैन किनकी नेपालको वर्ण व्यवस्था पेशागत हिसाबले विभाजन भएको पाइन्छ। आधुनिक नेपालका प्रणेता बडामहाराज पृथ्वीनारायण शाहले नै नेपाललाई ‘चार जात छत्तीस वर्णको फूलबारी’ भनेर सबैलाई समानकोटीमा राखेका छन्। त्यसो त उनको नेपाल एकीकरणको अभियानमा ‘बिसेनगर्ची’को ठूलो योगदान छ। नगर्चीको आर्थिक सल्लाहले नै पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका लागी सामत तुमल जुराउने व्यवस्था मिलायो। त्यसो त विशाल नेपालको एकीकरण अभियानमा सबै नेपालीले अदम्य शाहस देखाए, पृथ्वीनारायण शाहकै सेना र दरबार र उनको ‘फिलोसोफी’ मा समेत सबै जातजातिको लागी एकै खालको भावना देखिन्छ विभेदरहित, जुन ‘दिव्योपदेश’मा झल्किएको छ।
नेपालको अनेक जातको यो विशेषतालाई विभेदको आधार बनाउने काम पछिल्लो कालखण्डमा भईरहेको छ। यद्यपी महाराजा श्री ५ महेन्द्रले ‘एक जाति नेपाली एक भाषा नेपाली, एक संस्कृती नेपाली’को पहिचान भित्र जात र भाषाको सुन्दर र विभेदरहित फूलबारी बनाउने प्रयास नगरेका हैनन्। तर पनि राजनीतिक तथा शक्तिको लागी हुने चलखेल र विदेशी, विधर्मीहरूको प्रभावले नेपालमा जातिय भावना र विभेद बढेर गएको छ। कथित ठूलो जात भनेर समाजको वर्ग विभाजन गर्ने अनि राजनीतिक, प्रशासनिक आडमा पछी पारिएकाहरूलाई अवसर, सहभागिता र राज्यको श्रोत सुविधाको प्रयोगमा विभेद गर्नेक्रम पछील्लो सय वर्षमा धेरै भएकोछ।
शैक्षिक एवं वैश्वीक चेतनाले नेपाली पछिल्लो पुस्ता यस्ता जात वा वर्गका आधारमा हुने वर्गीकरण र विभेदको विरूद्धमा छ। खासमा शैक्षिक अवसर र बाँकी विश्वसँगको साक्षात्कारका कारण नेपालमा जातकै आधारमा हुने भेदभाव हट्दै गईरहेको छ। हजुरबाको पाला सम्म छोइछिटो हाल्ने चलन नातीको पालामा सँगै खानेबस्नेबाट बिहेबारीमा समेत पुगिसकेको छ। नेपाली चलचित्रमा मात्र हैन घर घरमा आमा मगर, बाबु बाहुन, ज्वाईं क्षेत्री, बुहारी दमाई हुने अवस्था छ। सबै ठाउँमा यस्तो स्थिती छैन भन्ने पनि होला, तर अखवारमा आउने समाचारमा समेटिएका घटनाहरू मात्र समग्र नेपालको तस्वीर होईन। एउटै मेलापात, स्कुल र कलेज पढ्दा जात भन्दा पनि क्षमता र भावना (आजकल कम्प्याटिबिलिटी पनि भन्छन्, जसमा आर्थिक, सामाजिक, शैक्षिक तथा भविष्यको संभावना हेरेर) मिलेर बिहे गर्नेको संख्या धेरै छ। त्यसो त अन्तर्जातिय विवाहलाई सरकार र समाजले नै प्रोत्साहन गरिरहेको छ। कथित तल्लो जातले छोएको वा सँग बिहे गरेको भनेर हुने प्रताडना वा विभेदका विरूद्ध र सम्बन्धीतको सहयोगका लागि उभिनेहरू पनि बढिरहेका छन्।
नेपालमा यसखालको अवस्था देखिँदा नेपालका अलिक हुने खाने, पढेलेखेका भनेकाहरू जो विदेशमा बस्छन्, उतैको नागरिक र स्थायि बासिन्दा हुने तरखरमा छन् उनीहरूले चाहीँ जातिय विभेदलाई नेपालबाट नै आयात गरेर राखेको देखिन्छ। अमेरिका, यूरोप साथै अष्ट्रेलियाका नेपाली समुदायमा जातिय छुवाछुत र विभेद सार्वजनिक रूपमा नै स्पष्ट देखिन थालेको छ। अष्ट्रेलियामा अलिकता सेटल भएका राम्रो आमदानी भएकाहरू नेपालको राजनीतिक दल वा जात वा गाउँटोलको नाममा गोलबद्ध हुने क्रम बढ्दो छ। हुन त यो अष्ट्रेलियामा आएर पैसा कमाए पनि नाम कमाउन नसकेको ‘हिन’भावना बाट उब्जेको ‘बाइप्रडक्ट’ हुनसक्छ तर यसले विदेशमा नेपाली समाजमा भने बिग्रह र फुट ल्याइरहेको छ। अष्ट्रेलियामा नेपालीका संस्था बढ्नुको एउटा कारण यो पनि हो। जातियता र क्षेत्रियता नेपालमा भन्दा अष्ट्रेलियामा बढी देखिन्छ, जसले विदेशमा नेपालीपन घट्दो छ भने जातिय रंग बढ्दो छ। गत वर्षका दुई दुर्घटना र त्यसको लागी सहयोग जुटाउँदाका दुई सन्दर्भ यसलाई स्पष्ट पार्दछ, एकै घटनामा मृत्य भएका एक जोडीमा, केटाको जिल्लाको नामसँग जोडेर अष्ट्रेलियामा खुलेको संस्थाले केटाको शव नेपाल पुरयाउनका लागी मात्र सहयोग उठायो र गरयो, सोही घटनामा मृत्य भएकी युवतीलाई चैं उनका साथीभाई आफन्तले सहयोग जुटाए। गत वर्ष नै सिड्नीको कुनै ठाउँमा मृत भेटिएका एक नेपाली विद्यार्थीको शव भने जातको आधारमा खुलेको अर्को एउटा संस्थाले सहयोग गरेर नेपाल पठायो।
यसखालका जातवादी संस्थाहरू बढी सक्रिय हुने क्रमसँगै नेपालमा हट्दै गएको जातिय विभेद अष्ट्रेलियामा देखिन थालेको छ। एकै समुच्च जाति वा समुदाय नेपाली हुनुपर्नेमा यो जात र त्यो जात भन्नेहरू बढ्नु अष्ट्रेलियाको नेपाली समुदायका लागी गम्भिर संकेत हो। जसको नकारात्मक प्रभाव देखिन सुरू भईसकेको छ। ‘ईष्टर विकेण्ड’का रुपमा लामो सप्ताहन्तको बिदा परेको समयमा फेसबुकमा रहेका नेपालीहरूको समुहमा जातकै आधारमा नेपाली विद्यार्थीले ‘क्वीन्सल्याण्ड’मा सेयरिङमा कोठा नपाएको घटना बाहिर आएको छ। फेसबुकमा सेयर भएको स्क्रिनसटमा परियार थर भएकै कारण खड्का थर भएका एकजनाले पहिले सेयरिंङमा बस्न हुन्छ भनेर कोठा दिईसकोकोमा थर थाहा पाएपछी मिल्दैन, सेयरिङमा राख्दिन भनेको उल्लेख छ। त्यसो त अर्को एक जनाले ‘मेट्रेस नै लगिसकेपछी कोठामा सँगै बस्न नमिल्ने बनेर सेयरिङमा नराखेको कालु परियार नाम भएका नेपाली विद्यार्थीले दुखेसो ‘नेप्लिज कम्युनिटी इन क्वीन्सल्याण्ड’मा राखेका छन्।
नेपालमा रहेको कथित तल्लो र माथिल्लो जात भनेर गरिने विभेद जुन नेपालमा नै कम हुँदै गईरहेको छ त्यो अष्ट्रेलिया आईसकेपछी पनि जारी रहनु वा यहाँ अपनाउन खोज्नु नेपाली समुदायको लागी नै कलंक हो। यसखालको विभेद नेपाल र अष्ट्रेलिया दुवै देशमा गैरकानुनी हो त्यसमा पनि अष्ट्रेलियामा यसलाई निक्कै गम्भिर अपराध मानिन्छ। यो एउटा आपराधिक कुरा मात्र नभएर सभ्यता र सोचको विषय भएकाले यसलाई सुधार्न र जातिवादलाई हटाउन अष्ट्रेलियामा रहेका नेपाली र नेपालीका संस्था लाग्नुपर्ने देखिन्छ नत्र अष्ट्रेलियामा काँग्रेस एमाले अनि जनजातिवाला राजनीति जस्तै जातको आधारमा विभेद पनि नेपालीलाई फुटाउने र उन्नति गर्न रोक्ने कुसंस्कार बनेर रहिरहन्छ।
अष्ट्रेलियामा नेपालीहरू जात भन्दा पनि नेपालीको एक भावनाबाट एकत्र हुन जरूरी छ, पशुपति शर्माको यो गितमा जस्तै जात भन्दा माथि उठ्न ढिला गरिनु हुन्न :
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally
Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.
अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।